२४ कात्तिक, काठमाडौ । चार वर्षअघि पार्टी फुटाउन माधवकुमार नेपालको हात समातेकी नेतृ रामकुमारी झांक्री नेकपा एमालेमा फर्किएकी छन् ।
झांक्रीसहितका नेताहरूलाई स्वागत गर्न एमालेले राष्ट्रिय सभा गृहमा आज भव्य सभा नै गरेको थियो । अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहितका नेताहरू कार्यक्रममा सहभागी थिए ।
राष्ट्रिय युवा संघ र अनेरास्ववियुका कार्यकर्ताले नाराजुलुस सहित एमाले फर्कनेहरूलाई स्वागत गरेका थिए । यस्तो दृष्य देखेर आफूले ‘हेजिटेड’ अनुभूति गरेको झांक्रीले बताइन् ।
तर, सभाको मुख्य आकर्षण उनै झांक्री थिइन् । उनले मन्तव्य दिइरहँदा हलमा एकप्रकारको उत्साह देखिन्थ्यो, लगातारजसो ताली बजेको थियो । आफूसहितका नेताहरूलाई हलभित्र स्वागतमा जस्तो ताली बजिरहेको थियो, सामाजिक सञ्जालमा उस्तै ट्रोल बनिरहेको तथ्य स्वयं झांक्रीले लुकाएकी थिइनन् ।
‘तपाईं साथीहरूका सयौं क्यामेराहरू मतिर फर्किरहँदा मलाई थाहा छ, तपाईं विगत र आजलाई हेरेर ट्रोल गर्नु हुन्छ होला, तर मलाई स्वीकार्य छ,’ उनले भनिन्, ‘यो वास्तविकता हो, वास्तविकताबाट हामी टाढा भाग्न सक्दैनौ ।’
सम्भवत: आजको कार्यक्रममा तुलनात्मक रुपमा धेरै क्यामेरा देखेपछि झांक्रीले यस्तो अभिव्यक्ति दिएको पनि हुन सक्छ । तर सामाजिक सञ्जालमा देखिने प्रतिक्रिया, आमसाधरणको टिप्पणी र नेताहरूकै अभिव्यक्तिलाई आधार मान्दा पनि झाक्रीको निष्कर्ष सही नै देखिन्छ ।
एकातिर भव्य ताली र अर्कातिर उस्तै तहको गाली रामकुमारीको लगभग परिचय नै बनिसकेको छ । त्यसैले जो–कोही नागरिकले मन परेको राजनीतिक पार्टी छनोट गर्नसक्ने अधिकार प्रयोग गर्दा समेत झाक्री आफैले ट्रोल हुनुपर्छ भन्ने तथ्य स्वीकार्नु पर्यो ।

उनको निकट विगत नै त्यस्तो छ । तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुग्दा झाक्रीले तत्कालीन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओलीविरुद्ध चर्को अभिव्यक्ति दिएकी थिइन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबारे झांक्रीले दिएको अभिव्यक्तिका कारण उनलाई गिरफ्तार नै गरियो ।
हुन त नेकपाको त्यो मतभेदमा पार्टीका हरेक सदस्यले आफ्नो निर्णय लिनुपर्ने परिस्थिति थियो । तर अरु नेता र रामकुमारीको पृष्ठभूमि एउटै थिएन । राजतन्त्र अन्त्य गर्ने २०६२/०६३ सालको आन्दोलनमा ‘आइकन’ बनेका सीमित युवाहरूमा एक थिइन्, झाक्री ।
त्यसैले उनको अभिव्यक्तिलाई विशेष चासोका साथ हेरियो । अनेरास्ववियुको पूर्वअध्यक्ष भएकीले पनि उनको अभिव्यक्तिको तरंग बढी थियो । त्यसबेला ओली र एमाले कित्ता रोज्नेहरूले झाक्रीलाई लगभग घृणायुक्त आक्रोश पोख्थे ।
तर, प्रचण्ड र माधव नेपाल पक्ष रोज्नेहरूले झाक्रीलाई स–सम्मानको ताली बजाउँथे । एमाले छोडेर एकीकृत समाजवादी बनाउने सन्दर्भमा ताली बजाउनेहरूबाट अहिले झांक्रीमाथि गालीको वर्षा छ ।
