News Summary
Generated by OK AI. Editorially reviewed.- आबिदा परवीन पाकिस्तानकी अमर गायिका हुन् जसले सूफी संगीतमा महिलाको प्रतिनिधित्व गर्दै विश्वव्यापी मान्यता पाएकी छिन्।
- सन् १९५४ मा सिन्धी सूफी परिवारमा जन्मिएकी उनले सानैदेखि संगीतमा प्रशिक्षण पाएकी थिइन् र सन् १९७३ मा रेडियो पाकिस्तानबाट आफ्नो करियर सुरु गरिन्।
- उनले उर्दू, सिन्धी, पञ्जाबी, अरबी, फारसी भाषामा गाउने गर्छिन् र नेपालमा सन् २००३ मा नेपाली गीत समेत गाएकी थिइन्।
जबजब संसार कोलाहलमा डुब्छ, जबजब चेतनामाथि भौतिकता हाबी हुन्छ । तबतब एउटा आवाज सुन्दा लाग्छ, सम्पूर्ण अस्तव्यस्ततालाई चुम्बकले झैँ खिचेर शान्तिको अथाह सागरमा विलीन गरिदियो ।
लामो बाक्लो घुम्रिएको कपाल, ठूलो अनुहार, फुकेका गाला, सग्लो र खुला कपडा । त्यसमा सजिएको एउटा ठूलो ज्यान । जसले निकालिरहने बाक्लो मनमोहक स्वर । त्यही स्वरले हो तानेर कतै पुर्याउने । जहाँ के पाइन्छ ? के मिल्छ ? त्यो त उनलाई गहिरिएर सुन्नेले मात्र महसुस गर्न सक्छन् । यति भनौं, उनको संगीतले समयको सीमा नाघेर सिधै ‘परम शान्ति’सँग साक्षात्कार गराउँछ ।
आबिदा परवीन । पाकिस्तानकी अमर गायिका । हो, चर्चा उनकै स्वरको हो । परवीनको गायनलाई शब्दमा बाँध्न कठिन छ । कारण, उनको आवाज आफैंमा ऊर्जाको अखण्ड प्रवाह हो ।
उनको आवाजको बलियोपनले कम्पन पैदा गर्दा मनलाई हल्लाइदिन्छ । हल्लेको मन उडेर कतै जान खोज्छ । निष्पट अँध्यारोमा । र, उनलाई हेरिरहुँ, सुनिरहुँ लाग्छ ।
त्यतैकतैबाट लोभी मन हावासँग खेल्ने उनको हातको चाल बन्न लोभिन्छ । उनले गाउने शब्द र सके स्वर नै बनुँ भनेर तातिन्छ । तर, ती खोज्दैमा मनले सबै कहाँ पाउँछ र!
