+
+
Shares
डा. यादवप्रसाद पन्तको शतवार्षिकी :

डा. यादवप्रसाद पन्त, जसले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय परिचय दिलाए

प्रा. विश्वम्भर प्याकुर्‍याल प्रा. विश्वम्भर प्याकुर्‍याल
२०८२ मंसिर ५ गते ९:४५

डा. यादवप्रसाद पन्त (सन् १९२५–२००७) नेपालका सबैभन्दा सफल अर्थशास्त्री, नीतिनिर्माता, कूटनीतिज्ञ र बुद्धिजीवीमध्ये एक थिए। १७ नोभेम्बर, १९२५ मा काठमाडौंमा जन्मेका उनले आफ्नो प्रारम्भिक जीवनको धेरैजसो समय भारतको बनारसमा बिताए। उनले पटना विश्वविद्यालयबाट बीए गरे भने त्यसपछि बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) बाट अर्थशास्त्रमा एमए र पीएचडी गरे। उनी विद्यावारिधि उपाधि प्राप्त गर्ने पहिलो नेपाली हुन्। सी. हर्स्ट एण्ड कम्पनी, लन्डनद्वारा प्रकाशित पुस्तक ‘प्रब्लम्स अफ फिस्कल एण्ड मोनेटरी पोलिसीः अ केस स्टडी अफ नेपाल’का लागि उनले बीएचयूबाटै सन् १९७६ मा डी.लिट. प्राप्त गरे।

नेपालको अर्थमन्त्री, जलस्रोत मन्त्री, नेपालको पहिलो योजना आयोगको सदस्य, प्रमुख आर्थिक सल्लाहकार, अर्थ तथा आर्थिक मामिला मन्त्रालयमा सचिव र नेपाल राष्ट्र बैंकको गभर्नर सहित धेरै उच्चस्तरीय भूमिकाहरूमा उनले काम गरेका थिए। उनी बैंक अफ काठमाण्डूको संस्थापक अध्यक्ष पनि थिए।

अन्तर्राष्ट्रिय क्षेत्रमा, डा. पन्त संयुक्त राष्ट्रसंघको सेवा गर्ने पहिलो नेपाली अर्थशास्त्री थिए। डा. पन्तले अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंक, इस्क्याप र कोलम्बो योजना जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा धेरै पटक प्रतिनिधिमण्डलहरूको नेतृत्व गरेका थिए।

उनले एसियाली विकास बैंक स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए भने १९८२/८३ मा यसको गभर्नरहरूको बोर्डको अध्यक्षता पनि गरेका थिए। विश्वव्यापी मञ्चहरूमा उनले भूपरिवेष्ठित र कम विकसित देशहरूको आर्थिक उन्नतिको वकालत गरे।

डा. पन्तले जापान (आवासीय), दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड र फिलिपिन्सको राजदूतको रूपमा पनि काम गरेका थिए। उनी राष्ट्रिय पञ्चायतमा पहिले मनोनीत र पछि निर्वाचित सदस्य थिए। प्रजातन्त्र पुनःस्थापनापछि राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना गर्दै यसको उपाध्यक्ष र केन्द्रीय कोषाध्यक्षको रूपमा काम गरेका थिए।

डा. पन्तको योगदानले व्यापक अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो। उनलाई १९६१ मा बेलायती महारानी एलिजाबेथ द्वितीयद्वारा रोयल भिक्टोरियन अर्डर (केसीभीओ)को नाइट कमाण्डर प्रदान गरिएको थियो। सन् १९७८ मेमा जापानका सम्राट हिरोहितोबाट प्रथम श्रेणीको अर्डर अफ द राइजिङ सन प्राप्त गर्ने उनी पहिलो नेपाली बने। उनलाई १९७९ मा दक्षिण कोरियाले कूटनीतिक सेवाको लागि ग्वाङ्वा पदक पनि प्रदान गरेको थियो। नेपालका एक विशिष्ट अर्थशास्त्री तथा नीति निर्माता डा. पन्तको १४ नोभेम्बर २००७ मा थाइल्याण्डको बैंककमा निधन भएको थियो। यो आलेख डा. पन्तको शतवार्षिकीको अवसरमा प्रकाशित गरिएको हो।)

