+
एनपीएल २०२५ :

फाफ डुप्लेसीदेखि क्रिस लिनसम्म, को-को आउँदैछन् एनपीएल खेल्न ?

२०८२ कात्तिक  २६ गते १७:०९ २०८२ कात्तिक २६ गते १७:०९

एनपीएल खेल्नका लागि अस्ट्रेलिया, दक्षिण अफ्रिका र इंग्ल्यान्डबाट प्रशस्त खेलाडीहरू आउने भएका छन् भने अन्य देशहरूबाट पनि स्टार खेलाडीहरू भित्रिएका छन् ।

फाफ डुप्लेसीदेखि क्रिस लिनसम्म, को-को आउँदैछन् एनपीएल खेल्न ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण मंसिर १ देखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुँदैछ र ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछन्।
  • दक्षिण अफ्रिका, अस्ट्रेलिया, इंग्ल्यान्ड, अफगानिस्तान, पाकिस्तान, न्यूजिल्यान्ड लगायतका देशका चर्चित खेलाडीहरू एनपीएलमा अनुबन्ध भएका छन्।
  • एनपीएलमा फाफ डुप्लेसी, डाविड मलान, गुल्बादिन नाइब, रवि बोपारा लगायतका अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी हुनेछन्।

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण यही मंसिर १ देखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुँदैछ ।

अघिल्लोपटक सामान्य स्तरको त्रिवि क्रिकेट मैदानमा आयोजना भएको प्रतियोगिता यसपटक भने नवनिर्मित पारापिट र नवजडिट फ्लडलाइटमा हुने निश्चित भइसकेको छ । जसका लागि खेलतालिका पनि सार्वजनिक भइसकेको छ ।

एनपीएलका कुल ३२ खेलमध्ये २३ खेलहरू फ्लडलाइटमा हुनेछन् । लिग चरणका १९ खेल अनि प्लेअफका तीन र फाइनल गरी २३ खेलहरू फ्लडलाइटमा खेलाइने तय छ ।

पहिलो सिजन केही संख्यामा मात्र चर्चित खेलाडीहरू आएर खेलेको एनपीएलमा यसपटक पहिलेभन्दा उल्लेख्य मात्रामा विदेशी खेलाडीहरू अनुबन्ध भइसकेका छन् । विभिन्न टिमले विश्वचर्चित खेलाडीहरूलाई अनुबन्ध गरिसक्दा यसपटक एनपीएल अझ धमाकेदार हुने देखिएको छ ।

एनपीएल खेल्नका लागि अस्ट्रेलिया, दक्षिण अफ्रिका र इंग्ल्यान्डबाट प्रशस्त खेलाडीहरू आउने भएका छन् भने अन्य देशहरूबाट पनि स्टार खेलाडीहरू भित्रिएका छन् ।

आजको मितिसम्म आइपुग्दा एनपीएलमा अनुबन्ध भएका खेलाडीहरूबारे आज लेखेका छौं ।

दक्षिण अफ्रिकाबाट तीन बहुचर्चित खेलाडी

एनपीएलको दोस्रो संस्करणमा खेल्न दक्षिण अफ्रिकाबाट तीन बहुचर्चित खेलाडीसहित पाँच खेलाडी हालसम्म पक्का भएका छन् । सबैभन्दा बढी चर्चा भने एक खेलाडीको भएको छ, ती हुन् फाफ डुप्लेसी ।

स्टार ब्याटर तथा उत्कृष्ट फिल्डर डुप्लेसी एनपीएलको यस सिजनमा हालसम्मकै ठुलो नाम हुन् । उनले दक्षिण अफ्रिकाका लागि ५० खेलमा १५२८ रन बनाएका छन् । त्यस्तै समग्र टी-२०मा ४२४ खेलमा ११,९०६ रन बनाएका छन् । उनी विश्वका उत्कृष्ट फिल्डरमध्ये एक हुन् । उनले समग्र टी-२०मा २११ क्याच लिएका छन् ।