यथार्थमा मन आबिदा परवीनलाई कुनै स्ट्रिमिङ एपमा सुनिरहेको हुन्छ । एकोहोरो । लुपमा । लिप्त भएर ।
000
आखिरीमा उनका फ्यान हुनुको नाताले गायनबाहेक विचारले समेत मन गल्छ ।
‘म न त पुरुष हुँ, न महिला । म त भावनाको माध्यम मात्र हुँ’ आजभन्दा १२ वर्षअघि दी गार्जियन्ससँगको कुराकानीमा उनले यसो भनेकी थिइन् । हुन पनि हो । उनी आफैंले त्यस कुरामा विद्रोह गरेर आएकी हुन् ।
पाकिस्तानी एक सिन्धी सूफी परिवारमा सन् १९५४ मा उनी जन्मिइन् । घर संगीतमैत्री थियो । स्वभाविक रूपमा उनको संगीत प्रशिक्षणको जग घर नै बन्यो । उनका पिता उस्ताद गुलाम हैदर आफैं प्रख्यात गायक र संगीत शिक्षक थिए ।
समाज त पुरुषप्रधान छँदै थियो । तर उनका बुबाआमाले अर्को सन्तान जन्माएनन् । छोरी आबिदालाई नै आफ्नो साङ्गीतिक उत्तराधिकारीको रूपमा रोजे । त्यसको एउटै कारण, आबिदाले सानैदेखि देखाएको छनक हो ।
केवल तीन वर्षको हुँदादेखि उनी आफ्नो बुबासँग सूफी सन्तहरूको मजारमा गाउने र भजन वाचन गर्ने गर्थिन् । भलै उनको औपचारिक व्यावसायिक करियर भने सन् १९७३ मा सुरु भयो ।
त्यसबेला रेडियो पाकिस्तानबाट उनले आफ्नो पहिलो सिन्धी गीत ‘तुहिन्जे जुल्फान जे बन्द कमन्द विधा’ रेकर्ड गराएकी थिइन् । यस गीतपछि सन् १९७७ मा उनी आधिकारिक रूपमा रेडियो पाकिस्तानकी गायिका बनेकी थिइन् ।
यसरी त्यसबेलादेखि निरन्तर उनी गायनमा माझिँदै आइन् । र, एक लैङ्गिक विभेदलाई उनले परास्त गर्न सकेकी छिन् । पाकिस्तान, भारत लगायत दक्षिण एसियामा सूफी, कव्वालीको राम्रै प्रभुत्व छ । तर, तुलानात्मक रूपमा महिलाको संख्या अत्यन्तै थोरै छ । महिलाहरू प्रायः गजल वा केही विधामा मात्रै सीमित हुने गरेका छन् ।
त्यस्तोमा सिन्धको एक सानो शहर लरकानाबाट आबिदा परवीन जसरी आइन्, त्यो कुनै क्रान्तिकारी कदमभन्दा कम छैन । सन् १९९७ मा नुसरत फतेह अली खानको निधन भयो । उनको मृत्युले सूफी संगीतको विश्वव्यापी मञ्चमा ठूलो रिक्तता ल्याएको थियो । तर धेरैले त्यस रिक्ततालाई कम गर्ने अथवा त्यसको ठाउँ लिने व्यक्तिका रूपमा आबिदा परवीनलाई नै हेरेका थिए ।
आखिरीमा प्रशंसा मात्र थिएन । त्यो सूफी संगीतको सर्वोच्च सिंहासनमा महिलाको औपचारिक स्वीकृति थियो । आजकल उनी बुढेसकालको उत्तरार्द्धमा छिन् । तर आफ्नो समयमा छँदा उनको हरेक कार्यक्रमको टिकट ‘सोल्ड आउट’ हुन्थे । रोचक कुरा के छ भने उनले संगीतलाई कहिल्यै पनि पैसाको नजरले हेरिनन् ।
पैसालाई एउटा प्रदूषण मान्ने उनी आफ्नो काम र लोभ कहिल्यै पनि एकै ठाउँमा उभिन नसक्ने बताउँछिन् । बरु आफ्नो देशको प्रचार विशुद्ध रूपमा गर्न पाएकोमा उनी गर्व गर्छिन् । उनले आफूलाई आफ्नो देशको ‘हृदय र इच्छाको राजदूत’ मान्छिन् । यसकारण अन्य देशहरूमा जानु र त्यहाँ प्रस्तुति दिनुलाई उनी आफ्नो नियति ठान्छिन्।
