News Summary
Generated by OK AI. Editorially reviewed.- निकोलाई चेर्निसेव्स्कीले सन् १८६३ मा लेखेको उपन्यास 'के गर्ने' ले रूसी समाजमा क्रान्तिकारी विचार र योजनाबद्ध समाज परिवर्तनको सन्देश दिएको छ।
- सन् २०८२ भदौ २३ मा नेपालमा भएको नवयुवाहरूको आन्दोलनमा नेतृत्व र स्पष्ट योजना नहुँदा आन्दोलन अपहरित भएको र सरकारी दमनले आगो झोसेको छ।
- नेपालमा युवाहरूको पलायन रोक्न, सुशासन स्थापना गर्न र भ्रष्टाचार नियन्त्रण गर्न स्पष्ट योजना र जिम्मेवार राजनीतिक दलको निर्माण आवश्यक छ।
महान् रूसी साहित्यकार निकोलाई चेर्निसेव्स्की (१८२८–१८८९) ले सन् १८६३ मा आफ्नो समयको ज्यादै चर्चित उपन्यास लेखेका थिए, जसको नाम थियो– ‘के गर्ने’ । निकोलाई चेर्निसेव्स्कीलाई ‘समाज भड्काएको’ आरोपमा पक्राउ गरेर शुरुमा सेन्ट पिटर्सवर्गको जेलमा राखियो र थप सजायका लागि साइबेरिया निर्वासित गरिएको थियो । जेल र निर्वासनका समयमा निकोलाई चेर्निसेव्स्कीले यो उपन्यास लेखेका थिए ।
यो उपन्यास अर्का रूसी साहित्यकार इभान तुर्गेनेभ (१८१८–१८८३) को सन् १८६२ मा प्रकाशित त्यतिकै चर्चित पुस्तक ‘बाबु र छोरा’ को जवाफमा लेखिएको थियो । ‘बाबु र छोरा’ उपन्यासमा शून्यवाद (निहिलिज्म)बाट प्रभावित विद्रोही नवयुवा अर्काडी क्रिसानोभ मूल पात्र रहेको छ । ऊ शुरुमा सबै परम्परागत मूल्यमान्यता भत्काउने ध्याउन्नमा लागेको हुन्छ तर कसरी गर्ने, कुन बाटो जाने भन्ने बारेमा ऊसँग कुनै योजनाबद्ध मार्गचित्र हुँदैन ।
परम्परागत सामन्ती विचार, मूल्य–मान्यता र निजी सुख–सुविधाको विरुद्धमा रहेको अर्काडी क्रिसानोभसँग कुनै सुसंगत विचार, एजेण्डा र योजना नभएकै कारण विस्तारै परम्परागत सामन्ती मूल्य–मान्यताका अगाडि आत्मसमर्पण गर्दै जान्छ र अन्त्यमा आफ्नो सामन्त पिता निकोलाई क्रिसानोभको जमिनदारी सम्हालेर बस्छ ।
परम्परागत सामन्ती समाजको दमनका विरुद्ध विद्रोही भावना बोकेका तर कता–कसरी जाने भन्ने मेलोमेसो नपाएका नवयुवाहरूलाई सही बाटो देखाउनुको साटो इभान तुर्गेनेवको उपन्यासले चरम निराशातिर लैजानुका साथै ‘जे छ त्यसैमा चित्त बुझाएर बस, बाबु–आमाले जोसँग विवाह गरिदिन्छन्, त्यसलाई मान, प्रेम विवाहको चक्करमा नपर’ भन्ने जस्ता सन्देश दिन्छ ।
तत्कालीन रूसी समाजमा जनस्तरबाट असंगठित भेलको रूपमा विभिन्न विद्रोही अभियान हुन्थे र छोटो समयमै तिनका नेता सामन्ती सत्ताका अगाडि लम्पसार पर्थे । त्यही सामाजिक परिवेशलाई इभान तुर्गेनेवले ‘बाबु र छोरा’ उपन्यासमा उतारेका थिए ।