फाफले चेन्नई सुपर किङ्सबाट आईपीएल क्रिकेटको उपाधि जितेका छन् भने सेन्ट लुसिया किङ्सबाट आफ्नै कप्तानीमा क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि जितेका छन् । उनले त्यसबाहेक बिग ब्यास लिग, मेजर लिग क्रिकेट, पीएसएल, बीपिएल, भाइटालिटी ब्लास्ट, एसएटी-२० लगायतका फ्रेन्चाइज लिग खेलेका छन् ।

फाफ डुप्लेसी

मर्चेन्ट डे लाङ पनि विराटनगरमै अनुबन्धित भएका छन् । ३५ वर्षीय अग्ला कदका डे लाङले दक्षिण अफ्रिकाको टोलीबाट पनि खेलिसकेका छन् । उनले समग्र टी-२० मा १५५ खेलमा १७४ विकेट लिएका छन् । डे लाङले भारतको आईपीएल, क्यारेबियन सीपीएल, द हन्ड्रेड, आईएल टी-२०, भाइटालिटी ब्लास्टलगायतका फ्रेन्चाइज लिगहरू खेलेका छन् ।

यस्तै दक्षिण अफ्रिकाका अन्य दुई स्टार खेलाडीहरू एउटै टोलीमा छन् । जनकपुर बोल्ट्सले पेस बलर वायन पार्नेल र स्पीन बलर इमरान ताहिरलाई अनुबन्ध गरेको छ । ३६ वर्षीय पार्नेलले दक्षिण अफ्रिकी टोलीबाट ३६ टी-२०आई खेलेका छन् । जहाँ उनले ५९ विकेट लिएका छन् । ३७४ रन पनि बनाएका छन् ।

समग्र टी-२०मा उनले ३०० खेलमा ३१७ विकेट लिएका छन् र २२०० रन बनाएका छन् । उनले आईपीएल, बीपीएल, एसएटी-२०, द हन्ड्रेडलगायत टोलीबाट फ्रेन्चाइज क्रिकेट खेलेका छन् ।

४६ वर्षीय ताहिरले दक्षिण अफ्रिकाका लागि १५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्दा २९३ विकेट लिएका छन् । विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका ताहिरले ४४६ टी-२० खेलमा ५७० विकेट लिएका छन् ।

ताहिरले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगजस्ता प्रतियोगिताहरू जितेका छन् । भारतको आईपीएलमा राइजिङ पुने सुपरजायन्ट्स, दिल्ली डेयरडेभिल्स र चेन्नई सुपर किङ्सबाट खेलेका छन् । सन् २०१९ मा उनले आईपीएलमा सर्वाधिक विकेट लिएर पर्पल क्याप जितेका थिए ।

इमरान ताहिर

यसका अलावा उनले बंगलादेश प्रिमियर लिग, बिग ब्यास लिग, मेजर लिग क्रिकेट, लंका प्रिमियर लिग, आईएलटी-२०, एसएटी-२० जस्ता चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

यस्तै दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस काठमान्डु गोर्खाजमा अनुबन्ध भएका छन् । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका रिकार्डोले दक्षिण अफ्रिकाको यू-१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।

रिकार्डो पछिल्लो समय इंग्ल्यान्डमा घरेलु क्रिकेट खेल्दै आएका छन् । उनले नर्थम्टनसायरबाट काउन्टी क्रिकेट खेल्नुका साथै भाइटालिटी ब्लास्ट खेलिरहेका छन् । साथै उनी यस टोलीको कप्तान पनि रहेका थिए ।

दुई महिना अघि सम्पन्न भाइटालिटी ब्लास्टको २०२५ संस्करणमा रिकार्डोले १४२ माथिको स्ट्राइक रेटमा १५ खेलमा ३ सय ४२ रन बनाएका थिए । भाइटालिटी ब्लास्टमा उनले कुल ६० खेलमा १२७ माथिको स्ट्राइक रेट १४४६ रन बनाइसकेका छन् ।

अस्ट्रेलियाका बीबीएल स्टार एनपीएलमा

यसैबीच अस्ट्रेलियाबाट पनि हालसम्म ५ खेलाडीहरू एनपीएलको दोस्रो संस्करणका लागि अनुबन्ध भएका छन् । तीमध्ये चार बीबिएल स्टार- क्रिस लिन, डार्शी शर्ट, जोश ब्राउन, साम हिजलेट तथा यसअघिको संस्करणमा खेलेका एकमात्र अस्ट्रेलियन खेलाडी विलियम बोसिस्टो छन् ।

