+
+
Shares

बन्द ह्यात होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ : व्यवस्थापन

२३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प सहित सञ्चालन हुने  विज्ञप्तिमा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ह्यात रिजेन्सी काठमाडौंले जेनजी आन्दोलनमा भएको ठूलो क्षति पछि पुनर्निर्माण गरी यथाशीघ्र सञ्चालनमा आउने जनाएको छ।
  • प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ–सहयोग दिने आश्वासन दिएका छन्।
  • होटलले कम्तीमा एक वर्षमा पुनर्निर्माण पूरा गरी नेपालको पर्यटन क्षेत्रमा मान–प्रतिष्ठा उच्च बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

९ कात्तिक, काठमाडौं । प्रमुख पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स (ह्यात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलन क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाएको छ ।

आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्ति अनुसार होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ–सहयोग प्रदान गरिने भनी दिइएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प सहित सञ्चालन हुने  विज्ञप्तिमा छ ।

‘आन्दोलन क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, ब्यांक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ, त्यसयता होटल पूर्णरूपमा बन्द छ,’ होटलले भनेको छ, ‘हाल क्षतिको पूर्ण मूल्यांकनपछि होटल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुन: सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटलको भनाइ छ ।

होटलले आगामी दिनमा सरकारको राजस्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पुर्‍याउने र नेपालको फ्ल्यागसिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प सहित सञ्चालन हुने प्रतिबद्धता समेत जनाएको छ ।

‘होटल पछिल्ला साढे दुई दशकमा  नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनको साक्षी रहँदै आएको छ, यस अवधिमा हामीले चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारी जस्ता चुनौतीपूर्ण अवस्थाहरूको सामना गर्दै वर्षौदेखि हजारौं व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छौं,’ होटलले भनेको छ ।

होटल पर्यटन मार्फत मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै पटक–पटक सरकारबाट सम्मानित भइसकेको छ । होटल हालसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा सात पटक र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गर्ने होटलका रूपमा दुई पटक सम्मानित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?