+

एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

२०८२ मंसिर  २३ गते ६:५० २०८२ मंसिर २३ गते ६:५०
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेट २०२५ को प्लेअफ आजदेखि सुरु हुँदैछ जसमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स पहिलो क्‍वालिफायर खेल्नेछन्।
  • सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुगेको छ भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो र दुवै टोली विजेताले सिधै फाइनलमा स्थान बनाउनेछन्।
  • सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो टोलीको बलियो पक्ष र आगामी खेलमा सकारात्मक प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्।

२३ मंसिर, काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् ।

प्लेअफअन्तर्गत आज पहिलो क्‍वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।

गत संस्करणको उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको थियो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।

लिग चरणमा लगातार ६ खेल जितेर अन्तिम खेलमा पराजित भएको सुदूरपश्चिम अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रह्‍यो । विराटनगरले ५ खेल जितेर दोस्रो स्थानमा रह्‍यो ।

यी दुई टोली शनिबार मात्र लिग चरणको आ-आफ्नो अन्तिम खेलमा एकअर्कासँग भिडेका थिए । त्यस खेलमा विराटनगरले सुदूरपश्चिममाथि प्रभावशाली जित हासिल गरेको थियो ।

यस खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले अर्को एक मौका पाउनेछ । एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको विजेतासँग पराजित हुने टोलीले खेलेर फाइनल प्रवेश गर्ने मौका पाउने छन् ।

यस्तो छ प्रदर्शन

गत संस्करण पनि अंकतालिकामा सबैभन्दा शीर्षस्थानमा रहेर प्लेअफ खेलेको सुदूरपश्चिम रोयल्सले यस संस्करण पनि टेबल टपरका रूपमा प्लेअफ खेल्दै छ । सुदूरपश्चिमले सुरुवाती ६ खेलमा लगातार जित निकालेर शीर्षस्थानमै आसीन रहने पक्का गरेको थियो ।

लिग चरणको अन्तिम खेलमा भने सुदूर विराटनगर किङ्ससँग पराजित भयो । विराटनगर भने त्यही जितको मद्दतले दोस्रो स्थानमा फिनिस गरेर पहिलो क्‍वालिफायरमा स्थान बनाएको हो ।

अब पहिलो क्‍वालिफायरमा सुदूरले फेरि विराटनगरसँगै खेल्दै छ । विजेता टोलीले ३ दिनको आराम पाएर सिधै फाइनल खेल्नेछ । दुवै टोली जितको खोजीमा हुनेछन् ।

सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवम् अलराउन्डर दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरले अन्तिम खेल मात्र एकपक्षीय रूपमा गुमाउँदा बाँकी खेलमा प्रभावशाली प्रदर्शन गरेको छ।

प्रशिक्षक जगत टमाटाले ब्याटिङ बलिङ सबैमा टिमले राम्रो गरिरहेको बताएका छन् । ‘अहिले पनि हाम्रो बलियो पक्ष बलिङ देखिएको छ । हाम्रो ब्याटिङ र बलिङ दुवै बलियो छ जस्तो मलाई लागिरहेको छ’ उनले भनेका छन् ।

यस्तै राष्ट्रिय टोलीका अर्का महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पनि फाफ डुप्लेसी, मार्टिन गप्टिल, साम हिजलेट, मर्चेन्ट डे लाङजस्ता विदेशी खेलाडीको उपस्थितिले बलियो देखिएको छ ।

सुदूरका लागि लिग चरणमा खेलेका क्रिस लिन र जोश ब्राउन प्लेअफमा उपलब्ध हुने छैनन् । उनीहरूको स्थानमा भारतका शेल्डन ज्याकसन र पाकिस्तानी मूलका अमेरिकी क्रिकेटर मुख्तार अहमद भित्र्याइसकेको छ ।

यता विराटनगरका लागि भने डुप्लेसी, हिजलेट, गप्टिल र डे लाङ अन्तिमसम्मै उपलब्ध हुनेछन् । यसअघि शुभम रन्जाने भने लिग चरणकै बीचमा फर्किसकेका थिए भने जर्ज मन्से पनि फर्किएका छन् । शेहान जयसूर्यालाई पाँचौं खेलमा टोलीमा ल्याइएको भएपनि उनी सोही खेलमा चोटग्रस्त भएपछि खेलेका छैनन् । अन्य विदेशी खेलाडी विराटनगरले घोषणा गरेको छैन ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले सुदूरपश्चिमले धेरै राम्रो क्रिकेट खेलिरहेको बताउँदै अघिल्लो खेलबाट सकारात्मक पक्षहरू अर्को खेलमा पनि लिएर जाने बताएका थिए । ‘सुदूरपश्चिमले धेरै राम्रो ब्रान्ड अफ क्रिकेट खेलिरहेको छ, त्यसको क्रेडिट दीपेन्द्र (कप्तान)लाई पनि जान्छ’ सन्दीपले भने, ‘आजको दिनमा जसरी खेलेका छौं, सकारात्मक कुराहरूलाई अगाडिको खेलमा पनि लिएर जानेछौं।’