लिन र ब्राउन दुवैले सुदूरपश्चिम रोयल्सबाट खेल्नेछन् । यस्तै गत सिजन शानदार प्रदर्शन गरेका बोसिस्टोलाई कर्णाली याक्सले यस सिजनका लागि पनि निरन्तरता दिएको हो ।

क्रिस लिन

क्रिस लिनले अस्ट्रेलियाका लागि १८ टी-२०आई खेलमा २९१ रन बनाएका छन् । सबैखाले टी-२० मा उनले ५ शतकसहित २९३ खेलमा ८३५५ रन बनाएका छन् ।

उनले आईपीएल, बीबीएल, सीपीएल लगायत विश्वका चर्चित क्रिकेट लिगहरूमा खेलेका छन् । भारतको आईपीएलमा उनले लामो समय कोलकाता नाइट राइडर्सबाट खेलेका थिए ।

यस्तै जोश ब्राउनले अस्ट्रेलियाको बिग ब्यास लिगमा हाल मेलबर्न रेनेगेड्सबाट खेल्दै आएका छन् । त्यसअघि उनले दुई सिजन ब्रिसबेन हिटबाट खेलेका थिए ।

सन् २०२३-२४ को बिग ब्यास लिगमा ब्रिसबेनबाट खेल्दा उनले एडिलेडसँगको खेलमा ४१ बलमै शतक पूरा गर्दै १४० रनको इनिङ खेलेका थिए ।

उनले अस्ट्रेलियाको टोलीबाट भने खेलेका छैनन् । उनले टी-२०मा ४० खेलमा ९४५ रन बनाएका छन् ।

डार्शी शर्ट

यता विराटनगर किङ्समा अनुबन्धित साम हिजलेटले अस्ट्रेलियाका लागि यू-१९ स्तरमा खेलेका छन् र एक ओडिआई पनि खेलेका छन्। टी-२०आईमा भने उनले डेब्यू गर्न बाँकी छ ।

हिजलेटले बिग ब्यास लिगमा ब्रिसबेन हिटबाट खेल्दै ५० खेलमा ८४० रन बनाएका छन् । उनको स्ट्राइक रेट १२३ को रहेको छ ।

डार्शी शर्टले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२०आई खेलिसकेका छन् । उनले २३ टी-२०आई खेलमा ६४२ रन बनाएका छन् ।

त्यस्तै समग्र टी-२०मा उनले १८० खेलमा ५४०१ रन बनाएका छन् । बिग ब्यासमा एडिलेड स्ट्राइकर्सबाट २ सिजन खेलेका उनी होबार्ट हुरिकेन्सबाट ७ सिजन खेल्दा सबैभन्दा सफल होबार्टमै रहे । सन् २०१८ र २०१९ को सिजनमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

विलियम बोसिस्टोले गत सिजन कर्णालीका लागि शानदार प्रदर्शन गरेका थिए । उनले ७ खेलमा दुई अर्धशतकसहित १९४ रन बनाउनुका साथै ९ विकेट लिएका थिए । उनको अलराउण्ड प्रदर्शनमा कर्णाली पहिलो सिजन प्लेअफ प्रवेश गर्दै दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।

टी२० क्रिकेटमा उनले २१ खेल खेल्दै ४०० रन बनाएका छन् भने ३ विकेट समेत लिएका छन् । एनपीएलको पहिलो संस्करण खेेलपछि बंगलादेश प्रिमियर लिग खेल्न गएका उनले त्यहाँ उत्कृष्ट प्रदर्शन गरेका थिए । जहाँ उनले खुल्नाका लागि १० खेलमा २ अर्धशतक सहित २९८ रन बनाएका थिए ।

यसपटक एनपीएलमा अस्ट्रेलियन फ्लेभर अझै धेरै मात्रामा देखिने भएको छ ।

इंग्ल्यान्डका स्टारदेखि काउन्टी क्रिकेटर

एनपीएलको दोस्रो संस्करणका लागि इंग्ल्यान्डको अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका खेलाडी डाविड मलानदेखि भेट्रान रवि बोपारा र काउन्टीमा शानदार प्रदर्शन गरेका खेलाडीहरू आउँदै छन् ।

