News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय योजना आयोगले २३ र २४ भदौको जेनजी आन्दोलनमा भएको भौतिक क्षति मूल्यांकनका लागि तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको बताएको छ।
- आयोगले सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानको क्षति तथ्यांक तीन दिनभित्र प्रविष्ट गर्न सरोकारवालालाई अनुरोध गरेको छ।
- क्षति मूल्यांकन र पुनर्निर्माण योजना तयारीको लागि अनलाइन पोर्टल तयार पारिएको छ जसमा स्थानीय तह, प्रदेश र संघीय निकायले क्षति विवरण प्रविष्ट गर्न सक्छन्।
२७ कात्तिक, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलन क्रममा भएको भौतिक क्षति मूल्यांकनका लागि तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय योजना आयोगका अनुसार सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानको क्षति मूल्यांकनका लागि आवश्यक तथ्यांक संकलनको काम अहिले अन्तिम चरणमा पुगेको हो ।
आयोगले बुधबार सूचना प्रकाशित गर्दै अबको ३ दिनभित्र बाँकी तथ्यांक प्रविष्ट गरिसक्न सरोकारवालालाई अनुरोध गरेको छ । आयोगले क्षति मूल्यांकन र पुनर्निर्माण योजना तयारीको काम गरिरहेको छ । ५ असोजको मन्त्रिपरिषद् बैठकले यो प्रयोजनका लागि समिति गठन गरेको थियो ।
तथ्यांक संकलनमा एकरूपता र सहजताका लागि समितिले अनलाइन पोर्टल तयार पारेको छ । जसमा स्थानीय तहले स्थानीय तह मातहत कार्यालय, निजी प्रतिष्ठान र सामुदायिक तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षति तथ्यांक प्रविष्ट गर्न सक्ने सुविधा दिइएको छ ।
त्यही काम प्रदेशले आफ्नो मातहत कार्यालयका हकमा गर्न सक्छन् । संघीय मन्त्रालय, आयोग र सचिवालयले भने आफूमातहत विभाग, कार्यालय र सार्वजनिक संस्थानको क्षति संकलन गरी प्रविष्ट गर्न सक्ने गरी प्रणाली विकास गरेको छ ।
आयोगका अनुसार अहिलेसम्म धेरैजसो निकायले यस्तो क्षतिको विवरण पठाइसकेका छन् । अबको ३ दिन छुट भएका विवरण संकलन गर्न लागिएको हो ।
प्रतिक्रिया 4