४ मंसिर, काठमाडौं । ‘कसलाई खोज्नु भएको हो, अँध्यारो छ,’ बुधबार साँझ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पुग्दा एक कर्मचारीले भने । कतिपय कर्मचारी अँध्यारो कोठामा बसेर नै काम गरिरहेका थिए ।
गत २३ र २४ गते भएको जेननी आन्दोलनमा सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा पनि तोडफोड र आगजनी हुँदा क्षति पुग्यो । अझै पूर्णरूपमा मन्त्रालयको मर्मत भएको छैन । बिजुलीका तार जलेका छन् । बाहिरबाट तार जोडेर कामचलाउ बत्ती जडान गरिएको छ । वाइरिङको काम पूरा हुन सकेको छैन । जसका कारण कोठाहरूमा बिजुली बत्ती बाल्न नपाउँदा कर्मचारीहरू तनावमा छन् ।
‘जेनतेन काम चलाउन गरेर बसिरहेका छौँ,’ एक कर्मचारीले सुनाए ।
क्षति भएपछि ३१ भदौदेखि केशरमहलबाट मन्त्रालयको काम सुरु गरिएको थियो ।

गत १६ कात्तिकदेखि सिंहदरबारबाट नै कामकाज सुरु गरियो । त्यसपछि मन्त्री महावीर पुन पनि सिंहदबारमै सरेका छन् ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा बत्ती जडान गर्न टेन्डर प्रक्रियामा गएको बताउँछन् ।
‘अँध्यरोमा काम गरिरहेका छौँ । राति अबेरसम्म काम गर्नुपर्छ । दिउँसो गरेर भ्याइँदैन । बत्ती छैन । बत्ती जोड्न टेन्डरमा गएको छ । कहिले जोडिन्छ थाहा छैन । दुःखमा काम गरिरहेका छौँ,’ प्रवक्ता सापकोटाले भने ।

प्रतिक्रिया 4