त्यसैगरी मञ्चलाई लिएर पनि उनको विचार तटस्थ छ । उनले मञ्चलाई तीर्थस्थल मान्छिन् । त्यहाँबाट पवित्र सन्देश प्रवाह गरिने भएकाले उनले त्यस्तो अभिव्यक्ति दिएकी हुन् । किनकि उनी मञ्चमा आफूलाई अभिव्यक्तिका लागि एक ‘वाहन’का रुपमा लिन्छिन् । उनको काम त मञ्चमार्फत ईश्वरको सन्देश र प्रेम फैलाउने हो ।
प्रशंसकहरूले उनलाई ‘क्विन अफ सूफी म्युजिक’ अर्थात् सूफी संगीतकी रानी उपमा दिएका छन् । गायन शैली, गजल र कव्वालीहरूमा गहिरो पकड राख्ने भएकाले उनलाई यस्तो उपमा दिइएको थियो ।
उनको क्षमता त्यतिमा मात्र सीमित छैन । ती बाहेक उनी मुख्य रूपमा ठुमरी, ख्याल, राग (रागा), सूफी रक, शास्त्रीय र अर्धशास्त्रीय संगीत गाउँछिन् । उनको मुख्य पहिचान भने ‘काफी’ हो । यसमा पर्कसन (तालवाद्य) र हार्मोनियमको साथमा एकल रूपमा प्रस्तुती दिइन्छ । जहाँ उनले सूफी कविहरूका रचनाहरू गाउने गर्छिन् ।
अझ त्यसमाथि उनी उर्दू, सिन्धी, पञ्जाबी, अरबी र फारसी भाषामा गाउने गर्छिन् । कहिलेकाहीँ भारतीय कविहरूका रचनाहरू गाउँदा हिन्दी र सरल ब्रज भाषामा पनि गाएकी छिन् ।
फरक-फरक भाषामा गाउन सक्ने उनको क्षमताको चर्चा गरिरहँदा छुटाउनु हुन्न, नेपालमा आएर उनले नेपाली गीत समेत गाएकी छिन् । कुरो सन् २००३ ताकाको हो । त्यसबेला उनी ४९ वर्षका थिइन् ।
नेपालमा उनलाई काठमाडौंस्थित पाकिस्तान दूतावासले ल्याएको थियो । हायात रिजेन्सीमा अप्रिल ५ मा उनको सार्वजनिक कार्यक्रम थियो । जहाँ उनले आफ्ना सूफीहरू त सुनाइन् नै, सँगै तारादेवीको ‘उकाली ओरालीहरूमा’को कभर पनि गाएकी थिइन् । जुन अहिले पनि युट्युबमा सुन्न सकिन्छ ।
त्यस्तै त्यस कार्यक्रमपछि उनले तत्कालीन राजा ज्ञानेन्द्रका लागि एक छुट्टै निजी कन्सर्ट पनि गर्ने योजना बनाएको नेपाली टाइम्सले समाचार लेखेको छ । त्यसैमा उनीबारे चर्चा यसरी गरिएको छ ।
‘उनी एक समाधिजस्तै गहनताका साथ गाउँछिन् । भक्ति वा समर्पणमा आफ्ना हातहरू स्वर्गतिर उठाउँछिन् । र, जोड दिन आफ्ना तिघ्रामा थप्पडी मार्छिन्।’ यसरी आफ्नै गायनमा उल्लासमय तरिकाले रमाउने परवीन आफैंमा आध्यामिक व्यक्ति हुन् ।
उनी संगीतलाई आफ्नो ईश्वरसँग नजिक हुने माध्यमका रूपमा लिन्छिन् । श्रोतालाई भगवान मान्छिन् । उनी मान्छेबीचमा हुने र मान्छेको मनबीचमा हुने युद्ध तोडिनुपर्छ, रोकिनुपर्छ भनेर सत्यको पक्षमा कुरा गर्छिन् ।
र त, आफ्नो गीत ‘दोस्त’मार्फत सबैलाई यसो भन्छिन्:
के भनूँ साथीलाई, मित्रताको कति कुरा छन्
दुश्मनहरूसँग पनि कति–कति भेटघाट भयो
ओ ! आबिदा परवीन तिमी गाइरह सदा सूफी । जसको मदहोसमा हामी बाँदलमाथिमाथि उड्दै संसार हेरिरहन्छौं!
प्रतिक्रिया 4