 

नेपाल माताका अद्वितीय तथा उच्चस्तरका प्राज्ञिक व्यक्तित्व डा. यादवप्रसाद पन्त हाम्रो लागि अपरिचित नाम हैन र त्यो हुनु पनि हुँदैन। उहाँ बाँचुन्जेल राष्ट्र निर्माणमा लाग्नुभयो। अन्तर्राष्ट्रिय संस्थाहरूमा नेपालको प्रतिनिधित्व गर्दै जहिले पनि जस्तोसुकै जिम्मेवारीमा पनि आफूलाई अब्बल साबित गरिरहनुभयो। उहाँका बारेमा दुई शब्द कोर्न पाउँदा आफूलाई आनन्द महसुस भइरहेको छ।

डा. पन्तले आर्थिक सिद्धान्त र त्यसको कार्यान्वयनले जनताको जनजीवनलाई पर्न सक्ने प्रभाव यति स्पष्टसँग सार्वजनिक गर्नुभयो– जसले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन मद्दत पुर्‍यायो। डा. पन्तको सन् १९६५ मा प्रकाशित ‘इकोनोमिक डेभलपमेन्ट अफ नेपाल’ पछि डा. बद्रीप्रसाद श्रेष्ठको ‘एन इन्ट्रोडक्सन टु नेप्लिज इकोनोमी’ एक-अर्काको परिपूरक हुनपुगे। वास्तवमा हाम्रो पुस्ताले अर्थशास्त्र विषयको अध्ययन शुरु गर्दा यिनै यस्ता पुस्तक हुनपुगे जसले अर्थतन्त्रमा रुचि राख्ने सबै विद्यार्थीको सामान्य ज्ञानको ढोका उघारिदिए।

विकास अर्थशास्त्र, वित्तीय तथा मौद्रिक नीतिको प्रारम्भिक ज्ञान मैले विद्यार्थी जीवनमा सन् १९७० मा प्रकाशित डा. पन्तको ‘प्रब्लम्स इन फिस्कल एन्ड मनिटरी पलिसी’बाट प्राप्त गरेको हुँ।

डा. पन्तले  केन्द्रीय बैंकको मुद्रा निष्कासन गर्ने सीमित जिम्मेवारीबाट आफूलाई अलग गरेर बरु समष्टिगत रूपमा नेपाल राष्ट्र बैंकलाई विस्तारित र व्यावहारिक बनाएर सम्पूर्ण कार्यक्षेत्रलाई नै नमूनाको रूपमा पुनर्संरचना गरेर अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेका उदाहरण पनि छन्। अन्तर्राष्ट्रिय मुद्राकोषले समेत नेपालको केन्द्रीय बैंकलाई ‘विश्वका सबैभन्दा राम्रा केन्द्रीय बैंकमध्ये एक’ भनेर उल्लेख गर्न पुग्यो। यो प्रशंसा अद्वितीय त थियो नै तर यसले नेपालको गरिमा अन्तर्राष्ट्रिय क्षेत्रमा निकै बढाइदियो।

हामी व्यावसायिक जीवनमा पदार्पण गर्दा उहाँसँग नजिक हुन पाउनु भनेको एउटा मीठो सपना जस्तै हुन्थ्यो। मैले वि.सं. २०३० को दशकमा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन शुरु गरेको केही वर्षभित्रै उच्च शिक्षा अध्ययनको लागि अमेरिका प्रस्थान गर्दा उहाँ जापानको राजदूत हुनुहुन्थ्यो।

राजदूतको पदावधि समाप्त गरी नेपाल फर्केपछि उहाँ अर्थमन्त्री हुनुभयो। म नेपाल फर्कने वेला उहाँको अर्थमन्त्रीको अवधि पनि करीब सकिनै लाग्दा मैले बिदा मिलाएर पुनः प्राध्यापन शुरु गरिसकेको थिएँ। एक दिन अपराह्न अर्थशास्त्र विभागमा अर्थमन्त्रीज्यूले भेट्न खोजेको सूचना प्राप्त भएपछि म उहाँलाई भेट्न मन्त्रालय पुगें।