सुरुआती समाजवादी विचारधारा (काल्पनिक समाजवाद)बाट प्रभावित बहुमुखी प्रतिभाका धनी महान् समाजवादी समीक्षक, पत्रकार तथा साहित्यकार निकोलाई चेर्निसेव्स्कीले इभान तुर्गेनेवको उपन्यासले सिर्जना गरेको आत्मसमर्पणवाद र निराशाका विरुद्ध क्रान्तिकारी उपन्यास लेखे । उनको उपन्यास ‘के गर्ने’ कि मूल पात्र वा नायिका भेरा पाव्लोनाले सामन्ती संस्कारबाट जकडिएको परिवारबाट विद्रोह गर्छिन्, आफूलाई मन नपरेको सामन्ती लफङ्गो फौजी केटोसँग आफ्ना तानाशाही चरित्रका आमा–बाबाले गरिदिन खोजेको बिहे अस्वीकार गर्छिन् र छोरी मान्छेले सास फेर्न मुश्किल जस्तै रहेको घर छोडेर हिंड्छिन् ।
उनले तत्कालीन समाजमा महिलाले चिकित्साशास्त्र पढेको नरुचाउने परम्पराका विरुद्ध विद्रोह गर्छिन् र डाक्टर बन्छिन्, समाजवादी विचारको प्रचार गर्छिन्, महिलाहरूलाई संगठित गरेर सहकारी कम्युन खोल्छिन्, सामन्ती पारिवारबाट विद्रोह गरेर घर छोडेका महिलाहरूलाई रोजगारको व्यवस्था गर्छिन् ।
भेराको महिला कम्युन विस्तारित हुँदै जान्छ । भेरा पाव्लोभ्नालाई आफूले शुरुमा रुचाएको युवक सेर्गेइ लुपकोफका कतिपय परम्परागत बानी–बेहोरा र निजी सुखलाई ध्यान दिने प्रवृत्ति मन पर्दैन । भेरालाई आफ्नो बानी मन पर्दैन भन्ने बुझेपछि सेर्गेइ लुपकोफले आत्महत्याको नाटक गर्छ र भेराबाट टाढिन्छ । त्यसपछि विचार पनि मिल्ने, बानी–बेहोरा पनि मिल्ने अलेक्ज्याण्डर क्रिसानोभसँग बिहे गर्छिन् ।
उता आत्महत्याको नाटक गरेर भागेको सेर्गेई लुपकोफ ठूलो उद्योगपति बनेर भेरा भएकै ठाउँमा फर्किन्छ, उसले नाम परिवर्तन गरेर चार्ल्स बिउमोन्ट राखेको हुन्छ । ऊ भेराकै विचारको अनुयायी बन्छ र भेराको कम्युनमा काम गर्ने एक जना महिलासँग बिहे गर्छ । सेर्गेई लुपकोफ वा नाम फेरेर बनेको चार्ल्स बिउमोन्टले भेराको विचार र व्यवहारलाई आत्मसात् गर्छ । यसरी उपन्यासले बाटो बिराएका युवाहरूलाई सच्चिएर समाज परिवर्तनमा लाग्ने प्रेरणा दिन्छ ।
निकोलाई चेर्निसेव्स्कीको उपन्यास ‘के गर्ने’ ले तत्कालीन रूसी समाजलाई दिएको सन्देश हो– ‘युवाहरू हो, गलत कुराका विरुद्ध निरर्थक विद्रोह नगर । गलत दिशामा गइरहेको समाजलाई बदल्न सुसंगत समाजवादी विचार चाहिन्छ, निश्चित एजेण्डामा आधारित योजनाबद्ध काम चाहिन्छ, समाजलाई कता लैजान खोजेको हो भन्ने विषयमा स्पष्टता चाहिन्छ । समाज बदल्न हिंडेका पुरानो पुस्ताका नेताले गल्ती गरेका छन् भने निराश नहोऊ, तिनलाई छोड र आफूले सही बाटो समात । दिमागलाई खुला राख, आफूले शुरुमा प्रेम गरेको प्रेमी वा प्रेमिका गलत बाटो छोड्न तयार छैन भने तिमी त्यसलाई पनि तुरुन्तै त्यागिदेऊ र आफूसँग विचार मिल्ने नयाँ साथी खोज । समाज बदल्ने क्रममा कसैले आफूलाई गलत तरिकाले प्रयोग त गरेको छैन भनेर पटक–पटक आफैंलाई परीक्षण गर ।’
वस्तुत: यस उपन्यासले आजका युवाहरूलाई पनि बाटो देखाउँछ । निकोलाई चेर्निसेव्स्कीको उपन्यासको प्रभाव यति धेरै थियो कि त्यो छापिएको चार दशकपछि भ्लादिमिर इल्यिच लेनिनले त्यही शीर्षकमा रूसी जनतालाई जुर्मुराएर उठ्न प्रेरित गर्ने रचना लेखे ।
लेनिनको रचना– ‘के गर्ने ?’
