+
+
Shares

नियमित स्थगनपछि कांग्रेसमा विशेष महाधिवेशनको ढोका खुलेको हो ?

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि महामन्त्रीद्वय सहित विशेष महाधिवेशन पक्षधर समूह विशेष महाधिवेशनको तयारीमा जुटेको छ ।

केशव सावद केशव सावद
२०८२ पुष १७ गते २१:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५ औं महाधिवेशन स्थगित भएपछि विशेष महाधिवेशन पक्षधर समूहले १९ पुससम्म सभापति देउवाको निर्णय पर्खने र नआए महामन्त्रीहरूले आह्वान गर्ने तयारी गरेका छन्।
  • विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डप बुकिङ गरी विभिन्न समिति गठन गरी २७–२८ पुसमा विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन्।
  • संस्थापन पक्षले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाउने निर्णय गरेपछि सहमहामन्त्री यादवले महामन्त्रीहरूले आह्वान गर्ने भनेको आफ्नो गुटको कुरा भएको बताएका छन्।

१७ पुस, काठमाडौं । कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन हुन नसक्ने भएपछि स्थगन गरेका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि महामन्त्रीद्वय सहित विशेष महाधिवेशन पक्षधर समूह विशेष महाधिवेशनको तयारीमा जुटेको छ ।

विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन बोलाउनका लागि दुईवटा रणनीतिक विकल्पहरू अगाडि सारेको छ । उनीहरूले केन्द्रीय कार्यसमितिले नै विशेष आह्वान गर्ने विकल्पलाई पहिलो विकल्पका रूपमा राखेका छन् ।

केन्द्रीय कार्यसमिति आफैंले विशेष महाधिवेशन बोलाओस् भन्ने उनीहरूको अपेक्षा छ । यसका लागि सभापति शेरबहादुर देउवालाई आन्तरिक छलफल गर्न र निर्णय लिनका लागि केही समय दिनुपर्ने मान्यता विशेष पक्षधरको छ ।

सोहीअनुरुप, उनीहरूले १९ पुस बिहानसम्म देउवाको निर्णय पर्खिने र त्यसका लागि आवश्यक प्रयत्न गर्ने रणनीति बनाएका छन् । पहिलो विकल्पअनुसार विशेष नबोलाइए पार्टी केन्द्रका तर्फबाट महामन्त्रीहरूले विशेष महाधिवेशन आह्वान गर्ने विकल्पलाई विशेष पक्षधरले दोस्रो विकल्प बनाएका छन् ।

दोस्रो विकल्प कार्यान्वयन गर्नका लागि विशेष पक्षधर समूहले समानान्तर रूपमा तयारीहरू अघि बढाएको छ । तयारीअन्तर्गत उनीहरूले भृकुटीमण्डप बुकिङ गर्ने र विभिन्न समिति तथा उपसमितिहरू बनाउने कामहरू गरिरहेका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर १६ पुसका लागि तय गरिएको वडा अधिवेशन प्रभावित भएपछि विशेष महाधिवेशन पक्षधर समूह विशेष महाधिवेशनको तयारीमा जुटेको हो । विशेष महाधिवेशनका लागि उक्त समूहले बिहीबार भृकुटीमण्डप बुकिङ गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनका लागि आफूहरू विभिन्न समिति गठनको तयारीमा जुटेको बताए । ‘भृकुटी मण्डपको सभाहल खाली छ भन्ने कुराको रिपोर्ट लियौं । हल बुकिङ भए बराबर हो,’ उनले भने, ‘विशेष महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरू बनाउँछौं ।’

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले पनि विशेष महाधिवेशनको तयारीका लागि डकुमेन्टेसनको काम सुरू भएको जानकारी दिए । १६ पुसका लागि तोकिएको वडा अधिवेशन हुन नसकेपछि विधानतः विशेष महाधिवेशनमा जानुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

