News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल रग्बी संघको १३औँ वार्षिक साधारण सभामा १ करोड ३५ लाख रुपैंयाको बजेट पारित भएको छ।
- संघका अध्यक्ष दीपक देवकोटाले विदेशमा शाखा खोल्ने प्रस्ताव पेस गरेका थिए, जसलाई साधारण सभाले सर्वसम्मत पारित गर्यो।
- रग्बी संघले आगामी वर्ष विद्यालय तहको प्रतियोगितालाई प्राथमिकता दिने योजना प्रस्तुत गरेको छ।
१२ पुस, काठमाडौं । नेपाल रग्बी संघको १३औँ वार्षिक साधारण सभामा १ करोड ३५ लाख रुपैंयाको बजेट पारित भएको छ ।
शनिवार आयोजित साधारण सभामा संघका कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । साथै उनले अर्को वर्षका लागि प्रस्ताव गरेको अनुमानित बजेट पास भएको हो ।
सात प्रदेश, ५८ जिल्ला र ७ वटा राष्ट्रिय क्लब मध्ये अधिकांशको सहभागिता रहेको साधारण सभामा संघका अध्यक्ष दीपक देवकोटाले संघको दायरा बढाउँदै विदेशमा पनि शाखा खोल्ने प्रस्ताव पेस गरेका थिए । जसलाई साधारण सभाले सर्वसम्मत रूपमा पारित गर्यो ।
उनले भने, ‘समूहगत खेलमा नेपालमा रग्बीको भविष्य निकै राम्रो छ । हामी त्यही अनुरूप अभियान थालिरहेका छौँ । अन्तर्राष्ट्रिय प्रायोजक खोज्न सके र अन्तर्राष्ट्रिय रूपमा रहेका हाम्रा सहकर्मीहरूको साथले हामीले यो अभियानलाई अगाडि बढाउन सक्छौँ ।’
यस्तै संघका महासचिव गोविन्द घिमिरेले यस वर्षको कार्य प्रगति विवरण र आगामी वर्षको संघको योजना प्रस्तुत गरेका थिए ।
यस वर्ष रग्बीले बङ्गलादेशमा सम्पन्न रग्बी सिरिज जितेर इतिहास रचेको थियो भने दशरथ रंगशालामा १७ देशको सहभागितामा पुरुष तथा महिला एसिया रग्बीको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा महिला टोलीले उज्बेकिस्तानलाई पराजित गरेको थियो।
महासचिव घिमिरेले प्रस्तुत गरेको आगामी वर्ष २०२६ को भावी योजनामा भने विद्यालय तहको प्रतियोगितालाई प्राथमिकता दिएको छ ।
यसअघि साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले रग्बीको वर्ष २०२५ को उत्कृष्ट पुरुष खेलाडी नेपाली सेनाका नवीन बहादुर मगर र महिला तर्फको उत्कृष्ट खेलाडी नेपाली सेनाकै मनीषा घिसिङलाई पुरस्कृत गरेका थिए ।
त्यस्तै उनले राखेपमा भर्खरै सदस्य नियुक्त भएका रग्बी संघका सदस्य सन्त कुमार मेहता, अञ्जना श्रेष्ठ मास्के र मधेस प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य निशेष कुमार श्रेष्ठलाई सम्मान गरे ।
यस्तै एसिया रग्बीका उपाध्यक्ष तथा राखेपका निवर्तमान सदस्य सचिव टंकला घिसिङले रग्बीलाई व्यावसायिक बनाउन सबै पक्षले पहल गर्नुपर्ने बताए । उनले रग्बीको स्थायी खेल स्थल निर्माणमा जोड दिँदै यसमा पहल सुरु भइसकेकोले पुरा गर्नमा सबैले जोड दिनुपर्ने बताए ।
प्रतिक्रिया 4