रूसी सामाजिक जनवादी पार्टीभित्र तीव्र वैचारिक मतभेद भइरहेको र क्रान्तिकारी आन्दोलनमा लागेका मानिसहरू दिग्भ्रमित भएको बेला सन् १९०१ मा लेनिन चार दशकअघि लेखिएको निकोलाई चेर्निसेव्स्कीको कालजयी उपन्यासबाट प्रभावित हुन्छन् र त्यही शीर्षकमा एउटा लामो लेख लेख्छन्– ‘के गर्ने ? हाम्रो आन्दोलनका जल्दाबल्दा समस्याहरू’ । सन् १९०२ मा पर्चाको रूपमा त्यो लेख प्रकाशित हुन्छ । यस लेखले तत्कालीन रूसमा कसरी समाजवादी आन्दोलन व्यवस्थित गर्ने भन्ने बाटो देखाएको छ । समय फरक थियो तर निकोलाई चेर्निसेव्स्कीले उपन्यास मार्फत देखाउन खोजेको बाटो सान्दर्भिक थियोे– ‘क्रान्तिकारी युवाहरू हो– के गर्न र कहाँ जान खोजेको हो भन्ने बारेमा स्पष्ट होऊ । आफ्नो गन्तव्यबारे स्पष्ट भएनौ भने तिमी, तिम्रो समूह र तिम्रो जोशलाई प्रतिक्रियावादीहरूले दुरुपयोग गर्नेछन् ।’
पुरानो उपन्यासको नामलाई जस्ताको तस्तै नयाँ राजनीतिक लेखको शीर्षक (पछि पुस्तकाकारमा प्रकाशित भयो) बनाएको र तत्कालीन समाजलाई अत्यधिक प्रभावित पारेको दृष्टान्त अन्यत्र देखिएको छैन । लेनिनको त्यस लेखले रूसी समाजवादी क्रान्तिकारीहरूलाई आफ्ना एजेण्डाबारे स्पष्ट हुन र तात्कालिकताको प्रभावमा हैन, योजनाबद्ध काममा अगाडि बढ्न प्रेरित गरेको थियो । लेनिनको त्यही पुस्तकले तयार गरेको सामाजिक प्रभावको जगमा रूसमा सन् १९०५ को पूँजीवादी क्रान्ति र सन् १९१७ को समाजवादी क्रान्ति सम्पन्न भएको थियो ।
अहिलेको नेपाली समाज र राजनीतिक दलहरू
देशमा व्याप्त कुशासन, बेरोजगारी, आम गरीबी, निरन्तर बढ्दो महँगी, व्यापक असुरक्षा, युवाहरूको विदेश पलायन, सरकारी साधन–स्रोतको दुरुपयोग, राजकीय निकायमा माथिदेखि तलसम्मै फैलिएको भ्रष्टाचारको जालो, सबैतिर बिचौलिया दलालहरूको कब्जा, अर्थतन्त्रको निजी क्षेत्रमा आम ऋणग्रस्तता, बचत तथा ऋण सहकारी क्षेत्र धराशायी भएको अवस्था, काम नगर्दा अख्तियारबाट सुरक्षित होइन्छ भन्ने कर्मचारीतन्त्रको अकर्मण्य मानसिकता जस्ता कारणले आम जनतामा व्यापक निराशा व्याप्त भएकै थियो ।
नेपाली कांग्रेस, एमाले र माओवादीका प्रमुख नेताले देशका जल्दाबल्दा समस्या उपर कुनै ध्यान नदिने, भ्रष्टाचारलाई संस्थागत गर्ने एवं पालैपालो सत्तामा पुग्ने र त्यसका लागि जस्तोसुकै गठबन्धन गर्ने र जतिखेर पनि गठबन्धन फेर्ने फोहोरी खेलमा लिप्त रहेका कारण आमजनतामा व्यापक निराशा व्याप्त थियो । त्यही निराशाको जगमा नवयुवाहरूका मन–मनमा उम्लिएको आक्रोशले २०८२ भदौ २३ को विद्रोह निम्त्याएको थियो ।

