८ पुस, काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ संशोधन गरिदिन आग्रह गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै कोषका सदस्य सचिव नरेश सुवेदीले यस्तो माग गरेका हुन् ।
संरक्षण क्षेत्र व्यवस्थापन नियमावलीले स्थानीय तह र प्रदेश सरकारलाई समेत नचिन्ने भएको कारण आवश्यक समन्वय र सहकार्य गर्न समस्या भइरहेको उनले बताए । उक्त नियमावली संशोधन भइसकेपछि राजश्व लगायत स्थानीय र प्रदेश सरकारसँग कोषको सम्बन्धको विषयमा समेत कुनै विवाद नहुने दाबी उनले गरे ।
‘फोहोर व्यवस्थापनको विषयमा हामीले स्थानीय सरकारसँग मिलेर काम गरिरहेका छौं । हामीले संयुक्त रुपमै काम गर्ने हो । काम उहाँहरूले नै गर्ने भएपनि हामीले आवश्यक सहयोग गर्दै आएका छौं । संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ ले स्थानीय सरकार र प्रदेश सरकार चिन्दो रैनछ । हामीले त्यो नियमावलीलाई संशोधन गर्नको लागि विगत तीन वर्षदेखि प्रयास गरिरहेका छौं । वन तथा वातावरण मन्त्रालयमा त्यसको मस्यौदा छ । त्यो नियमावली संशोधन गरिदियो भने स्थानीय तह, प्रदेश सरकार संघीय सरकारसँग कोषको सम्बन्ध, राजश्व लगायतका कुनैपनि विषयमा विवाद रहँदैन । हामी त्यसकै प्रतिक्षामा छौं ।’
मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासको अध्ययन र स्थानविशेष समाधान आवश्यक भएको भन्दै त्यसको लागि कोषले आवश्यक कार्य गरिरहेको उनको भनाइ छ ।
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनको लागि एउटै विधि सबै स्थानमा प्रभावकारी नहुने उल्लेख गर्दै स्थानीय आवश्यकताअनुसार फरक फरक विधि लागु गर्नुपर्ने धारणा समेत उनले राखे ।
‘मानव–वन्यजन्तु द्वन्द्व निराकरण गर्नको लागि सबैभन्दा राम्रो अभ्यास के हुनसक्छ ? अरु देशहरूले के गरिरहेको छ भन्ने कुरामा गम्भीर रुपमा लाग्नुपर्ने देखिएको छ । एउटा विधिले एक ठाउँमा त काम गर्ला तर सबै ठाउँमा एकै विधिले गर्दैन । त्यसको लागि केही स्पेसिफिक सोलुसनहरू छन् तर लामै समय चाहिन्छ । यसमा हाम्रो प्रयास भनेको उत्कृष्ट अभ्यासहरू के हुनसक्छ त्यसलाई स्वकेश गर्ने र त्यसको कार्यान्वयन गर्नको लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई समेत अनुरोध गर्ने तरिकाले हामीले काम गरिरहेका छौं,’ उनले भने ।
प्रतिक्रिया 4