२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेको छ ।
प्रसाईंले दिएको अभिव्यक्तिको आधारमा प्रहरीले उनलाई गएराति घरबाटै नियन्त्रणमा लिएको थियो । तर, उक्त कदमप्रति राप्रपाले खेद व्यक्त गरेको छ ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रसाईको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको आरोप लगाएका छन् ।
‘अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ,’ राप्रपाले भनेको छ, ‘प्रसाईंको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको छ ।’
विज्ञप्तिमा अघि भनिएको छ, ‘प्रसाईलाई अविलम्ब र बिना शर्त रिहा गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
अब कम्तिमा पनि ४ दिन प्रसाईं प्रहरी हिरासत रहनेछन् । प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तीव्र पारेका थिए ।
तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।
उनले सार्वजनिक शान्तिमा खलल पुग्ने गरी अभिव्यक्ति दिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4