आन्दोलनको मूल लक्ष्य के हो, त्यसबाट समाजलाई कता लैजाने हो, कस्ता एजेण्डामा कस्तो संगठनले आन्दोलन अगाडि सार्ने हो, मूल नेतृत्व को हो, आन्दोलनमा हुने गतिविधिको जिम्मा कसले लिने हो जस्ता विषयमा कुनै मेलोमेसो नभएका युवाहरूको आन्दोलन अपहरित हुनु स्वाभाविक थियो । वस्तुत: अकर्मण्य र भ्रष्ट सत्ताका विरुद्धको नेपाली जनतामा रहेको बारुद जस्तै पड्किन तयार आक्रोशको भावनालाई प्रयोग गरेर विध्वंस मच्चाउन अन्तै, अर्कैले योजना पहिले नै बनाएको थियो । जनआक्रोशरूपी बारुदमा आगो झोस्ने काम २३ गते भएको सरकारी दमनले गर्यो । नवयुवा (जेनजी) हरूले भ्रष्टाचारका विरुद्ध जनप्रदर्शन गर्ने मात्रै कुरा अगाडि सारेका थिए । आन्दोलनको नेतृत्व, संगठन र त्यसको स्पष्ट योजना नभएकै कारण मौका ढुक्न सडकमा पठाइएका रहस्यमय तत्वले आन्दोलन कब्जा गरे । इतिहासदेखि वर्तमानसम्म विभिन्न देशका त्यस्ता सयकडौं उदाहरण छन् जहाँ एउटा भावनाले शुरु गरिएको योजनाविहीन आन्दोलन प्रतिक्रियावादी तत्वले कब्जा गरेका छन् र समाजलाई झनै पछाडि धकेलेका छन् ।
सामाजिक चेतनाको प्रतिनिधित्व बुद्धिजीवीहरूले गर्दछन् जसलाई आधुनिक युगमा सार्वजनिक सञ्चारमाध्यमले प्रकाशित गर्दछन् । नेपाली समाजको अहिलेको आम चेतनाको अवस्था ज्यादै अराजक र दिक्कलाग्दो छ । नेपाली जनताको धेरै ठूलो त्याग र सात दशक लामो संघर्षपछि समाजवादोन्मुख राज्य बनाउने संकल्प बोकेको संविधान तयार भयो । त्यसका निर्माणकर्ता प्रमुख राजनीतिक दलहरूका नेतृत्वले संविधानको समाजवादउन्मुख भावना अनुसार काम गरेनन् ।
अब यसको दोष त संविधानलाई दिन मिल्दैन तर सामाजिक सञ्जालमा लेख्ने कतिपय बुद्धिजीवीहरू संविधानलाई दोष दिइरहेका छन् । पुराना दलहरूका नेतृत्वले समाजको अग्रगामी परिवर्तनका लागि आफैंले लेखेका घोषणापत्रका एजेण्डा बिर्सेर दलालतन्त्रको कब्जामा परे भने नेतृत्वको दोष हो तर अहिले कतिपय मानिसहरू ‘एजेण्डा हुँदैमा पो के भयो र ?’ भनिरहेका छन् । पुरानाले भएका एजेण्डा बिर्सिए, नयाँ भनिएकाहरू सुस्पष्ट दृष्टिकोण र त्यसअनुसारको मार्गचित्र (एजेण्डा) विना हिंडिरहेका छन् । पुराना दलको नेतृत्वप्रति यति धेरै वितृष्णा छ कि नयाँ भनिएका दलहरूलाई आँखा चिम्लिएर समर्थन गर्नेहरूको कमी छैन । हुँदाहुँदा बाहिर देखिएको सामाजिक चेतनाले ‘पुराना ठग मूर्दावाद, नयाँ ठग जिन्दावाद !’ भनिरहेको छ र यस्तो भनाइ–लेखाइ कतिपय स्थापित बुद्धिजीवीहरूबाटै बाहिर आएको छ । नवयुवा (जेनजी) आन्दोलनको कुनै सुस्पष्ट दिशाबोध थिएन, स्वाभाविक थियो– उनीहरू हराए । जेनजीको नाममा उदाएका केही नयाँ अनुहारहरू चार वर्षदेखि परीक्षण भइरहेका नयाँ भनिएका दलमा विलीन भए । जो नयाँ भनिएका दल छन्, ती पनि अकस्मात् आएका नयाँ छैनन्, तिनको गति–मति चार वर्षदेखि देखिएकै छ ।
