+
+
Shares

वैकल्पिक शक्ति र जेनजी जोड्ने रास्वपाको कसरत

वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउन प्रयत्नरत रास्वपाले शुक्रबार फरकफरक शक्तिलाई एउटै मञ्चमा राखेर विमर्श गर्‍यो । पार्टी एकता, भावी सहकार्यका लागि भइरहेका संवादलाई विस्तार गर्दै रास्वपाले वृहत् राजनीतिक संवादमार्फत् विचारहरू सुनेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ कात्तिक १४ गते २१:१९

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ र वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्ने उद्देश्यसहित फरकफरक दल र जेनजीहरूलाई एउटै मञ्चमा उभ्याएको छ ।

रास्वपाले गत चुनावमा नयाँ दल बनेर भाग लिएका, त्यसयता गठन भएका, निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश गरेका, जेनजी लगायतलाई भेला गरेर शुक्रबार काठमाडौंमा विमर्श गरेको हो ।

रास्वपाले उच्चस्तरीय संवादका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई संयोजक तोकेको छ । समाजका प्रभावी व्यक्तिहरूलाई रास्वपामा जोड्न निरन्तर संवाद गर्दै आएका उपसभापति वाग्लेले त्यसलाई विस्तार गर्दै सामूहिक भेला आयोजना गरेका थिए ।

विभिन्न दलमा आवद्ध र स्वतन्त्र व्यक्तिहरू सहभागी संवादमा नयाँ शक्तिहरू एकत्रित हुनुपर्ने विचार व्यक्त भए । भेलामा सहभागी कतिपयले स्वयं रास्वपामाथि पनि प्रश्न उठाए ।

वृहत् राजनीतिक संवादअन्तर्गत ‘जेनजी आन्दोलनका उपलब्धि अगाडिको बाटो र निकास’ विषयक अन्तर्क्रियामा कार्यक्रमका संयोजक डा. वाग्लेले जेनजी आन्दोलनको उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्ने विचार राख्दै विषय प्रवेश गरे ।

आन्दोलनका उपलब्धिलाई चिरस्थायी बनाउने र संविधानको सीमाभित्र रहेर सुधार गर्नुपर्ने उनले औंल्याए ।

वाग्लेले भने, ‘पछिल्लो आन्दोलनलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने छ । पहिले प्राप्त भएका उपलब्धिलाई पनि जोगाउनु छ । कहिलेकाहीँ आँधिबेहरीमा पुराना उपलब्धिलाई बढार्ने काम हुनसक्छ ।’

पुराना दलका नेताहरूलाई आमन्त्रण नगरिएको अन्तर्क्रियामा नेपाल समाजवादी पार्टीको मूल नेतृत्व छोडेका नेता डा. बाबुराम भट्टराईलाई बोलाइएको थियो । भट्टराईले वैकल्पिक सबै शक्तिहरू एकत्रित हुनुपर्ने विचार राखे । रास्वपालाई एक्लै नहिँड्न उनको सुझाव थियो ।

‘अलगअलग दल भएर चुनावमा जान पनि सकिन्छ । रास्वपालाई एक्लै चुनावमा जान सकिन्छ भन्ने पनि छ,’ भट्टराईले रास्वपालाई सुझाव दिए, ‘कांग्रेस र एमालेको जरा तलसम्म छ । त्यसैले नयाँ र वैकल्पिक शक्ति नमिल्ने हो भने उनीहरूलाई परास्त गर्न गाह्रो पर्न सक्छ ।’

नयाँ र वैकल्पिक शक्तिहरू एकता गरेर जाँदा एमाले र कांग्रेसलाई पराजित गर्न सकिने भट्टराईको निचोड थियो । उनले एकताका लागि गरिने पहलमा रास्वपालाई सहयोग गर्ने प्रतिवद्धता जनाए । कथंकदाचित निर्वाचन नभए देश डरलाग्दो अवस्थामा फस्ने उनको चिन्ता थियो ।

बिहीबार मात्रै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका रेशम चौधरी मुख्यगरी थारु आन्दोलनमा केन्द्रित भए । चुनावी सहकार्य गर्दा त्यस स्थानमा बलियो रहेको शक्तिलाई निर्वाचन क्षेत्र छोड्नुपर्ने रेशमको तर्क थियो ।

प्रस्तावित दल नागरिक उन्मुक्ति (नेपाल)का संरक्षक रेशमले आफू चुनाव उम्मेदवार हुन नपाए चुनावै नहुने चेतावनी दिए । चेतावनीसहित भने, ‘रेशम चौधरीले चुनावमा भाग लिन पाएन भने यो चुनाव हुँदैन ।’

प्राध्यापक निर्मलमणि अधिकारीले आधारभूत प्रश्नहरूको हल नगरी नेपालका समस्या समाधन नहुने विचार व्यक्त गरे । अधिकारीले भने, ‘यदि साँच्चै नयाँ काम गर्ने हो भने रास्वपाले समाजवाद भन्ने शब्दावली छोड्न सक्छ कि सक्दैन ? पहिलो चरण भनेको विचार मिल्नेहरू एक ठाउँ हुने हो ।’ रास्वपा वैचारिक रूपमा स्पष्ट हुन उनले सुझाव दिए ।

