२ पुस, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका पछिल्ला वर्ष ‘सफा, समृद्ध र आत्मनिर्भर भूमे’को लक्ष्यसहित शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन क्षेत्रको विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
विकासका आधारभूत कामहरु सम्पन्न हुने क्रमसँगै गाउँपालिकाले आत्मनिर्भर स्थानीय अर्थतन्त्र विकासको परिकल्पना गरेको छ । यसैका लागि गाउँपालिकाले वडानम्बर–१ स्थित लुगुम खोला–विक्याङ क्षेत्रमा जलविद्युत् परियोजनाको लागि सम्भावित क्षेत्रको प्रारम्भिक अध्ययन सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, वडाअध्यक्ष मनकाजी पुन, नेता जितमान पुन (मार्सल), पूर्ववडाध्यक्ष रामचन्द्र पुन, युवा नेता चन्द्र रसाइली, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष बालाराम शेर्पाली तथा स्थानीय बुद्धिजीवी र समाजसेवीसहितको टोलीले बुधबार सो क्षेत्रमा स्थलगत अवलोकन गरेको छ ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले संघीय र प्रादेशिक वित्तीय हस्तातरणहरुको भरमा मात्र होइन आफ्नै आत्मानिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताए । ‘हाम्रो गाउँपालिकासँग आफ्नो आन्तरिक स्रोतको प्रचुर सम्भावना छ । त्यसमध्ये ऊर्जा पनि एक बलियो स्रोत हो’, उनले भने ।
उनले गाउँपालिकाभित्रका ऊर्जा, पर्यटन र खानीका स्रोतहरुको उपयोगको रणनिती लिएर समृद्धिको दिशामा अघि बढ्ने बताए ।
यस्तै वडा अध्यक्ष मनकाजी पुनले यस्ता परियोजनाहरु विकास गर्न सकेमा युवालाई स्वदेशमा नै रोजगारीको अवसर दिएर स्थानीय अर्थतन्त्र चलायमान हुने बताए ।
नेता जितमान पुन (मार्सलले) ऊर्जा परियोजना विकास गर्न सकेमा समुदायको जीवनस्तरको विकासमा टेवा पुर्याउने मात्र नभएर सिगों गाउँपालिकाको आन्तरिक आयस्रोतमा दिगोपना ल्याउने बताए ।
लुगुम–विक्याङ क्षेत्रको जलविद्युत् सम्भाव्यता अध्ययनसँगै भूमे गाउँपालिकाले आत्मनिर्भर अर्थतन्त्र निर्माणको खोजी गरिरहेको छ ।
विकासका नियमित योजनासँगै ऊर्जा उत्पादन जस्ता रणनीतिक परियोजनाले भूमेलाई आर्थिक रूपमा सक्षम र भविष्यमा ऊर्जा निर्यात गर्न सक्षम क्षेत्र बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया 4