मलान, बोपारासहित गत सिजन पनि खेलेका सेफ अली जैबसँगै काउन्टीमा खेल्ने जोन सिम्पसन, बेन चार्ल्सवर्थ र एडम रोसिङटनले एनपीएल खेल्ने छन् ।

हालसम्म इंग्ल्यान्डका ६ खेलाडीहरू एनपीएलका लागि अनुबन्धित भएका छन् । सबैभन्दा बढी चर्चा मलानकै छ । उनले चितवन राइनोजबाट खेल्दै छन् ।

डाविड मलान

३८ वर्षीय बाँयाहाते ब्याटर मलानले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ६२ खेलमा १ शतक र १६ अर्धशतकसहित १८९२ रन बनाएका छन् ।

इंग्ल्यान्डले सन् २०२२ मा टी-२० विश्वकपको उपाधि जित्दा मलान टोलीको सदस्य थिए । मलानले सन् २०२३ मा एकदिवसीय विश्वकप पनि खेलेका थिए ।

उनले समग्र टी-२०मा ३८४ खेल खेल्दा ५ शतक र ७२ अर्धशतकसहित १० हजारभन्दा बढी रन बनाएका छन् ।

यस्तै गत सिजन चितवन राइनोजका लागि शानदार प्रदर्शन गरेका रवि बोपाराले यस सिजन पनि निरन्तरता पाएका छन् । बोपारा गत सिजनको एनपीएलमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले २८६ रन बनाएका थिए ।

उनले आफ्नो करियरमा ४९४ टी२० खेलमा ९ हजार ९४८ रन बनाएका छन् भने २९२ विकेट पनि लिएका छन् । बोपारा गत सिजनको एनपीएलमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।

उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाहेक आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएललगायत विश्वका धेरै फ्रेन्चाइज टी२० लिग खेलेका छन् । भाइटालिटी टी-२० ब्लास्ट र दी हन्ड्रेडमा गरी ५ हजार भन्दा बढी रन बनाएका छन् ।

रवि बोपारा

गत सिजन सुदूरपश्चिम रोयल्सबाट खेल्दै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका इंग्ल्यान्डका सेफ अली जैबले पनि चितवनबाटै खेल्दै छन् । गत सिजन उनले ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाए भने १२ विकेट पनि लिए ।

राष्ट्रिय टोलीबाट नखेले पनि इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्ने गरेका छन् । बाँयाहाते ब्याटिङ गर्ने उनले टी२०मा ९८ खेलमा १४० माथिको स्ट्राइक रेटले १६०० भन्दा बढी रन बनाएका छन् । त्यस्तै स्लो लेफ्ट आर्म बलिङ गर्ने उनले १८ विकेट पनि लिएका छन् ।

इंग्ल्यान्डका अर्का दुई खेलाडी जोन सिम्पसन र बेन चार्ल्सवर्थले काठमान्डु गोर्खाजबाट खेल्दै छन् । चार्ल्सवर्थले ४४ टी-२०मा ७७६ रन बनाएका छन् भने ७ विकेट लिएका छन् । विकेटकिपर सिम्पसनले १९५ खेलमा ३००० भन्दा धेरै रन बनाएका छन् ।

अर्का विकेटकिपर एडम रोसिङटनलाई पोखरा एभेन्जर्सले अनुबन्ध गरेको छ । उनले १८६ खेलमा ३५०० भन्दा बढी रन बनाएका छन् ।  ३२ वर्षीय रोसिङटनले इंग्ल्याण्ड यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन् भने इंग्लिस टी२० क्रिकेट भाइटालिटी ब्लास्ट, १०० बल क्रिकेटका साथै अन्य देशका टी२० फ्रेन्चाइज लिगहरु समेत खेलेका छन् ।

उनले टी२० क्रिकेटमा ३ हजार भन्दा बढी रन बनाएका छन् भने विकेटकिपरको रुपमा १०० भन्दा बढी आउट गराएका छन् । उनले १०० बल क्रिकेटमा १५ बलमै अर्धशतक प्रहार गर्दै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका थिए ।

