News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ उम्मेदवार छनोटका लागि पुस १२ र १३ गते प्रारम्भिक मतदान गर्ने भएको छ।
- सहमहामन्त्री विपीकुमार आचार्यले मोबाइल एपमार्फत देशभरका सदस्यले मतदान गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो।
- उम्मेदवारले बिहीबार ब्लुप्रिन्ट र आकस्मिक शून्य समयको प्रस्तुति दिनुपर्ने र १४ पुसमा अन्तिम छनोट हुने कार्यतालिका बनाइएको छ।
९ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ उम्मेदवारका आकांक्षीहरूका लागि प्रारम्भिक मतदान पुस १२ र १३ गते हुने भएको छ ।
रास्वपाले समानुपातिकतर्फका उम्मेदवारको छनोट १४ पुसमा गर्ने कार्यतालिका बनाएको छ । ४ पुसमा सार्वजनिक गरिएको सूचीमा देशभरबाट ३५३ जना आवेदक थिए । सहमहामन्त्री विपीकुमार आचार्यले बुधबार साँझ प्रारम्भिक तर्फको अन्तिम सूची आउने जानकारी दिए ।
उम्मेदवार छनोटका लागि सहमहामन्त्री आचार्यको नेतृत्वमा विधि बनाइएको छ । त्यसअन्तर्गत रहेर बिहीबार आकांक्षी उम्मेदवारले ब्लुप्रिन्ट प्रस्तुत गर्ने कार्यतालिका राखिएको छ । आवेदकहरूले ‘आकस्मिक शून्य समय’ को प्रस्तुति पनि गर्नुपर्ने हुन्छ । समानुपातिक उम्मेदवारका लागि आवेदन दिएकाहरु काठमाडौँ आइसकेको सहमहामन्त्री आचार्यले जानकारी गराए ।
आगामी आइतबार र सोमबारका लागि देशभित्र र बाहिर रहेका रास्वपाका सदस्यहरूले आकांक्षीहरूलाई मोबाइल एपमार्फत मत दिन सक्ने व्यवस्था गरिएको छ । ‘संसारभर रहेका रास्वपा सदस्यले समानुपातिकतर्फ उम्मेदवार हुन चाहनेलाई मोबाइल एपमार्फत मत दिन सक्नेछन्,’ सहमहामन्त्री आचार्यले अनलाइनखबरसँग भने ।
पुस ५ गते सातै प्रदेशमा आकांक्षी उम्मेदवारसँग पार्टीका नेताहरूले छलफल गरेका थिए । आवेदन दिएको प्रदेश अनुसार त्यहाँ रहेका विभिन्न जिल्लामा दुईदिन सम्म घरदैलोमा आकांक्षीहरूलाई खटाइएको थियो ।
प्रतिक्रिया 4