‘विशेष अधिवेशनलाई प्रतिस्थापन गर्ने भनेकै नियमित अधिवेशनले हो । ‘चारवटा कारण खुलाएर हामीले पार्टीमा निवेदन दिएका छौं,’ सुवेदीले भने, ‘त्यो चारवटा कारणको डकुमेन्टेसनको काम सुरू भएको छ । सुव्यवस्थित ढंगले हल बुकिङ गर्नेलगायतका प्राविधिक पाटोहरूमा हामी अगाडि बढ्छौं ।’

कांग्रेस नेता मनोजमणि आचार्यले १६ पुसमा गर्ने भनिएको नियमित अधिवेशन प्रारम्भ नभएपछि विशेष अधिवेशनको माग थप प्रभावकारी बनेर गएको प्रतिक्रिया दिए ।

‘१६ गते गर्ने भनिएको नियमित अधिवेशन प्रारम्भ नभएपछि अब विशेष अधिवेशन तिर गयो,’ उनले भने, ‘विशेष महाधिवेशनलाई प्रतिस्थापन गर्ने भनेकै नियमित अधिवेशनले हो । नियमित अधिवेशन नभएपछि विशेष अधिवेशन प्रभावकारी भइहाल्यो नि ।’

विशेष महाधिवेशन पक्षधर समूहले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ । केन्द्रीय सदस्य आचार्यले विशेष महाधिवेशन आह्वानका लागि शनिबारसम्म केन्द्रीय कार्यसमितिको प्रतीक्षामा आफूहरू रहेको बताए ।

उनले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रका तर्फबाट आह्वान गर्ने पनि बताए ।

‘पहिलो त केन्द्रले नै बोलाओस् भनेर आज र भोलिसम्म केन्द्रीय कार्यसमितिकै प्रतिक्षा गर्छौं,’ नेता आचार्यले भने, ‘केन्द्रीय कार्यसमितिले नगर्ने भो भने पार्टी केन्द्रका तर्फबाट महामन्त्रीहरूले आह्वान गर्नुहुन्छ ।’

आचार्यले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए १९ पुसमा महामन्त्रीद्वयले पार्टी केन्द्रका तर्फबाट विशेष महाधिवेशनको आह्वान गर्ने पनि खुलासा गरे ।

‘हामी पर्सी बिहानसम्म त्यसको प्रतिक्षा गर्छौं । तीन दिन १६, १९ र १८ गते उहाँहरू (संस्थापन पक्ष)लाई सोच्ने समय,’ उनले भने, ‘बोलाउनु भएन भने हामी पार्टी केन्द्रले महाधिवेशन बोलाउने हिसाबको तयारीमा रहन्छौं । महामन्त्रीहरूले बोलाउनुहुन्छ ।’

गण्डकी प्रदेशसभा सदस्य सुवेदीले पनि सभापति शेरबहादुर देउवा आफैंले विशेष महाधिवेशन नबोलाए पार्टी केन्द्रका तर्फबाट महामन्त्रीद्वय थापा र शर्माले आह्वान गर्ने बताए । तर, उनले महामन्त्रीहरूले विशेष महाधिवेशन आह्वान गर्ने मिति भने खुलाएनन् ।

‘सबैभन्दा पहिला श्रद्धेय सभापतिज्यूलाई नै विशेष अधिवेशन आह्वान गर्न अनुरोध गर्छौं । सकारात्मक निर्णय आउँछ भन्ने अपेक्षा छ,’ उनले भने, ‘त्यो नहुँदै गर्दा केन्द्रीय कार्यालयको तर्फबाट महामन्त्रीहरूले विशेष महाधिवेशन आह्वान गर्नुहुन्छ ।’

विशेष महाधिवेशनमा हस्ताक्षरकर्ताहरूमात्रै नभएर १४ औं महाधिवेशनका सबै प्रतिनिधिहरूलाई सहभागिताका लागि आह्वान गरिने केन्द्रीय सदस्य आचार्यको भनाइ छ ।

‘अब हामी सम्पूर्ण हिसाबले विशेष महाधिवेशनमा लाग्यौं । र यसमा क्लियर एकदम बुझ्न पर्ने कुरा हस्ताक्षरकर्ताहरुलाई मात्रै बोलाउँदैनौं कि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई नै बोलाउँछौं ।’