अफगानिस्तानका पूर्वकप्तान नाइब

अफगानिस्तानका पूर्वकप्तान गुल्बादिन नाइबले लुम्बिनी लायन्सबाट एनपीएल खेल्दै छन् । उनी हाल राष्ट्रिय टिममै सक्रिय रहेका खेलाडी हुन् ।

गुल्बादिन नाइब

नाइबले अफगानिस्तानका लागि १६७ अन्तर्राष्ट्रिय खेल खेल्दा २३०० भन्दा बढी रन बनाएका छन् । समग्र टी-२० मा १७० खेल खेल्दा २५०० भन्दा धेरै रन बनाएर १०१ विकेट पनि लिएका छन् ।

उनले भारतको आईपीएलसँगै अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग र आईएलटी-२० जस्ता फ्रेन्चाइज प्रतियोगिताहरू खेलेका छन् ।

पाकिस्तानका भेट्रान तनभिरलाई निरन्तरता

पाकिस्तानका भेट्रान पेस बलर सोहेल तनभिरलाई चितवन राइनोजले दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । गत सिजन उनी १४ विकेटसहित सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा थिए ।

४० वर्षीय तनभिरले पाकिस्तानबाट लामो समय खेलेका छन् । उनको पाकिस्तान सिनियर टिम तथा अन्य फ्रेन्चाइज लिगमा राम्रो अनुभव छ । फर्स्ट क्लास क्रिकेटमा उनले ७४ खेलमा ३१० रन बनाएका छन् ।

बाँयाहाते मिडियम पेस बलिङ गर्ने उनले पाकिस्तानका लागि ५७ टी२०आई खेलमा ५४ विकेट लिएका छन् । त्यसैगरी सबैखाले टी२०मा ३८८ खेल खेल्दा ३८९ विकेट लिएका छन् । त्यसैगरी ब्याटिङमार्फत २७०० भन्दा धेरै रन पनि बनाएका छन् ।

न्युजिल्यान्डका दुई स्टार खेलाडी

न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिल र पेस बलर स्कट कुग्लेइनलाई दोस्रो संस्करणमा पनि पहिलेकै जर्सीमा देख्न पाइनेछ । गप्टिललाई विराटनगर किङ्स तथा कुग्लेइनलाई सुदूरपश्चिम रोयल्सले निरन्तरता दिएका हुन् ।

गप्टिलले किवी टोलीका लागि १२२ टी-२०आई खेल खेल्दा ३५३१ रन बनाएका छन् । उनले समग्र टी-२० मा ३५१ खेल खेल्दा ९९०० रन बनाएका छन् ।

कुग्लेइनले एनपीएलको पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए ।

अमेरिकाका ‘इन फर्म’ खेलाडीहरू एनपीएलमा

अमेरिकी राष्ट्रिय टोलीबाट पछिल्लो समय उत्कृष्ट लयमा देखिएका मिलिन्द कुमार र हर्मीत सिंहसहित गत सिजन शानदार प्रदर्शन गरेका लाहिरु मिलान्था र नेपाली क्रिकेटमा परिचित नाम सन्नी पटेलसहित ४ खेलाडीहरू एनपीएलमा खेल्दै छन् ।

काठमान्डु गोर्खाजमा अनुबन्धित मिलिन्दले सबै खाले टी–२० मा ९० खेल खेल्दै १६ सय भन्दा बढी रन बनाएका छन् । १७ विकेट पनि लिएका छन् । काठमान्डुमै रहेका अर्का खेलाडी पटेलले अमेरिकी माइनर र मेजर लिगमा राम्रो खेलेका छन् ।

लाहिरु मिलान्था

गत सिजन जनकपुरलाई उपाधि दिलाउन राम्रो भूमिका खेलेका मिलान्था दोस्रो संस्करणका लागि पनि रिटेन भएका छन् ।

यस्तै गत सिजन प्रतियोगिताको बीचमा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका हर्मीत यस सिजन पनि सुदूरबाटै खेल्दै छन् । गत सिजन उनले ५ खेलमा ८ विकेट लिएका थिए । उनी पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन् ।

३३ वर्षीय हर्मीत हाल अमेरिकाको सिनियर क्रिकेट टोलीबाट खेल्दै आएका नियमित सदस्य हुन् । उनले २५ टी-२०आई खेलमा २४ विकेट लिएका छन् भने २३५ रन बनाएका छन् । समग्र टी-२०मा ६० खेलमा ५६ विकेट लिएका छन् ।

