२६ मंसिर, काठमाडौं । कला र संस्कृतिले भरिपूर्ण ललितपुरको ऐतिहासिक पाटन दरबार स्क्वायर एक फरक सन्देशले गुञ्जायमान भयो ।
परम्परागत नेवारी धिमे बाजाको तालमा आधुनिक चेतनाका नाराहरू मिसाउँदै लैङ्गिक हिंसा अन्त्यका लागि एक जीवन्त प्रदर्शन आयोजना गरियो ।
परिवर्तनको लागि सहकार्य नेपाल(क्यान) द्वारा आयोजित कार्यक्रम लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन समारोह थियो । जसले प्राचीन सम्पदालाई सामाजिक जागरणको मञ्चमा रूपान्तरण गर्यो ।
‘प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसाको अन्त्य गरौं’ भन्ने मूल नारा बोकेका सहभागीहरूले मल्लकालीन वास्तुकलाको पृष्ठभूमिमा र्याली प्रदर्शन गरे ।
उनीहरूका हातमा रहेका प्लेकार्डहरूले डिजिटल युगमा महिलाहरूले भोग्नुपरेका नयाँ चुनौतीहरूलाई उजागर गरेका थिए ।
दरबार क्षेत्रको ढुङ्गे पाटीमा प्रस्तुत गरिएको ‘हामी सक्छौँ’ नामक सडक नाटकले प्रविधिको दुरुपयोगबाट हुने हिंसाको पीडालाई मार्मिक रूपमा प्रस्तुत गर्दा उपस्थित दर्शकहरू भावुक बने ।
यो दृश्य सांस्कृतिक सम्पदा र आधुनिक सामाजिक मुद्दाबीचको एक शक्तिशाली संगम थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तनको लागि सहकार्य नेपाल(क्यान)की कार्यक्रम निर्देशक एवं संस्थापक अध्यक्ष इन्द्र घलेले पुर्खाहरूले जसरी अनुपम कलाकृति सिर्जना गरे वर्तमान पुस्ताले न्यायपूर्ण र मर्यादित समाज निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
उनले ऐतिहासिक थलोबाटै हिंसाको अन्त्यको प्रण गर्नुपर्ने बताउँदै डिजिटल हिंसाले पारेको मानसिक र सामाजिक असरको रोकथामका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याइन् ।
त्यसैगरी ललितपुर महानगरपालिका, महिला विभागकी प्रमुख सरिता महर्जनले पाटनजस्तो सांस्कृतिक नगरीबाट अभियान चलाइनुले सकारात्मक परिवर्तनको सन्देश विश्वभर फैलिने विश्वास व्यक्त गरिन् । राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष श्याम कुमारी सिहले घर र समाजको व्यवहारले नै हिंसाको जग बसाल्ने हुँदा परिवर्तनको सुरुवात आफैँबाट र आफ्नै घरबाट हुनुपर्ने धारणा राखिन् ।
कार्यक्रममा ‘मेरो शरीर मेरो अधिकार’ जस्ता चेतनामूलक गीत तथा नृत्यहरू पनि प्रस्तुत गरिएका थिए । जसले पाटनको ऐतिहासिक प्राङ्गणमा समानता र आत्मसम्मानको ऊर्जा थपेको सहभागी भएको सयौंको संख्यामा युवा, अधिकारकर्मी र स्थानीयवासी यो ऐतिहासिक स्थलमा केवल विगतको गौरव मात्र होइन, उज्ज्वल र न्यायपूर्ण भविष्यको संकल्प पनि देख्न सकिन्छ भन्ने सन्देश दिएका थिए ।
प्रतिक्रिया 4