८ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् ।
सरकारद्वारा गठित राजनीतिक वार्ता समितिको तर्फबाट कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेका उनले यस्तो बताएका हुन् ।
जेनजी जनआन्दोलनबाट बनेको सरकारलाई निर्वाचन गराउने आदेश रहेको र प्राप्त जनादेशअनुसार फागुन २१ मा निर्वाचन अनिवार्य रहेको उनले बताए ।
‘फागुन २१ मा चुनाव गर्नको लागि पटक पटक हामीले यहाँहरूसँग राजनीतिक वार्ता, भेटघाट, कुराकानी गरिसकेका छौं । सबै राजनीतिक दलहरूसँग कुराकानी गरिरहेका छौं । सरकारको तर्फबाट चुनावको वातावरण बनाउन र फागुन २१ गतेको चुनावलाई सुनिश्चित गराउन महत्त्वपूर्ण राजनीतिक दलहरूसँग छलफल गरिरहेका छौं,’ मन्त्री खरेलले भने ।
निर्वाचन समयमै सम्पन्न गर्न विभिन्न समयमा राजनीतिक दल र सर्वपक्षीय वार्ता गरिरहेको भन्दै राजनीतिक संवाद समितिले राजनीतिक दलहरूसँग छलफल अघि बढाउने पनि उनले बताए । राजनीतिक वार्ता, सहजीकरण गर्न तीन सदस्य सरकारी वार्ता टोली गठन भएको र आफूहरू वार्ता सहजीकरणका लागि एवं आन्दोलनका क्रममा भएको क्षतिबारे निरीक्षण गर्न आएको पनि उनले बताए ।
‘जेनजी जनआन्दोलन पछाडि हामीले जुन म्याण्डेट प्राप्त गरेका थियौं । फागुन २१ मा निर्वाचन गर्नुपर्नेछ । सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने अभियान यो सरकारलाई म्याण्डेट प्राप्त भएको छ,’ उनले भने ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले अहिलेको परिस्थितिमा कसरी निकास निकाल्ने भनेर राजनीतिक दलहरूले पनि सोच्ने बेला आएको पनि उनले बताए ।
निर्वाचनका लागि राजनीतिक दलले सरकारको तर्फबाट खोजेको सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4