+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
59/3 (9.6)
Shares

हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १२:३४

१२ मंसिर, हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले राष्ट्रिय राजमार्गको सार्वजनिक जग्गाभित्र बनेका दुई पेट्रोल पम्पलाई इन्धन नदिन नेपाल आयल निगमलाई पत्राचार गरेको छ ।

कार्यालयले हेटौंडा उपमहानगरपालिका–१०, स्थित बलरामदास पेट्रोल पम्प र ४ नम्बर वडाको ओम आयललाई त्याहाँबाट तत्काल स्थानान्तरण हुन र नेपाल आयल निगमलाई ती पम्पहरूमा इन्धन आपूर्ति नगर्न पत्राचार गरिएको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यालयले हेटौंडाको मुख्य बजार क्षेत्रका महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारको तयारी गरिरहेको छ ।

राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल, एलपी ग्यास फिलिंग स्टेशन स्थापना सम्बन्धी मापदण्ड–२०७८ अनुसार प्रक्रिया पूरा नगरेसम्म इन्धन आपूर्ति नगरी सडक सीमा संरक्षण कार्यमा समन्वय गरिदिन आयल निगमलाई गरिएको पत्राचार भनिएको छ । महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमाभित्र पर्ने अन्य पेट्रोल पम्पहरूको नक्शांकन भइरहेको र सार्वजनिक जग्गामा बनेको पाइए कारबाही अगाडि बढाइने डिभिजन प्रमुख अधिकारीले बताए ।

सडक डिभिजन हेटौंडाले त्रिभुवन राजपथको सडक सीमासँगै जोडिएको मकवानपुर उद्योग वाणिज्य संघलाई पनि संरचना हटाउन पत्राचार गरिसकेको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयलाई पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल बाहिरको र नगर क्षेत्रभित्र रहेका अन्य संरचना हटाउन पत्राचार गरिसकिएको डिभिजन प्रमुख अधिकारीले बताए ।

सडक डिभिजन कार्यालयको पत्राचारपछि हेटौंडा वितरण केन्द्र, नेपाल विद्युत प्राधिकरण हेटौंडाले सडक सीमाभित्र निर्मित संरचनामा रहेका विद्युतको मिटर बक्सलगायत विद्युतीय उपकरणहरूको व्यवस्थापन तथा स्थानान्तरण गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

सडक डिभिजन हेटौंडाले हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारका लागि स्थायी तथा अस्थायी संरचना हटाउन गत ५ मंसिरमै १५ दिनको अल्टिमेटम दिइसकेको छ । आगामी १९ मंसिरसम्म सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउने समयसीमा तोकिएको हो ।

रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) भित्र बनेका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरू हटाउन भनेको हो । २० मंसिरदेखि हेटौंडाको मुख्य बजार क्षेत्रभित्र पर्ने दुई राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको नेतृत्वमा गठित टास्क फोर्स टिमले बिहीबारदेखि रातोमाटे क्षेत्रबाट सडक सीमा क्षेत्रको नक्शांकन गरिरहेको छ । नक्शांकनको क्रममा स्थानीयबाट सामान्य केही अवरोधहरू भएको डिभिजन प्रमुख अधिकारीले बताए ।

टास्क फोर्स टिममा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण लगायत सम्बन्धित निकायका प्रतिनिधि सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?