हेड टु हेड

एनपीएलको पहिलो र दोस्रो संस्करणमा गरेर यी दुई टोली २ पटक मात्र भिडेका छन् । पहिलो संस्करणमा सुदूरपश्चिमले एकपक्षीय जित निकालेको थियो भने दोस्रो संस्करणमा विराटनगरले सोही किसिमको नतिजा निकाल्यो ।

पहिलो संस्करणमा सुदूरपश्चिमले विराटनगरमाथि ९० रनको शानदार जित हासिल गरेको थियो । १८३ रनको लक्ष्य पछ्याएको विराटनगर ९२ रनमा अलआउट भएको थियो ।

यस संस्करण भने यी दुई टोलीले आ-आफ्नो अन्तिम खेलमा एकअर्काको सामना गरेका थिए । दुवै टोली प्लेअफमा पुगिसकेको अनि सुदूर पहिलो हुने पक्का भइसकेको अवस्थामा विराटनगरलाई भने ठूलो अन्तरको जित आवश्यक थियो ।

सुदूरले दिएको १४८ रनको लक्ष्य विराटनगरले १२ ओभरभित्रै पूरा गरेको थियो ।

प्रभाव पार्न सक्ने खेलाडीहरू

सुदूरपश्चिमका लागि टप अर्डरमा विनोद भण्डारीको भूमिका महत्वपूर्ण हुनेछ । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा प्रभाव पार्न सक्छन् । हर्मीत सिंहको बाँयाहाते स्पीन बलिङ घातक साबित हुन सक्छ ।

सुदूरपश्चिमका लागि विदेशी खेलाडीले मात्र नभएर नेपाली खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् । सर्वाधिक रन बनाउने र विकेट लिनेमा नेपाली खेलाडी नै अग्रस्थानमा छन् ।

सबैभन्दा धेरै रन विनोद भण्डारीले बनाएका छन् । उनले ७ खेलमा १ अर्धशतकसहित २०१ रन बनाएका छन् । सबैभन्दा धेरै विकेट अविनाश बोहराको नाममा छ । उनले ७ खेलमा १४ विकेट लिएका छन् ।

अब प्लेअफका लागि लिन र ब्राउन भने उपलब्ध छैनन् । उनीहरूको स्थानमा अमेरिकी ब्याटर मुख्तार अहमद र भारतीय ब्याटर शेल्डन ज्याकसन अनुबन्ध भइसकेका छन् । उनीहरूबाट पनि राम्रो प्रदर्शनको अपेक्षा रहनेछ ।

यता विराटनगरका लागि टप अर्डरमा फाफ डुप्लेसी, साम हिजलेट र मार्टिन गप्टिलको प्रदर्शन महत्वपूर्ण हुनेछ । मध्यक्रम ब्याटिङमा बसिर अहमद क्रुसियल बन्न सक्छन् ।

बलिङमा कप्तान सन्दीप लामिछानेले प्रभाव पार्न सक्छन् । ७ खेलमा १५ विकेट लिएका उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर समेत हुन् । पेस बलर मर्चेन्ट डे लाङले ८ विकेट लिएका छन् । उनीबाट अझै राम्रो प्रदर्शनको अपेक्षा रहनेछ ।

खेल : सुदूरपश्चिम रोयल्स भर्सेस् विराटनगर किङ्स (क्‍वालिफायर १)
समय : अपरान्ह ४ बजे (डे/नाइट खेल)
मौसम : सफा, बेलुका शीत आउन सक्ने

सम्भावित ११

सुदूरपश्चिम रोयल्स : विनोद भण्डारी, मुख्तार अहमद, शेल्डन ज्याकसन/पुनीत मेहरा, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हर्मीत सिंह, स्कट कुग्लेइन, अविनाश बोहरा, हेमन्त धामी/हिक्मत महरा, दिपक बोहरा

विराटनगर किङ्स : फाफ डुप्लेसी, साम हिजलेट, मार्टिन गप्टिल, बसिर अहमद, लोकेश बम, नारायण जोशी, नरेन भट्ट, मर्चेन्ट डे लाङ, सन्दीप लामिछाने, प्रतिश जीसी, सुवास भण्डारी

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय