News Summary
Generated by OK AI. Editorially reviewed.- उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग तत्काल एकता संवाद नगर्ने निर्णय गरेको छ।
- पार्टीले संगठन निर्माणमा ध्यान केन्द्रित गर्दै चुनाव केन्द्रित काममा बढी समय खर्च गर्ने जनाएको छ।
- रास्वपासँग एकता नहुने कारणमा सभापति र चुनाव चिन्हमा विवाद र शक्ति भागवण्डाको विषय रहेको बताइएको छ।
२३ मंसिर, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङको सक्रियतामा गठन भएको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरणका लागि हुने संवादको क्रमलाई तत्कालका लागि बिट मारेको छ ।
पार्टी गठन गर्नुअघि कुलमानले रास्वपाका शीर्ष तहका नेताहरूसँग संवाद गरेका थिए । रास्वपासँग सहमति जुट्न नसकेसँग कुलमान छुट्टै पार्टी गठनमा लागे ।
कुलमान संलग्न रहेको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पूर्वसचिव अनुप उपाध्याय अध्यक्ष रहेको उज्यालो पार्टीको ५१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । कुलमानलाई प्रमुख अतिथि बनाएर उज्यालो नेपाल पार्टीले १७ मंसिरमा घोषणा सभा राख्यो ।
छुट्टै दल गठन गरेर अघि बढेपनि रास्वपासँग एकताका लागि संवादलाई भने उज्यालो नेपालले जारी राखेको थियो ।
रास्वपासँग संवाद गर्नका लागि उज्यालो पार्टीबाट गणेश घिसिङले अगुवाई गरेका थिए । उनी कुलमानका दाजु हुन् । दुई पक्षीय संवादमा रास्वपाले एकपछि अर्को शर्त राखेपछि तत्काल एकता हुन नसक्ने निचोडमा पुगेको उज्यालो नेपालका नेताहरुले बताएका छन् ।
उज्यालो नेपालका नेताहरुका अनुसार केन्द्रीय समितिको बैठकले रास्वपासँग तत्काल एकताका लागि संवाद नगर्ने निर्णय गरेको छ ।
रास्वपासँग एकताका लागि संवाद गर्ने क्रमले पार्टी संगठन निर्माणमा असर पुगेको निष्कर्ष पनि उज्यालो नेपालले निकालेको छ ।
पार्टी सभापति, चुनाव चिन्ह लगायतमा उज्यालो नेपाल लचक भएको उक्त दलका नेताहरुको दाबी छ । उज्यालो नेपालका प्रवक्ता डा. राजु थापाले रास्वपासँग लचक भएर प्रस्तुत भएको तर एकता हुने आधार बन्न नसकेको अनलाइनखबरसँग बताए ।
एकताका लागि हुने संवादलाई पहिलो प्राथमिकतामा नराखेर अब संगठन निर्माण लाग्ने उनले बताए ।
‘रास्वपासँग एकता गर्नकै लागि भनेर अब धेरै शक्ति खर्च नगर्ने कुरा भएको छ,’ उज्यालो नेपालका प्रवक्ता थापाले भने,‘संगठन विस्तार र चुनाव कन्द्रित काममा अब बढी समय खर्च गर्छौं ।’
उज्यालो नेपाल पार्टी गठन हुनुअघि भएका संवादमा कुलमानले पार्टी सभापतिको दाबी गरेको विषयहरु बाहिर आएका थिए ।
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले उपसभापति पद सहित रास्वपामा आउन आग्रह गरेका थिए । रास्वपाको सभापति नै हुनुपर्ने शर्त कुलमानले राखेको हुँदा मिल्नका लागि सम्भव नभएको बताइएको थियो ।
अर्कोतर्फ, रास्वपाले अतिरञ्जित गरेर रास्वपाबाट विषयहरु बाहिर ल्याएको उज्यालो नेपालका नेताहरुको दाबी छ । उज्यालो नेपालका अर्का एक नेता भन्छन्, ‘रास्वपाबाट कुलमानको विषयमा अतिरञ्जित प्रचार पनि गरियो । सभापति हुनैपर्ने, दलको नाम, चुनाव चिन्ह परिवर्तन लगायतमा अनावश्यक प्रचारबाजी गरियो ।’
