६ मंसिर, काठमाडौं । मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । निर्वाचन आयोगका अनुसार गत कात्तिक १६ गतेसम्म मतदाताको संखया एक करोड ८१ लाख, ६८ हजार २३० जना रहेको थियो ।
छुटेका मतदाताका लागि भनेर सरकारले अध्यादेश ल्यायो । अध्यादेश अनुसार ९ असोज देखि ५ मंसिरसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गरिएको थियो ।
थपिएको समयमा ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झण्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला ३ लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेका छन् ।
आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ ।
यो सँगै कुल मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार देशभरबाट संकलित मतदातामध्ये २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरुको नामावली यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ ।
नामावलीमा कुनै त्रुटि भए त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको मंसिर २१ देखि २७ गतेसम्म निवेदन, उजुरी वा सूचना दिन सकिनेछ ।
निर्वाचन आयोगकै वेबसाइट वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ ।
प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निवाएचन कार्यालयबाट छानबिन गरी पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेको भन्दै आयोगले विज्ञप्ति नै निकालेर भनेको छ, ‘संवत् २०८२ मंसिर २१ देखि २७ गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना वा उजुरी दिन सकिने व्यहोरा जानकारी गराइन्छ ।’
प्रतिक्रिया 4