बाहिर देखिएको सामाजिक चेतना कतिसम्म उल्टो दिशामा छ भने यसले तत्कालीन सरकारले गरेको भदौ २३ को नरसंहार देख्छ तर यसले २४ गते भएको देश खरानी बनाउने योजनाबद्ध षडयन्त्रका बारेमा सुन्न पनि चाहँदैन ।

पुराना दलहरूको नालायकीको जगमा भएको जेनजीको आन्दोलन, त्यसमा भएको सरकारी नरसंहार र देशलाई दशकौं पछाडि पार्ने भूराजनीतिक षडयन्त्र सबै विषयमा मसिनो समीक्षा हुनुपर्दछ भन्ने जायज विषय पनि सतहमा देखिएका कतिपय चर्चित मानिसका दिमागमा घुस्न सक्दैन ।
पुराना दलहरू पुरानै तरिकाले पश्चगमनमा छन् । उनीहरू जनतालाई पटक–पटक पुरानै तरिकाले झुक्याउन सकिन्छ भन्ने भ्रममा छन् । नयाँ भनिएकाहरू जनताको आक्रोशलाई भजाए पुगिहाल्छ, नेपाली समाजका आधारभूत समस्या समाधान गर्ने कुनै योजना चाहिन्न, खालि पपुलिस्ट कुरा गरे पुग्छ भन्ने बुझाइमा छन् ।
अर्कोतिर पुराना दलहरूका दुईथरी स्वरुप छन्– नेपाली कांग्रेस र एमाले नेतृत्वको व्याख्या अनुसार उनीहरू अति राम्रा काम गरिरहेका थिए, देश धमाधम बन्दैथियो, जताततै सुशासन थियो, भ्रष्टाचारलाई शून्यमा झारिएको थियो । उनीहरूका अनुसार देशमा रोजगारी विस्तार हुँदैथियो, सबैतिर राम्रो थियो, युवा पलायन भए भन्ने झुटो हो, सरकारले यति राम्रो काम गरेको थियो कि विदेशिएकाहरू धमाधम फर्किएका थिए, सरकारले नरसंहार गरेकै होइन, सबै विदेशी षड्यन्त्रबाट भएको हो भन्ने व्याख्या गरिरहेका छन् ।
यिनीहरूलाई आफ्नो अपराध थाहा छ, तर यिनीहरू आफ्नै मनलाई ढाँटेर बोलिरहेका छन् । पुरानो मध्येको पूर्व माओवादी र अहिले बाहिरी आवरण फेरेर बनेको नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वले जेनजी आन्दोलनको खुलेर समर्थन गरेको थियो । उसको व्याख्या अनुसार देउवा र के.पी. ओली नेतृत्वका विगतका सरकार मात्रै भ्रष्ट थिए, आफ्नो नेतृत्वको सरकार भने दूधले धोए जस्तै अति सफासुग्घर थियो ।
पूर्व माओवादी नेतृत्वलाई भ्रम थियो– के.पी. ओली नेतृत्वको सरकार ढलिहाल्यो भने आफ्नो नेतृत्वमा सरकार बन्ने छ । आफैंले समर्थन गरेको र आफ्ना कार्यकर्तालाई समेत खटाएको आन्दोलनका कारण आफ्नो पनि घर खरानी भएको विषयको समीक्षा बाहिरी रूप फेरेर नेकपा बनेको माओवादी नेतृत्वले गरेको छैन र संभवत: आगामी आमनिर्वाचनपछि मात्रै यस विषयमा उसले मुख खोल्नेछ । उपर्युक्त गञ्जागोलको अवस्थामा प्रश्न उठ्छ– के गर्ने ? कहाँबाट शुरु गर्ने ?
