News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले १ जनवरी २०२६ देखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ।
- पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा प्रणाली अनिवार्य लागु गरिनेछ भने दोस्रो चरणमा १ मार्च २०२६ देखि देशैभरि लागु गरिनेछ।
- अध्यागमन विभागले प्रणालीले विदेशीको बसोबास तथा गतिविधिको अभिलेख व्यवस्थित हुने र आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सहज हुने बताएको छ।
११ मंसिर, काठमाडौं । सरकारले १ जनवरी २०२६ (१७ पुस २०८२) देखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ ।
यसअघि १ असोजदेखि कार्यान्वयनमा ल्याउने घोषणा गरेको अध्यागमन विभागले मुलुकभित्र परिवर्तित घटनाक्रमका कारण १ जनवरीदेखि अनिवार्य गर्न लागेको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।
उनका अनुसार यस्तो प्रणाली दुई चरणमा अनिवार्य गर्न लागिएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा अनिवार्य लागु गरिने भएको छ ।
दोस्रो चरणमा भने १ मार्च २०२६ (१७ फागुन २०८२) देखि देशैभरिका तारे होटल, वायुसेवा कम्पनी, टुर एन्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागु गरिने भएको छ ।
यसैगरी सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागु गरिने विभागले जनाएको छ । विभागले विकास गरेको प्रणालीमा अनिवार्य आबद्ध हुने विदेशीलाई सेवा प्रदान गर्ने सबै सार्वजनिक एवं निजी कम्पनीलाई अनुरोध समेत गरिएको छ ।
अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशीको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली विकास गरेको जनाएको छ ।
यो प्रणाली कार्यान्वयन मार्फत नेपाल प्रवेश गर्ने विदेशीको बसोबास तथा गतिविधिको अभिलेख व्यवस्थित हुने भएको छ । यसले आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चितता गर्न सहज हुने विश्वास लिइएको छ ।
यसले सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायबीच सूचना आदान–प्रदानको प्रक्रिया प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने प्रवक्ता ढकालले बताए । विभागले आफ्नो वेबसाइटमा यो प्रणालीमा आबद्ध हुने तरिकाबारे समेत जानकारी गराएको छ ।
प्रतिक्रिया 4