News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले इराकमा लामो समयदेखि कार्यरत ३० हजार नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
- सरकारले इराकमा रहेका नेपालीलाई अभिलेखीकरणमा ल्याएर श्रम स्वीकृति दिने निर्णय १० पुसको मन्त्रिपरिषद् बैठकले गरेको थियो।
- इराकमा घरेलु कामदारका रूपमा बेचिएका नेपाली महिलाहरू श्रम शोषण र यौन हिंसामा परिरहेका छन् भने उद्धारका लागि अनुरोध गरिरहेका छन्।
१३ पुस, काठमाडौं । इराकमा लामो समयदेखि कार्यरत ३० हजार हाराहारी नेपालीले श्रम स्वीकृति पाउने भएका छन् ।
सरकारले वैदेशिक रोजगारीका लागि इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको थियो । योसँगै लामो समयदेखि इराकमा कार्यरत रहे पनि नेपालको अभिलेखीकरणमा समावेश नभएका उनीहरूलाई अभिलेखीकरणमा ल्याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जानकारी दिए ।
१० पुसमा बसेको मन्त्रिपरिषद् बैठकले इराकमा रहेका नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको थियो । यसका लागि श्रम मन्त्रालयले परराष्ट्र र कानुन मन्त्रालयको सहमति माग गरेको थियो । दुवै मन्त्रालयबाट सहमति प्रदान भएपछि निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो ।
दशकौंंदेखि इराकमा कार्यरत नेपाली श्रम स्वीकृति पाएका थिएनन् । उनीहरू नेपालको अभिलेखमा समेत समावेश थिएनन् । जसले गर्दा उनीहरू लामो समयदेखि नेपाल आउजाउ गर्नबाट वञ्चित थिए । इराकको आवासीय कार्य भएका उनीहरूले श्रम स्वीकृतिका कारण नेपाल आउन र नेपालबाट फर्किन पाउने अवस्था थिएन ।
मन्त्री भण्डारीले इराकमा वर्षौंदेखि काम गर्दै आएका नेपाली नेपाल सरकारको अभिलेखमा नभएको र अभिलेखीकरण गर्ने निर्णयसँगै राहत मिल्ने बताए ।
इराकको आवासीय कार्ड भएका नेपालीलाई नेपाल आएका बेला आवेदन दिए श्रम स्वीकृति दिने निर्णय गरिएको हो ।
१५ भदौ २०६१ मा इराकमा १२ नेपालीको हत्या भएपछि सुरक्षाको कारण देखाएर नेपाल सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो ।
सरकारले यसअघि पनि २०६७ सालमा इराकमा रहेको अमेरिकी सेनाको बेस क्याम्पमा काम गरिरहेका नेपाली कामदारलाई वैध हैसियत दिने निर्णय गरेको थियो ।
अमेरिकी सेनाको ‘कन्ट्र्याक्ट कमान्ड’ (सेन्टाम) ले नेपालीलाई वैधता नदिए नेपाल पठाउने भन्दै २० दिने अल्टिमेटम दिएको थियो । त्यसपछि सरकारले वैधता दिएको थियो ।
१२ नेपालीलाई नियन्त्रणमा लिएर हत्या गरिएपछि नेपालमा सडक प्रदर्शन भएको थियो । त्यसपछि नेपालीलाई इराकमा कामदारका रूपमा जान प्रतिबन्ध लगाइएको थियो । जुन आजसम्म पनि हटेको छैन ।
तै पनि नेपालीहरू अवैध बाटोबाट जाने गरेका छन् । नेपालबाट इराक जान प्रतिबन्ध भएपछि भारतीय मार्ग तथा दुबई हुँदै जाने नेपालीको संख्या ठूलो छ ।
पछिल्लो समय दलालहरूको फन्दामा परेर नेपाली महिला इराकमा बेचिने गरेका छन् । भिजिट भिसामार्फत दुबईसम्म पुग्ने र त्यहाँबाट इराक, ओमान लगायत देशमा घरेलु कामदारका रूपमा नेपाली महिला लैजाने गरिएको छ । यसअघि नै गएर काम गर्दै आएकाका हकमा मात्रै श्रम स्वीकृति प्रदान गर्ने निर्णय सरकारले गरेको हो ।
इराकमा नेपालीलाई काम गर्न जान प्रतिबन्ध भएका कारण नयाँलाई श्रम स्वीकृति प्रदान नगरिने मन्त्रालयले जनाएको छ । उतै लामो समयदेखि बसेकाहरूको हकमा मात्रै यो निर्णय भएको मन्त्री भण्डारीले बताए ।
अनुहार हेरेर बेचिन्छन् नेपाली महिला
विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गर्ने संस्था वैदेशिक रोजगार उद्धार नेपालका अनुसार इराक पुर्याइएका नेपाली महिला घरेलु काममा लगाइन्छन् । कामदार आपूर्ति गर्ने कम्पनीले नेपाली महिलालाई इराकी नागरिकका घरमा बिक्री गर्ने गरेको अध्यक्ष इन्द्रलाल गोलेले बताए ।
‘शरीर, अनुहार हेरेर महिलाको मोलमोलाइ गरिन्छ,’ उनले भने, ‘५ देखि ८ हजार अमेरिकी डलरसम्म उनीहरूलाई इराकीका घरमा कामदारका रूपमा बेचिन्छ ।’
त्यसरी घरेलु कामदारका रूपमा बेचिएका महिला भने सुरक्षित नभएको उनको भनाइ छ ।
‘घरेलु कामदारमा बेचिएका महिला श्रम शोषण र हिंसामा परिरहेका हुन्छन्। कतिपय महिला त यौन शोषणमा परेर बच्चा जन्माउने गरेका छन्, उद्धार गरिएका केही भने बच्चा बोकेर नेपाल आएका छन्,’ गोलेले भने ।
इराकमा घरेलु काम गर्नेहरूले कम्तीमा १५/१६ घण्टा काम गर्नुपर्छ । समस्यामा परेका महिलाको उद्धारका लागि दिनहुँजसो फोन आउने गरेको अध्यक्ष गोलेले बताए ।
उनका अनुसार हरेक दिन इराकमा समस्यामा परेका महिलाले उद्धारका लागि अनुरोध गर्दै आएका छन् । सोही अनुसार वैदेशिक रोजगार विभाग, इराकमा रहेका विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गर्दै आएको उनको भनाइ छ ।
प्रतिक्रिया 4