अर्थमन्त्रीसँगको यो भेट मेरो लागि अविस्मरणीय रह्यो। उहाँमा अन्तर्निहित नेपालको क्षेत्रगत विकास सम्बन्धी ज्ञान र धारणा सुन्दा अब मैले के भन्ने होला भनेर कता-कता संकोच पनि लागेको थियो। तर, विकास अर्थशास्त्रमा अध्ययन र रुचि भएको र भर्खरै विदेशबाट त्यही विषयमा डिग्री पनि लिएर आएकोले मलाई लाग्यो आफ्नो सीमित ज्ञानलाई थोरै हदसम्म भए पनि जोगाउनैपर्छ त्यसैले तौलेर बोलें।

प्रत्येक मुद्दामा प्रतिक्रिया सहित उहाँको टिप्पणी सुन्दा मलाई लाग्यो मेरो डा. पन्तसँगको अनौपचारिक छलफल ठिकै रह्यो। म जन्मेको ५ वर्षपछि सन् १९५४ त उहाँले विद्यावारिधि गरिसक्नुभएको थियो। जीवनको त्यत्रो लामो व्यावसायिक यात्रा पार गरिसक्नुभएका विद्वान्‌सँग एक्लाएक्लै भेट्नु मेरो लागि ठूलो कुरा थियो।

नेपालमा डा. पन्त, डा. भेषबहादुर थापा, डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिना र अन्य व्यक्तिले फरक-फरक किसिमले नेपाल आर्थिक संघको अध्यक्षता ग्रहण गरेर मिलेजति र आफूले सकेजति सानातिना कार्यक्रमहरू संचालन गरिरहेको कुरा हाम्रो जानकारीमा थियो। त्यसैले कसरी हुन्छ व्यक्तिपिच्छे यसरी छरिएर रहेका आर्थिक संघलाई एउटै छातामुनि बाँध्न सकिन्छ भन्ने कुरा धेरै समयसम्म हाम्रो चिन्ताको विषय थियो।

यसैबीच आर्थिक र संस्थागत दृष्टिले सजिलो हुनसक्छ भनी त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति महेशकुमार उपाध्याय, रजिष्ट्रार डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिना, प्राध्यापक डा. मदनकुमार दाहाल र म स्वयम् संलग्न भएर उपकुलपति महेशकुमार उपाध्यायको संयोजकत्वमा एउटा तदर्थ समिति गठन गरियो।

अब हाम्रो उद्देश्य विविध आर्थिक संघको नेतृत्व गरिराख्नुभएका व्यक्तिहरूलाई निमन्त्रणा गरी सबैको सहमति अनुसार छरिएर रहेका आर्थिक संघलाई कसरी एउटै छातामुनि ल्याउन सकिन्छ भन्ने नै थियो।

यही उद्देश्यको फलस्वरूप हामीले त्रिभुवन विश्वविद्यालयको त्रिभुवन स्मृति भवनमा एउटा ठूलो कार्यक्रमको आयोजना गर्‍यौं। लामो छलफलपछि त्यो कार्यक्रम एकदम सफल भयो र वरिष्ठ अर्थविद् डा. बद्रीप्रसाद श्रेष्ठको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेर अन्ततः सन् १९८८ मा हालको नेपाल आर्थिक संघ स्थापना गरियो। एउटै छातामुनि ल्याउने सैद्धान्तिक मान्यतामा हामीले डा. पन्त, भेषबहादुर थापा र डा. बद्रीप्रसाद श्रेष्ठबाट ठूलो सहयोग पायौं। अहिले नेपाल आर्थिक संघ आफ्नै गोडामा उभिन सक्नुमा यिनै ऐतिहासिक पृष्ठभूमि महत्वपूर्ण रह्यो।

अन्त्यमा प्राध्यापक, योजनाकार, कूटनीतिज्ञ र राजनीतिज्ञ डा. पन्तको स्मरण गर्दै उहाँको आत्माले स्वर्गमा बास पाओस् भन्ने कामना गर्दछु।

लेखक
प्रा. विश्वम्भर प्याकुर्‍याल

श्रीलंका र माल्दिभ्सका लागि नेपालका पूर्व राजदूत रहेका प्रा. डा. विश्वम्भर प्याकुर्‍याल अर्थविद् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?