उज्यालो नेपाल पार्टीका बहुसंख्यक केन्द्रीय सदस्यहरु रास्वपासँग एकतालाई प्राथमिकतामा नराखेर संगठन निर्माणमा जोड दिनुपर्ने विचार राखेका नेताहरुले जानकारी गराएका छन् ।
संगठन निर्माणलाई तीव्रता दिनुपर्ने निष्कर्षमा पुगेसँगै नेताहरु पार्टी संरचना बनाउन सक्रिय भएका छन् ।
उज्यालो नेपाल पार्टीका प्रवक्ता डा.थापाले भने,‘संगठनलाई एकदम आक्रामक तरिकाले विस्तार गर्ने तरिकाले हामी काम गरिराखेका छौं । अहिले धेरै साथीहरु संगठन निर्माणका लागि फिल्डमा हुनुहुन्छ ।’
कुलमान नयाँ दल गठन गरेर अघि बढिसकेपछि पनि वैकल्पिक शक्तिहरुको एकतामा जोड दिँदै संवादहरु भएका थिए ।
रास्वपा, उज्यालो नेपाल पार्टी, काठमाडौंका मेयर बालेन शाह, जेनजी अगुवा सुदन गुरुङ लगायत मिल्नुपर्ने गरी संवादहरु भएका थिए ।
बालेन र कुलमानसँगै रास्वपासँग एकता संवाद गर्न नख्खु कारागार जान लागेको सुदन गुरुङले सार्वजनिक गरेका थिए । त्यसअघि कुलमानले काठमाडौं महानगरका मेयर शाहसँगको तस्वीर सार्वजनिक गरेर ‘देश बनाउने अभियानमा हामीसँगै छौँ’ लेखेका थिए । उज्यालो नेपालका नेताहरुको दाबी अनुसार बालेन रास्वपासँग भन्दा उज्यालो पार्टीप्रति नजिक छन् ।
दुई दल वीचमा कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने गरि छलफल भइरहेको थियो ।
उज्यालो नेपाल पार्टी गठनका लागि अगुवाई गरेका एक नेताले एकताका लागि वाधक सभापति रवि निकटकै व्यक्तिहरु भएको दाबी गरे । ‘कुलमान प्रधानमन्त्री हुने गरी आएपछि आफ्नो स्थान खोसिने डरले पनि एकता प्रक्रिया अघि बढ्न समस्या पर्यो ।’
ती नेताको दाबीअनुसार चुनावपछि हुने सरकार निर्माणको बेला शक्तिको भागवण्डाको विषयहरु अहिले नै टुंगो लगाउनुपर्ने शर्तले समेत एकतामा व्यवधान आएको हो ।
सभापति र चुनाव चिन्ह रास्वपाको स्वीकार गर्न उज्यालो नेपाल तयार भएको ती नेताले सुनाए । पार्टीको नाममा भने विकल्पहरु अघि सारिएको थियो ।
राष्ट्रिय उज्यालो पार्टी, उज्यालो स्वतन्त्र पार्टी वा राष्ट्रिय उज्यालो स्वतन्त्र पार्टी लगायतका विकल्प प्रस्ताव गरिएको थियो । उज्यालो नेपाल लचक हुँदा समेत रास्वपाले अल्मल्याउने गरेको उक्त पक्षको भनाई छ ।
एकता संवादलाई प्राथिकतामा राख्दा चुनावका लागि उम्मेदवार तय गर्ने विषय समेत ओझेल परेको निष्कर्षमा उज्यालो नेपाल पुगेको छ ।
उज्यालो नेपालका प्रवक्ता डा. थापा भन्छन्,‘धेरै समय गुज्रिइसक्यो । अब संगठनमा ध्यान राखेका छौं । संवादको ढोका बन्दै भने गरेका छैनौं ।’ उज्यालो नेपाल पार्टीका नेताहरुका अनुसार चुनावअघि एकता हुने सम्भवना करिब टुंगिएको र चुनावी गठबन्धनका बारेमा भने संवाद हुन सक्नेछ ।
पार्टीको सम्पूर्ण ध्यान संगठन निर्माणमा केन्द्रित गर्ने निर्क्यौलमा पुगेको उज्यालो नेपालले केन्द्रीय समिति ५१ सदस्यीय बनाएको छ ।
नेताहरुका अनुसार केही सदस्य थप्ने तयारी गरिएको छ । उक्त दलको विधान अनुसार ३०१ सदस्यीय केन्द्रीय समिति बनाउन सकिने व्यवस्था छ । यद्यपी, केन्द्रीय सदस्य थपेपनि पूर्णता भने नपाउने नेताहरुले जानकारी गराएका छन् । उज्यालो नेपालका एक केन्द्रीय सदस्य भन्छन्,‘केन्द्रीय सदस्य केही थप्ने योजना छन् । रास्वपामा छोडेर आउनेहरु पनि छन् ।’
प्रतिक्रिया 4