नामिबिया र स्कटल्यान्डबाट दुई-दुई खेलाडी

हालसम्म अनुबन्ध भएअनुसार नामिबिया र स्कटल्यान्डबाट २-२ जनाले यसपटक एनपीएल खेल्दैछन् ।

नामिबियाका कप्तान जेरार्ड एरासमस र जान निकोल लफ्टी इटन तथा स्कटल्यान्डका जर्ज मन्से र मार्क वाट यस सिजनको एनपीएलमा देखिनेछन् ।

एरासमसलाई काठमान्डु गोर्खाजले दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको हो । गत सिजन उनले ७ खेलमा १३७ माथिको स्ट्राइक रेटमा ११० रन बनाउनुका साथै ११ विकेट लिएका थिए ।

जेरार्ड एरासमस

गत सिजन चितवनबाट खेलेका निकोल लफ्टी इटनले यसपटक भने जनकपुर बोल्ट्सबाट खेल्ने छन् । उनले कीर्तिपुरमै खेल्दा नेपालविरुद्ध त्यसबेला सबैभन्दा छिटो शतक बनाएर कीर्तिमान रचेका थिए ।

यस्तै स्कटल्यान्डका आक्रामक ओपनिङ ब्याटर जर्ज मन्सेलाई विराटनगरले अनुबन्ध गरेको छ । ३२ वर्षीय बाँयाहाते ब्याटर मन्सेले स्कटल्यान्डका लागि ८१ टी-२०आई खेलमा २ शतक र १३ अर्धशतकसहित २३०२ रन बनाएका छन् । समग्र टी-२० मा १०२ खेल खेल्दा २६४८ रन बनाएका छन् ।

स्कटल्यान्डका बलिङ अलराउन्डर मार्क वाटले कर्णाली याक्सबाट खेल्नेछन् । २९ वर्षीय वाटले स्कटल्यान्डका लागि समग्र टी-२०आईमा ७७ खेलमा ८९ विकेट लिएका छन् । २९४ रन पनि बनाएका छन् ।

समग्र टी-२०मा ११७ खेलमा ११४ विकेट लिएका छन् । ३६८ रन बनाएका छन् ।

नेदरल्यान्ड्स र वेस्ट इन्डिज

नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्स ओ डाउडले कर्णाली याक्सबाट एनपीएल खेल्दै छन् । ३१ वर्षीय समग्र टी-२०मा १०२ खेल खेल्दा २५२७ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।

यता वेस्ट इन्डिजका रेमन रेइफरले पोखरा एभेन्जर्सबाटै दोस्रो संस्करण खेल्ने भएका छन् । ३४ वर्षीय बाँयाहाते अलराउण्डर रेइफरले सबैखाले टी२०मा ९३ खेल खेल्दा ११२४ रन बनाएका छन् भने ६६ विकेट पनि लिएका छन् ।

युगान्डा र इटालीबाट पनि

अन्तर्राष्ट्रिय क्रिकेटमा उदीयमान राष्ट्र युगान्डा र इटालीबाट पनि एनपीएलका लागि खेलाडीहरू अनुबन्ध भएका छन् ।

युगान्डका अल्पेश रमजानीले चितवन राइनोजबाट एनपीएल खेल्नेछन् । ३१ वर्षीय रमजानी बाँयाहाते ब्याटिङ तथा बाँयाहाते स्पीन बलिङ गर्छन् । उनले युगाण्डाका लागि ६५ टी-२०आई खेल्दै ८५० रन बनाउँदा १०२ विकेट पनि लिएका छन् । रमजानीले सन् २०२४ को टी-२० विश्वकपमा पनि खेलेका थिए ।

 

यस्तै इटालीका पेस बलर थोमस ड्राका पनि एनपीएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।

२७ वर्षीय दायाँ हाते बलर ड्राकाले इटालीका लागि ७ टी२०आई खेल खेल्दै ८ विकेट लिएका छन् । उनले इटालीलाई पहिलो पटक टी-२० विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

एनपीएल क्रिकेट एनपीएल २०२५
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय