News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको पहिलो सिजनमा उपविजेता बनेको थियो र दोस्रो सिजनको उपाधि जित्ने लक्ष्य राखेको छ।
- सुदूरपश्चिमले दोस्रो सिजनका लागि चार विदेशी खेलाडी अनुबन्ध गरेको छ जसमा आईपीएल अनुभव भएका अस्ट्रेलियन ब्याटर क्रिस लिन पनि छन्।
- सुदूरपश्चिम रोयल्सको टिममा अधिकांश खेलाडी सुदूरपश्चिम प्रदेशका छन् र मुख्य प्रशिक्षक जगत टमाटाको नेतृत्वमा दोस्रो सिजन खेल्दैछ।
२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सिजनमा सुदूरपश्चिम पश्चिम रोएल्स कम्प्लिट टिमको रुपमा थियो ।
अलराउण्डर दीपेन्द्रसिंह ऐरी मार्की तथा कप्तान रहेको सुदूरपश्चिमले राष्ट्रिय टिमदेखि घरेलु क्रिकेटका अनुभवी खेलाडी र राम्रो विदेशी खेलाडीहरू अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको थियो र मैदानमा पनि उस्तै खालको प्रदर्शन गरेको थियो ।
तर लिग अवधिभर उत्कृष्ट प्रदर्शन गरेर पनि फाइनलमा अर्थात निर्णायक खेलमा अभागी बन्दा सुदूरपश्चिम उपविजेता बनेको थियो । पहिलो सिजनकै च्याम्पियन बन्ने लक्ष्य बनाएको सुदूरपश्चिम आफ्नो लक्ष्यबाट थोरैले चुक्यो ।
उपाधिको ‘फेभरेट’ भएपनि फाइनलमा जनकपुर बोल्ट्ससँग सुदूरपश्चिम पराजित भएको थियो । पहिलो सिजन उपाधि नजिक पुगेर पनि थोरैले टाढा बनेको सुदुरपश्चिम अब दोस्रो संस्करणको एनपीएलको उपाधि जित्ने लक्ष्यका साथ तयारीमा छ ।
सुदूरपश्चिम नेपाली घरेलु क्रिकेटका सफल प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा लगातार दोस्रो सिजन खेल्दैछ । राष्ट्रिय टिमका दीपेन्द्रसिंह ऐरी र आरिफ शेखसँगै राष्ट्रिय टिमका अनुभव लिइसकेका खेलाडीहरू विनोद भण्डारी, अविनाश बोहरा, इशान पाण्डे जस्ता खेलाडी यस टिममा छन् ।

यस्तै विदेशी खेलाडीमा स्कट कुगेलेइन र हर्मित सिंहलाई दोस्रो सिजन पनि निरन्तरता दिएको सुदूरपश्चिमले अस्ट्रेलियन ब्याटर क्रिस लिन र जोस ब्राउन जस्ता खेलाडी दोस्रो सिजनका लागि अनुबन्ध गरेको छ ।
सुदूरपश्चिमले अहिलेसम्म चार विदेशी खेलाडी मात्र अनुबन्ध गरेको छ । एनपीएलमा एक टिमले बढीमा ६ जनासम्म अनुबन्ध गर्न पाउनेछ । चार विदेशी खेलाडी अनुबन्ध गर्दै सुदूरपश्चिमले टिम सन्तुलित बनाएको छ ।
क्रिस लिनको आगमनपछि उनले ओपनिङ गर्नेछन् । उनलाई टप अर्डरमा विनोद भण्डारी, इशान पाण्डेले साथ दिन सक्छन् ।
यस्तै मिडल अर्डरमा कप्तान दीपेन्द्र सिंह ऐरीसँगै आरिफ शेख, जोस ब्राउन अनुभवी खेलाडी छन् । दीपक बोहरा, मिलन बोहराको मिडल अर्डरमा विकल्पको रुपमा छन् ।
त्यसपछि पेस बलिङमा पहिलो सिजनका सर्वाधिक विकेटकर्ता स्कट कुगेलेइनसँगै अबिनाह बोहरा र हेमन्त धामी छन् । ट्यालेन्ट हन्टबाट आएका हिक्मत महरा पनि विकल्पमा छन् ।
स्पीनमा पनि नेपाली र विदेशी खेलाडीको साथ छ । अमेरिकी खेलाडी हर्मित सिंह र नरेन साउद मुख्य स्पीनरको रुपमा छन् । उनीहरूलाई कप्तान दीपेन्द्रले साथ दिनेछन् ।
क्रिस लिनको ब्याटिङ हेर्न आतुर
पहिलो सिजन सुदूरपश्चिमका लागि सबै विदेशी खेलाडीले राम्रो प्रदर्शन गरे । अलराउण्डर सैफ अली जैब बेस्ट प्लेअर घोषित भए । बलर स्कट कुगेलेइनले सर्वाधिक विकेट लिए । स्पीन अलराउण्डर हर्मित सिंहले किफायती बलिङ गरे । ब्राण्डन म्याकमुलेनले पनि अलराउण्ड प्रदर्शन गरे ।
दोस्रो सिजनका लागि स्कट र हर्मतिलाई रिटेन गरेको सुदूरपश्चिमले दुई अस्ट्रेलियन खेलाडी थपेको छ । त्यसमा ब्याटर क्रिस लिन र जोस ब्राउन छन् ।

