+
+
Shares

निर्वाचन आयोगले भन्यो– चुनावी तयारीको ६० प्रतिशत काम सकियो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यको चुनावको तयारी अन्तर्गत ६० प्रतिशत काम सकिएको जनाएको छ।
  • आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको बताए।
  • प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी विषयमा आयोगसँग छलफल गरी प्रगतिको जानकारी लिइन्।

२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यको चुनावको तयारी अन्तर्गतका ६० प्रतिशत काम सकिएको बताएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् ।

छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जानकारी गराएका हुन् ।

हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको पनि आयोगले प्रधानमन्त्री समक्ष ब्रिफिङ गरेको छ ।

आयोगमा दर्ता रहेका र वडा सदस्यसम्म मात्र पनि विजय भएका दलहरूसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताएका छन् ।

बरु विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको उल्लेख गर्दै उनले  विगतमा भन्दा अझै सहज वातावरण बन्दै गएको बताएका हुन् ।

आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको बताउँदै उनले भनेका छन्, ‘हाम्रो मूल्यांकनअनुसार, तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव छ र आयोग यसका लागि सक्षम छ। कुनै दुविधा राख्नुपर्ने अवस्था छैन ।’

प्रधानमन्त्री कार्कीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको तीनबुँदे पत्रको सम्बोधनमा भएका कामको प्रगति पनि आयोगले जानकारी गराएको थियो ।

जसअनुसार, आयोगको अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति पनि बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

हालसम्म १ करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्यांकमा अभिलिखित रहेको र पछिल्लो निर्वाचन घोषणापछि मात्र २ लाख ९ हजार ५५२ मतदाता थपिएको विवरण पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए ।

हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको पनि आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिँदै अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको बताएको छ ।

दलहरूसँग पुन: छलफल गर्ने पनि आयोगको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?