झांक्रीले भने आफ्ना विगतका निर्णयहरूको समीक्षा गर्ने जिम्मा इतिहासलाई सुम्पिइन् । ‘विगतको समीक्षा इतिहासले गर्नेछ,’ उनले भनिन् ।
माधव नेपालप्रति सम्मान नै रहेकाले व्यक्तिगत टिप्पणी नगर्ने बताएकी झांक्रीले एमाले र ओलीको चाहिँ प्रशंसा गरिन् । सम्भवत: यही प्रशंसालाई हिजोको गालीसँग जोडेर ट्रोल हुनसक्ने उनलाई लागेको हुनुपर्छ ।
झांक्रीले अरु पार्टी काम नलाग्ने भएकाले एमालेमा फर्कने जेनजीसहित अरु पार्टीमा पुगेकाहरूलाई पनि आग्रह गरिन्, ‘गफ मिल्नेहरूसँगै हिडेको राम्रो, गति मिल्नेहरू सँगै हिडेको राम्रो ।’

२०७८ मा रामकुमारीसँगै एमाले छोडेका एक नेता भने रामकुमारीको बोली र निर्णयहरूको अस्थिरताले उनको व्यक्तित्व थप कमजोर बनाउँदै लगेको बताउँछन् ।
‘रामकुमारी झाक्रीको इतिहास गर्विलो छ, त्यसैले विशेष चासोका साथ समाजले कुरा सुन्ने हो,’ उनी भन्छन्, ‘तर हतारमा लिने निर्णयहरूले समाजमा विश्वास घटिरहेको छ ।’
हिजो ओलीमाथि जस्तो निष्कर्ष चर्को आवाजमा सुनाएकी थिइन्, आज ओलीमा कुनै परिवर्तन नहुँदै रामकुमारीले प्रशंसा गर्न थाल्नुले पनि उनको विश्वास घट्नु स्वभाविक हो । अझ छोटो समयमै एमालेमा गरेको ओहोर–दोहोरबाट उनको व्यक्तित्व कमजोर बनाउको छ ।
२०५४ सालमा वामदेव गौतमहरूको साथ लागेर झाक्रीले एमाले छोडेकी थिइन् । तर पछि गौतमहरूसँगै एमाले फर्किइन् । अर्थात् रामकुमारीको यो दोस्रो एमाले प्रवेश हो ।
यही अस्थिरताकै कारण उनले आफू ट्रोल बन्न सकिने बोध गरेको हुन सक्छ । अझ एमालेभित्र अहिले जस्तो अन्तरसंघर्ष चलिरहेको छ, त्यसआधारमा रामकुमारी अर्को समस्या पर्ने विश्लेषण एक नेता सुनाउँछन् । ‘अहिले केपी ओलीले नेतृत्व छोड्नुपर्छ भन्ने आवाज एमालेभित्र बढ्दो छ । यो संकटमा रामकुमारीलाई ओलीले प्रयोग गर्न सक्छन्,’ उनी भन्छन् ।
एमाले स्रोत भने रामकुमारी झाक्री सहितका नेताहरू एमाले फर्कनुमा तत्कालको प्रयत्नले मात्रै काम नगरेको बताउँछन् । रामुकमारी झांक्री, कृष्णकुमार श्रेष्ठ किसान, अर्जुन राई, गम्भीरलाल श्रेष्ठ, बबि चाम्लीङहरूलाई एमालेमै फर्काउन अनेक नेताहरूको लामो प्रयत्न छ ।
विशेषगरी कोशीका मुख्यमन्त्री हिक्मत कार्की, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य राजेन्द्र राई लगायतले भूमिका खेलेका थिए । ‘माधव नेपालले प्रचण्डहरूसँग एकता गर्ने निर्णय गर्दा एउटा अवसर मात्रै बनेको हो, कुराकानीको शृङ्खला लामै छ,’ उच्च स्रोत भन्छ ।
यद्यपि अहिलेको एमाले प्रवेश कार्यको संयोजन भने रामकुमारी झांक्रीले नै गरेकी थिइन् । ‘झलनाथ खनालले अन्तिम समयमा प्रचण्डसँगै जाने निर्णय लिनुभयो । अब हामीसँग समन्वय गर्ने उच्च तहको नेता रामकुमारी झाक्री नै हुनुभयो,’ पार्टी प्रवेश गरेका एक नेता भन्छन् ।
आजको प्रवेश कार्यक्रममा झांक्री नै प्रमुख आकर्षण बन्नुले पनि यो अभियानको नेतृ उनी नै रहेको बुझ्न सकिन्छ ।
प्रतिक्रिया 4