News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली टोली समर डेफलिम्पिक्सको २५औं संस्करणमा सहभागी हुन २८ कात्तिकमा जापानको टोकियो प्रस्थान गरेको छ।
- नोभेम्बर १५ देखि २६ सम्म हुने डेफलिम्पिक्समा नेपालका १० खेलाडी ६ खेलमा प्रतिस्पर्धा गर्नेछन्।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य र युवा तथा खेलकुद मन्त्रालयका सह–सचिवले टोलीलाई बिदाइ गरेका छन्।
२८ कात्तिक, काठमाडौं । समर डेफलिम्पिक्सको २५औं संस्करणमा सहभागी हुन नेपाली टोली शुक्रबार जापानको टोकियो प्रस्थान गरेको छ ।
नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने डेफलिम्पिक्समा नेपालबाट विभिन्न ६ खेलमा १० खेलाडी सहभागी हुँदै छन् । नेपाली टोली शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेको हो ।
तेक्वान्दोमा किरण लामा, टेबलटेनिसमा सन्जित श्रेष्ठ, एथलेटिक्समा तिलदेवी गर्बुजा र निराजन सुवेदी, ब्याडमिन्टनमा महेन्द्र लिम्बू फुडोङ, घनबहादुर थापा र जमुना आचार्य तथा करातेमा सेनाम छिरिङ लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
जुडोमा सहभागी हुने खेलाडी सुष्मा तामाङ र लक्की चौधरीसहितको टोली भने जापान पुगिसकेको छ । तेक्वान्दोको प्रशिक्षकमा राजेन्द्र खत्री छन् ।
सहभागी हुने खेलको टिम लिडरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगतसिंह धामी, सरोजकुमार पोख्रेल, देवराज कटुवाल, झमकप्रसाद गौतम, विक्रम घले र वीरबहादुर गुरुङ रहेका छन् । अफिसियलमा कुलप्रसाद भट्टराई तथा दोभासेमा दिनेश श्रेष्ठ र नवीन श्रेष्ठ छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य हिमाल श्रेष्ठले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया 4