News Summary
Generated by OK AI. Editorially reviewed.- आर्टुडियोले पाटनस्थित नकबाहिलमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृतिहरूको (अन)सिन नामक पपअप प्रदर्शनी सञ्चालन गरेको छ।
- क्युरेटर कैलाश के श्रेष्ठले (अन)सिन प्रदर्शनीले आर्टुडियोको समावेशिता र समुदाय केन्द्रित सिर्जना प्रस्तुत गरेको उल्लेख गर्नुभयो।
- (अन)सिन प्रदर्शनीले कलाकारहरूलाई अवसर, पहिचान र सृजनात्मक उन्नतिको अवसर दिने अपेक्षा राखिएको छ।
११ मंसिर, काठमाडौं । आर्टुडियोले (अन)सिन नामक पपअप प्रदर्शनी सञ्चालन गरेको छ । पाटनस्थित नकबाहिलमा प्रदर्शनी भएको हो । शुक्रबारदेखि सुरु भएको यस प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृति प्रस्तुत गरिएका छन् ।
आर्टुडियोका संस्थापक क्युरेटर कैलाश के श्रेष्ठले यो प्रदर्शनीले आर्टुडियोको समावेशिता र समुदाय केन्द्रित सिर्जना प्रस्तुत गरेको बताए ।
आकार फाउन्डेसनको सहकार्यमा आर्टुडियो र अटिज्म केयर नेपाल सोसाइटीमा सञ्चालन गरिएका कार्यशालाहरूको परिणामस्वरूप (अन)सिनको जन्म भएको हो ।
यहाँ प्रस्तुत भएका कलाकृतिहरू भरोसा, खोज–अनुसन्धान, धैर्य र सहज प्रयोग–अनुभवबाट सिर्जना भएका हुन् । प्रत्येक कलाकृतिले सहभागी कलाकारहरूको व्यक्तिगत संसारको झल्को दिन्छ जहाँ उनीहरूले देखेका मौलिक अनुभूति र दृष्टिकोणहरू रेखा, स्पर्श, रंग, अमूर्त आकार, लय र दृष्य संरचनाहरू मार्फत प्रस्तुत भएका छन् ।
(अन)सिन शीर्षकले कला, सिर्जना र भावनाहरू बुझ्ने क्षमतालाई इंगित गर्छ, जुन प्रायः परम्परागत कला वा सामाजिक संरचनाहरूभित्र छुटिरहेको हुन्छ । प्रदर्शनीले दर्शकहरूलाई सुस्तरी अवलोकन गर्न, संवेदनशीलतापूर्वक नियाल्न, भाषिक वा शैक्षिक सीमाभन्दा परका अभिव्यक्तिसँग भावनात्मक रूपले जोडिन सन्देश दिन्छ ।
‘अन(सिन) अटिजमसँग सम्बन्धित प्रदर्शनी होइन, यो त आफ्नै तरिकाले संसारलाई बुझ्ने र देखाउने कलाकारहरूको प्रदर्शनी हो’ क्युरेटर श्रेष्ठले भने, ‘उनीहरूको अभ्यासले कलालाई पहिचानको माध्यम र सम्भावनाको क्षेत्रका रूपमा उजागर गर्छ जहाँ बाहिरी नियमहरूले कुनै बाधा गर्दैनन् ।’
(अन)सिन अघिल्लो संस्करण सहभागी कलाकारहरूका लागि एक महत्त्वपूर्ण उपलब्धी बनेको थियो जहाँ ९ वटा कलाकृति बिक्री भएका थिए । यो अटिजम भएका ती कलाकारहरूको पहिलो आम्दानी थियो । (अन)सिनको यो संस्करणले सोही उपलब्धिलाई थप अगाडि बढाउँदै कलाकारहरूलाई अवसर, पहिचान र सृजनात्मक उन्नतिको अवसर दिने अपेक्षा छ ।
प्रतिक्रिया 4