वैकल्पिक शक्तिहरू मिल्नुपर्नेमा जोड दिएको रास्वपा स्वयंलाई पनि प्रश्न उठेको थियो । नयाँ हुँदैमा वैकल्पिक नहुने विचार राख्दै जेनजी अगुवा युजन राजभण्डारीले रास्वपा भित्रको आन्तरिक लोकतन्त्रको कुरा उठाए । नयाँ शक्ति भन्ने तर चरित्र पुरानै भए कसरी नयाँ हुन्छ ? भन्ने राजभण्डारीको प्रश्न थियो ।

‘नयाँ हुँदैमा सबै वैकल्पिक हुँदैन । दुर्गा प्रसाईंले पनि आफूलाई नयाँ भन्नुभएको छ । उहाँ वैकल्पिक हो र ? नयाँ शक्ति भन्ने तर चरित्र पुरानै छ,’ राजभण्डारीले भने, ‘नयाँनयाँ भन्दै गर्दा नयाँ उज्ज्वल थापा हुने कि नयाँ दुर्गा प्रसाईं हुने ? हामी कुन बाटोमा लाग्ने ?’

मत प्राप्त गर्नका लागि मात्रै नयाँ र वैकल्पिक भन्न नहुने र चरित्र सुधार गर्नुपर्ने उनको तर्क थियो । जेनजी रास्वपामा जोडिएको अवस्थामा पार्टीभित्र आन्तरिक लोकतन्त्र कस्तो हुने भन्दै उनले प्रश्न तेर्साएका थिए ।

नेताहरू सामूहिकताभन्दा आफू केन्द्रित भएको भन्दै डा. रामजी रामले चिन्ता व्यक्त गरे । नेताहरूमा इगोको समस्या रहेको टिप्पणी गर्दै रामजी रामले कोही एक जनाले मात्रै देश बनाउन नसक्ने उनले बताए ।

उनले भने, ‘कुनै एक जना आउँछ भगवान जस्तै अनि उसले देश बनाइदिन्छ भन्ने लागेको हो ?’

रास्वपामा एकता हुनका लागि सभापति रवि लामिछानेलाई पदमा कायम राखेर वा नराखी त्यसमा पहिले स्पष्ट गराउनसमेत सहभागीले सुझाव दिए । कदाचित् प्रतिनिधिसभा पुनर्स्थापना भयो भने रास्वपा संसद्‌मा जाने कि नजाने ? त्यसमा स्पष्ट पार्नुपर्ने सहभागीले बताए ।

कार्यक्रममा नेतालाई भगवान बनाउने प्रवृत्तिको पनि विरोध गरिएको थियो । जेनजी आन्दोलन संस्थागत नभई यो पुस्ता चुनाव नजाने दाबीसमेत अन्तर्क्रियामा गरियो ।

जेनजी अगुवा पुरुषोत्तम यादवले पुराना पुस्तालाई चुनौतीका रूपमा नलिई सहकार्य गर्ने तर आन्दोलन संस्थागत नभई चुनावमा भाग नलिने बताए ।

जेनजी आन्दोलनका घाइते योगेन्द्र भण्डारीले आन्दोलन संस्थागत नभए चुनाव हुन नदिने बताए । भण्डारीले भने, ‘जेनजी आन्दोलन संस्थागत भएपछि मात्रै चुनाव हुनुपर्छ । नत्र चुनाव हुन हामी दिँदैनौं ।’

आन्दोलनका घाइतेलाई सरकारले उपलब्ध गराएको २० हजार रकम न्यून रहेको भन्दै उनले आक्रोश पोखे ।

साझा विवेकशीलका नेता प्रकाशचन्द्र परियारले जेनजी आन्दोलनलाई आर्थिक क्रान्तिको संज्ञा दिए ।

जनमत परित्याग गरेका डा. शरदसिंह यादवले जेनजी आन्दोलनमा मधेशको स्थान कहाँ छ ? भनी प्रश्न उठाए । जेनजी आन्दोलन व्यवस्थाका विरुद्ध नभएको र व्यवस्थापक विरुद्ध भएको उनले उल्लेख गरे ।

निर्वाचित कार्यकारीका बारेमा कतिपयले विषय उठाएको बताउँदै यादवले उक्त प्रणालीबाट देशमा निरंकुशताले स्थान पाउनेमा सचेत बनाए ।

जेनजी दलका लागि निर्वाचन आयोगमा निवेदन दिएका किरण विकेले केपी शर्मा ओली र शेरबहादुर देउवालाई दोष दिएर मात्रै उकुसमुकुस हट्न सक्छ ? भनी प्रश्न राखे । दलहरूभित्र लोकतान्त्रिक चरित्र नहुनुको कारणले पनि आन्दोलनलाई बल पुगेको उनले बताए ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?