लिनले आईपीएलदेखि बिग बास लिगसम्मको अनुभव बटुलेका छन् । उनी विशेषगरी आक्रमक सुरुवात दिलाउने ब्याटरको रुपमा चिनिन्छन् । उनले आईपीएलमा धेरै समयमा कोलकता नाइट राइडर्सबाट खेलेका थिए । यस्तै बिग बास लिगमा ब्रिसबेन हिटको कप्तानी समेत गरिसकेका छन् ।
अब टीयू मैदानमा उनको ब्याटिङ हेर्न नेपाली समर्थक आतुर छन् । उनी जस्तै अर्का आक्रमक ब्याटर जोस ब्राउन पनि यस टिममा छन् । सुदूरपश्चिमको ब्याटिङमा अब अस्ट्रेलियन फ्लेभर देख्न पाइन्छ ।
यी दुई खेलाडीको ब्याटिङ अनि न्यजुलियाण्डका स्कट कुगेलेइनले पेस बलिङले सुदूरपश्चिमको प्रदर्शन कस्तो होला हेर्न बाँकी छ ।
घरेलु खेलाडीहरूको वर्चस्व
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली हो । यस टिममा पहिलो सिजन देखि नै त्यहाँका स्थानिय खेलाडीहरू धेरै थिए । कप्तान तथा मार्की दीपेन्द्र सिंह ऐरी नै त्यही प्रदेशका हुन् ।
दोस्रो सिजनमा झन् धेरै खेलाडी सुदूरपश्चिमले आफ्नै क्षेत्रबाट समेटेको थियो । रिटेन गरिएका दीपेन्द्रसँगै विनोद भण्डारी, नरेन साउद त्यही क्षेत्रका हुन् । अविनाश बोहरा पनि छिमेकी प्रदेश कर्णालीका हुन् ।

यस्तै दोस्रो सिजनका लागि सुदूरपश्चिमले अक्सनबाट आफ्नै क्षेत्रका खेलाडीहरू अनुबन्ध गर्यो । जसमा मिडियम पेसर हेमन्त धामी देखि दीपक बोहरा, मिलन बोहरा, टेक रावत र दीपेन्द्र थापा छन् ।
यी सबै खेलाडीले घरेलु क्रिकेटमा सुदूरपश्चिमको टिमबाट खेलिसकेका छन् । सुदूरपश्चिमको टिममा यस पटक विदेशी खेलाडीलाई छाड्ने हो लगभग सबै खेलाडी आफ्नै प्रदेशबाट छन् । आरिफ शेख (मधेश प्रदेश) र इशान पाण्डे (बागमती प्रदेश) दुई खेलाडी मात्र अन्य प्रदेशका हुन् ।
यस्तै अबिनाश बोहराको जिल्ला सल्यान कर्णाली प्रदेश भएपनि यो धनगढी जिल्लासँगै जोडिएको छ । यस्तै स्थानिय ट्यालेन्ट हन्टबाट सुदूरपश्चिमले मिडियम पेसर हिक्मत महरालाई टोलीमा समावेश गरेको छ ।
पहिलो सिजनको प्रदर्शन
सुदूरपश्चिम रोएल्सले पहिलो सिजन उत्कृष्ट प्रदर्शन गरेको थियो । लिग चरणमा ७ मध्ये ६ खेल जितेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम फाइनल पुगेको थियो । तर निर्णायक खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएपछि पहिलो सिजन उपविजेता बन्यो ।
दीपेन्द्रसिंह ऐरी देखि घरेलु क्रिकेटमा अनुभवी विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा देखि स्थानिय युवा प्रतिभावाना खेलाडीहरू टिममा थिए । यस्तै स्कट कुगेलइन, सैफ अली जैव, हर्मित सिंह जस्ता विदेशी खेलाडीको साथ सुदूरले पहिलो सिजन सन्तुलित प्रदर्शन गरेको थियो ।
पहिलो सिजन सुदूरपश्चिमले कूल ९ खेल खेल्दा लिग चरणमा चितवन राइनोजसँग ३३ रन र फाइनलमा जनकपुर बोल्ट्ससँग मात्र पराजित भएको थियो ।

लिगमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई ७२ रनले र क्वालिफायर वानमा ८ विकेटले पराजित गरेको थियो । फाइनलमा जनकपुरले दुई हारको बदला लिँदै सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
पहिलो सिजन सुदुरपश्चिमबाट खेलेका इंग्लिस अलराउण्डर सैफ अली जैब बेस्ट प्लेअर घोषित भएका थिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी नेपाली खेलाडीमा उत्कृष्ट हुँदै कार पुरस्कार जितेका थिए ।
पहिलो सिजन सैफ जैबले २७५ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा थिए । यस्तै सुदूरपश्चिमबाट खेलेका स्कट कुगेलेइनले सर्वाधिक १७ विकेट लिएका थिए ।
सुदूरपश्चिम रोयल्स टिम
रिटेन गरिएका खेलाडी : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, नरेन साउद
अक्सनबाट अनुबन्ध भएका खेलाडी : हेमन्त धामी, दीपक बोहरा, मिलन बोहरा, दीपेन्द्र थापा, टेक रावत
ट्यालेन्ट हन्ट : हिक्मत महरा
मुख्य प्रशिक्षक : जगत टमाटा
प्रतिक्रिया 4