विशेष महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशन आह्वानको मिति २७–२८ पुसका लागि तय गरिने पनि जानकारी दिएका छन् । ‘पुस २७–२८ का लागि हामी विशेष महाधिवेशनको तयारी गर्छौं,’ सुवेदीले भने ।

उनले विशेष महाधिवेशनबारे थप प्रष्ट्याउन शुक्रबार हस्ताक्षर संकलन अभियानका अगुवा नेताहरूले पत्रकार सम्मेलनको तयारी गरेको पनि बताए । ‘हस्ताक्षरकर्ताहरूको तर्फबाट भोलि (शुक्रबार) हाम्रो पत्रकार सम्मेलन हुन्छ । हामीका देशभरका नेता–कार्यकर्ताहरूलाई आह्वान गर्छौं,’ सुवेदीले भने ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनको विषयमा दुई दिनभित्र टुंगो लाग्ने बताए । ‘अबको दुई दिनभित्र यसलाई कुन रुपमा गर्ने भन्ने टुंगो लगाउँछौँ’ उनले अनलाइनखबरसँग भने ।

नियमित महाधिवेशन नहुनु भनेको विशेष महाधिवेशनको ढोका ढकढकाउनु भएको शर्माको भनाइ छ । ‘नियमित महाधिवेशनको ढोका बन्द हुनु भनेको विशेषको ढोका ढकढकाउनु हो,’ उनले भने, ‘ विधानको धारा १७ को उपधारा २ बमोजिम यसको कामकारबाही अघि बढ्छ ।’

संसद् विघटन संविधानविपरीत भयो भन्ने कांग्रेसले आफ्नो अधिवेशन विधानबमोजिम नगर्नु पनि विधानविपरीत भएको महामन्त्री शर्माले बताए । अर्का महामन्त्री थापाले बिहीबार शर्मासँगै विशेष महाधिवेशन पक्षधर समूहसँग छलफल गरेका थिए ।

छलफलमा केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, तारामान गुरूङ, अब्दुल सतार, मधु आचार्य, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसहित विशेष महाधिवेशनका लागि देशव्यापी चलेको हस्ताक्षर संकलन अभियानका अगुवा नेताहरू सहभागी थिए ।

केन्द्रीय सदस्यहरू तारामान गुरूङ र अब्दुल सतारले संस्थापन पक्षमा रहेका २५ जना केन्द्रीय सदस्यहरूको छुट्टै समूहको प्रतिनिधित्व गरेर छलफलमा सहभागिता जनाएको नेता सुवेदीले बताए ।

संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यसमिति बैठक चलिरहँदा प्रतिनिधिसभा निर्वाचन अगावै नियमित महाधिवशेन हुनुपर्ने ‘लबिङ’ गरेका थिए ।

२९ असोजमा २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिएको थियो । कांग्रेसको विधानअनुसार माग गरिएको मितिले तीन महिना भित्र विशेष महाधिवेशन आह्वान गरिसक्नुपर्छ । उक्त अवधि २८ पुसबाट सकिन्छ ।

तर, संस्थापन पक्ष विशेष महाधिवेशन बोलाउने पक्षमा देखिँदैन । सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय कार्यसमितिले विशेष महाधिवशेन आह्वान नगर्ने प्रतिक्रिया दिए ।

‘केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन आह्वान गर्दैन,’ सहमहामन्त्री यादवले अनलाइनखबरसँग भने, ‘महामन्त्रीहरूले आह्वान गर्ने भनिएको आफ्नो गुटको होला । पार्टीले, केन्द्रीय कार्यसमितिले आह्वान नगरेपछि गुटकै हो नि त ।’

विशेष महाधिवेशन आह्वानका लागि महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवासँग आग्रह गरे पनि केन्द्रीय कार्यसमितिले विशेष नबोलाउने उनले जिकिर गरे ।

‘सभापतिले पनि केन्द्रीय कार्यसमितिले भन्यो भने न आह्वान गर्नुहुन्छ । यहाँ सभापतिजी र महामन्त्रीजीको कुरा छैन । यहाँ विधानको कुरा छ, केन्द्रीय कार्यसमितिको कुरा छ,’ सहमहामन्त्री यादवले भने ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?