+
+
Shares

सरकारसँग रास्वपाले भन्यो- हामी तयार छौं, चुनाव फागुन २१ मै हुनुपर्छ

‘अहिले युवा पुस्ताले चासो पनि राखिरहेको, जेनजी उमेरसमूहका साथीले पनि २१ वा १८ उमेरका साथीहरूलाई संघीय निर्वाचनमा भाग लिन के गर्न सकिएला ? भन्ने कुरा राखिरहनुभएको छ । यसबारे पनि कुराकानी भयो,’ बैठकबारे जानकारी गराउँदै नेता सोविता गौतमले भनिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते २२:४६

६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाका नेताहरूले भेटवार्ता गरेका हुन् । सो क्रममा आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनबारे छलफल केन्द्रित रहेको सहभागी नेताहरूले बताएका छन् ।

बैठकपछि छलफलको जानकारी दिँदै रास्वपा नेता सोविता गौतमले पार्टी सभापति जिम्मेवारीमा फर्किएकोबारे औपचारिक जानकारी गराएको बताइन् ।

साथै, जेनजीसँग भएका सम्झौता कार्यान्वयनको विषयमा पनि छलफल भएको गौतमले बताइन् ।

‘यो बीचमा सरकारले म्यान्डेट पाएको विषय भनेको निर्वाचन छ । निर्वाचन गराउने सवालमा हामी धेरै पटक वार्तामा आयौं । तिनै चासोका विषयमा पुन: छलफल गर्‍यौं । भदौ २३ र २४ गतेका घटनाबारे धेरै कुराकानी भए,’ गौतमले भनिन् ।

साथै, प्रतिनिधिसभा निर्वाचनमा जेनजी युवाहरूको प्रतिनिधित्व गराउने विषयमा पनि छलफल भएको गौतमले बताइन् ।

‘अहिले युवा पुस्ताले चासो पनि राखिरहेको, जेनजी उमेरसमूहका साथीले पनि २१ वा १८ उमेरका साथीहरूलाई संघीय निर्वाचनमा भाग लिन के गर्न सकिएला ? भन्ने कुरा राखिरहनुभएको छ । यसबारे पनि कुराकानी भयो,’  उनले भनिन्, ‘निर्वाचन लक्षित हाम्रा तयारीबारे जानकारी गरायौं ।’

त्यस्तै पार्टी सभापतिलाई भएको राजनीतिक प्रतिशोध कुन हदसम्म भएको भन्नेबारे वर्तमान सरकारले प्रष्ट पार्नुपर्ने रास्वपाले बताएको थियो ।

छलफलमा सहभागी नेता शिशिर खनालका अनुसार, आफूहरूले ढुक्कसँग निर्वाचनका गतिविधि अघि बढाएको जानकारी सरकारसमक्ष गराइएको छ । ‘निर्वाचन हुन्छ भन्ने ढुक्क भएर हाम्रा गतिविधि अगाडि बढाएका छौं । सरकारको तयारीले फागुन २१ मा चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमा अलि बढी छलफल भयो,’ खनालले भने ।

त्यस्तै, सञ्चारमन्त्री समेत रहेका प्रवक्ता जगदीश खरेलले चुनावलाई स्वतन्त्र र धाँधलीरहित ढंगबाट अघि बढाउन आफूहरू तयार रहेको जानकारी रास्वपालाई गराइएको बताए ।

उनका अनुसार, रास्वपाका नेताहरूले पनि चुनावमा भाग लिने कुरामा स्पष्ट रहेको बताएका छन् ।

‘चुनावलाई कसरी स्वतन्त्र, धाँधलीरहित ढंगमा फागुन २१ मा नै गर्न सकिन्छ भन्नेबारे छलफल भयो । चुनाव फागुन २१ मै हुनुपर्छ । चुनावमा भाग लिने कुरामा स्पष्ट रुपमा भाग लिन्छौं भनेर भन्नुभएको छ,’ खरेलले भने ।

उनले वर्तमान सरकारले कसैलाई पनि अन्याय नगर्ने पनि बताए ।

‘यो सरकारले अन्याय गर्दैन र कसैलाई अन्याय हुन पनि दिँदैन । कानुनी राजको पक्षमा सरकार दृढ छ,’ खरेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?