+

अफगानिस्तानका गुल्बादिन नाइबले लुम्बिनीबाट एनपीएल खेल्ने

२०८२ कात्तिक  २४ गते १७:५९ २०८२ कात्तिक २४ गते १७:५९
अफगानिस्तानका गुल्बादिन नाइबले लुम्बिनीबाट एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अफगानिस्तानका पूर्वकप्तान गुल्बादिन नाइब लुम्बिनी लायन्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन्।
  • नाइबले अफगानिस्तानका लागि १६७ अन्तर्राष्ट्रिय खेल खेल्दा २३०० भन्दा बढी रन बनाएका छन् र १०१ विकेट लिएका छन्।
  • लुम्बिनी लायन्सले मंसिर १ देखि सुरु हुने एनपीएल दोस्रो संस्करणका लागि विदेशी खेलाडी र प्रशिक्षकहरू अनुबन्ध गरेको छ।

२४ कात्तिक, काठमाडौं । अफगानिस्तानका पूर्वकप्तान गुल्बादिन नाइबले लुम्बिनी लायन्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

लुम्बिनी लायन्सले सोमबार नाइबलाई अनुबन्ध गरेको जानकारी गराएको हो । नाइब हालै सम्पन्न हङकङ सिक्सेस क्रिकेटमा पनि अफगानिस्तानको कप्तानी गर्दै खेलेका थिए ।

हाल पनि अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय रहेका ३४ वर्षीय नाइबले अफगानिस्तानका लागि १६७ अन्तर्राष्ट्रिय खेल खेल्दा २३०० भन्दा बढी रन बनाएका छन् ।

उनले समग्र टी-२० मा १७० खेल खेल्दा २५०० भन्दा धेरै रन बनाउँदा १०१ विकेट पनि लिएका छन् ।

उनले भारतको आईपीएलसँगै अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग र आईएलटी-२० जस्ता फ्रेन्चाइज प्रतियोगिताहरू खेलेका छन् ।

नाइबको अनुबन्धले टिमको मध्यक्रम सन्तुलित हुने लायन्सको विश्वास छ । लुम्बिनी लायन्सका मुख्य प्रशिक्ष टिन योहान्नान भन्छन्, ‘हामी लुम्बिनी लायन्समा गुल्बादीन नाइबलाई स्वागत गर्न पाउँदा अत्यन्त उत्साहित छौं । धेरै अनुभव र उर्जाका साथ उनले आफूलाई म्याच विनरको रुपमा प्रमाणित गरिसकेका छन् । उनको उपस्थितिले हाम्रो टोलीमा गहिराइ र शक्ति थप्नेछ । साथै उनले मैदानभित्र र बाहिर दुवै स्थानमा टोलीलाई प्रेरित गर्नेछन् भन्ने हामी विश्वस्त छौं । उनलाई लायन्सको जर्सीमा देख्न हामी उत्साहित छाैं।’

लुम्बिनीले यसअघि अस्ट्रेलियाका डार्शी शर्ट र इटालीका थोमस ड्राकालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । प्रशिक्षकमा भारतका टिनु योहान्नानलाई भित्र्याएको थियो भने मेन्टरमा आईपीएल विजेता प्रशिक्षक रोबिन सिंहलाई ल्याएको थियो ।

लुम्बिनी लायन्सले मार्की रोहित पौडेलसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारीलाई रिटेन गरेको थियो भने दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान र विशाल पटेललाई अक्सनबाट अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।

गुल्बादिन नाइब लुम्बिनी लायन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय