News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको कमलामाई नगरपालिका–४ मा सुशीला घिसिङ बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
- हत्या घटनापछि स्थानीयले आरोपितको घरमा तोडफोड गरेपछि सिन्धुली प्रशासनले बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म कर्फ्यु आदेश जारी गरेको छ।
- कर्फ्यु आदेशमा पाँच जनाभन्दा बढी भेला हुन, सवारी आवागमन र भेलाजन्य कार्यहरू निषेध गरिएको छ भने प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ।
१० पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको शरीरमा पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन सिन्धुली प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
हत्यामा संलग्न रहेको आरोप लागेका व्यक्तिको घरमा स्थानीयले बिहीबार तोडफोड गरेपछि सुरक्षाकर्मी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिने प्रयास भएको थियो । तर, स्थिति नियन्त्रणमा आउन नसकेपछि कर्फ्यु आदेश जारी भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
‘बच्चाको कपडा लिनजाने क्रममा स्थानीयले किन मान्छे छिरे भनेर स्थानीयहरू घर तोडफोडमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन केही सेल अश्रुग्यास समेत प्रयोग गर्नुपर्यो,’ सुवेदीले भने ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार बेलुकी साढे आठ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कमलामाई नगरपालिकाको ४ र ६ नम्बर वडामा पर्ने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी आदेशमा कमलामाई नगरपालिका–४ को धुरा बजारमा भएको घटनालाई लिएर स्थानियवासीबाट ढुङ्गामुढा प्रहार तथा हुलदङ्गा लगायतका अवाञ्छित गतिविधि भएकाले कर्फ्यु आदेश जारी भएको उल्लेख छ ।
आदेशमा भनिएको छ, ‘उक्त अवधिमा सवारी आवागमन, भेला–जुलुस तथा पाँच जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ । कमलामाई नगरपालिका–४ भित्रको पूर्वमा: ग्वाङ खोला, पश्चिममा: मदन भण्डारी राजमार्ग, उत्तरमा: कुमल फाँट, दक्षिणमा: घुराबजार चोकभित्र सर्वसाधारण तथा अत्यावश्यक बाहेकको सवारीसाधनको आवाजावत, कुनै पनि किसिमको भेला जुलुस र भेलाजन्य कार्यहरू, पाँच ९५० जनाभन्दा बढी मानिस भेला हुन रोक लगाइएको छ ।’
गत आइतबार अपराह्न साढे चार बजेको समयमा धुराबजार बस्ने सुशीला बम्जनलाई भान्सा कोठाभित्र ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन)ले योजनाबद्ध रूपमा आगो लगाएर हत्या गरेको आरोप छ । आरोपी दुवै पक्राउ परिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार पक्राउ परेकी मीनाले सुशीलालाई पेट्रोल छर्की आगो लगाएको बयान दिएकी छन् । प्रहरीले दुवैविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मा मुद्दा दर्ता गरेको छ ।
पक्राउ परेका दुवैलाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सोमबार मृतकका आफन्त र स्थानीयवासीले दोषीलाई कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा धर्ना दिएका थिए ।
प्रतिक्रिया 4