+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

संसद् पुनर्स्थापनाबारे कांग्रेस र एमालेले गरे सभामुखसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १७:४८
फाइल तस्वीर

१ मंसिर, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्ष पुगेका थिए । उनीहरूबीच आइतबार भेट भएको हो ।

कांग्रेसका प्रमुख सचेतक घिमिरेले अनौपचारिक भेटघाट भएको बताए ।

‘अनौपचारिक भेटघाट हो । चिया–कफी खाँउ भनेर गएका थियौं । अनौपचारिक कुराकानी भयो । संसद् पुनर्स्थापनाबारे पनि कुराकानी भयो । आगामी निर्वाचन हुन्छ कि हुँदैन ! यस्तै चिया गफ,’ घिमिरेले अनलाइनखबरसँग भने ।

घिमिरे आफू प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताउँछन् ।

‘म संसद् पुनर्स्थापनाकै पक्षमा हो । संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्छ भन्ने हो । यसका लागि संसद् पुनर्स्थापना हुनुपर्छ,’ उनले भने ।

गत २७ भदौमा प्रतिनिधिसभा विघटन भएको थियो । आगामी २१ फागुनका लागि चुनावको मिति तय भएको छ । निर्वाचन तयारी अन्तर्गत निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । आगामी ६ माघमा उम्मेदवारी दर्ताको समय छ ।

यता निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय सुरु भएको छ । आजदेखि यही १० मंसिरसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने समय सीमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतले पहिलो दिन नै निर्वाचन आयोग पुगेर निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिइसकेका छन् ।

कांग्रेस र एमाले भित्र भने प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव भन्ने बहस चलिरहेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले यो विषयमा निर्णय लिएको छैन । एमालेले भने प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिसकेको छ ।

कांग्रेस र एमालेले विघटित प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर समेत संकलन गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा विघटित प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर संकलन गरेका दुवै दलका प्रमुख सचेतकले सभामुख घिमिरेसँग यो विषयमा छलफल गरेका हुन् ।

नेताहरूका अनुसार कांग्रेसका ४६ र एमालेका ३२ जनाले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन् ।

यी लगायतका विषयमा छलफल गर्न एमालेले मंगलबार विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक राखेको छ । मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न भनेर राखिएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?