नेपालमा अहिले के गर्ने ?
सबैभन्दा पहिले राष्ट्र निर्माणका बारेमा सुस्पष्ट विचार, सिद्धान्त र दृष्टिकोण सहित उपयुक्त योजना एवं सोही बमोजिमको संगठनात्मक सिद्धान्त र प्रणाली भएको राजनीतिक पार्टीको निर्माण आवश्यक छ । यी सबैको अभावमा खोलामा आएको बर्खे बाढी जस्तै एक्कासी उठेको आन्दोलनले ल्याउने विध्वंस र पश्चगमन नै हो । बर्खे भेल जस्तै विना योजनाका आन्दोलनबाट उत्पन्न परिस्थिति सम्हाल्न सकिएन भने परिवर्तनका नाममा हुने पश्चगमन पुरानो सत्ताभन्दा कैयौं गुणा बढी दमनकारी हुन्छ । यस्ता विषयको ताजा उदाहरण युक्रेन नै हो । परिवर्तनका नाममा राष्ट्रको अस्तित्व नै समाप्त भएका तमाम उदाहरण छन्– युगोस्लाभिया र चेकोस्लोभाकियाको नाम धेरैले बिर्सन थालिसके । यसैले परिवर्तनका नाममा के भइरहेको छ भनेर सबैभन्दा पहिले गम्भीर हुनै पर्दछ ।
आज देशका जल्दाबल्दा मुद्दाहरू हुन्– देशै खाली हुने गरी भइरहेको युवा पलायन कसरी रोक्ने । विदेशिएको जनशक्ति कसरी फर्काउने । सुशासन कसरी स्थापित गर्ने । न्याय प्रणालीलाई कसरी सुधार्ने । गरिबी र बेरोजगारी कसरी हटाउने । देशमा भएका साधन–स्रोतको समुचित प्रयोग कसरी गर्ने । कस्ता योजनामा बजेट केन्द्रित गर्ने जसबाट रोजगारीको व्यापक विस्तार गर्न सकियोस् । तत्कालका लागि कस्ता योजना खारेज नै गर्ने । सरकारी बजेटको दुरुपयोग कसरी रोक्ने । सरकारी लगानीका सार्वजनिक संस्थाहरूको प्रभावकारिता कसरी बढाउने । निजी क्षेत्रको धराशायी भएको मनोबल कसरी उठाउने । वैदेशिक लगानीलाई सुरक्षाको प्रत्याभूति सहित कसरी सहज रूपमा आकर्षित गर्ने तथा त्यसलाई देशको वास्तविक आवश्यकता अनुसार लगानीमा प्रेरित गर्ने । कस्ता उत्पादनमा जोड दिने जसबाट अन्तर्राष्ट्रिय व्यापारमा तुलनात्मक लाभको सिद्धान्त अनुसार हाम्रा उद्योगहरूले प्रतिस्पर्धा गर्न सकुन् ।
कर्मचारीतन्त्रलाई द्रुत गतिमा काम गर्ने कसरी बनाउने । सुरक्षा निकाय र खासगरी प्रहरी संगठनको मनोबल कसरी उठाउने । राष्ट्रिय उद्योग व्यवसायको संरक्षण कसरी गर्ने । कृषि क्षेत्रलाई कसरी संरक्षित गरी उठाउने । श्रमिकलाई राम्रोसँग बाँच्न पाउने ज्याला कसरी उपलब्ध गराउने । पैसाको अभावमा उपचार नपाएर आमनागरिक मर्ने अवस्थाको अन्त्य कसरी गर्ने । सार्वजनिक शिक्षाको क्षमता, गुणस्तर र परिणाम कसरी प्रभावकारी र रोजगारमूलक बनाउने । कस्तो आर्थिक नीति अपनाउने । स्वतन्त्र बजारको नाममा बजारलाई छाडा छोड्ने कि सरकारले खुला बजारलाई सही बाटोमा हिंडाउने । दलालतन्त्रको पञ्जाबाट देशको राजनीतिलाई कसरी मुक्त गर्ने । अन्तर्राष्ट्रिय मामिलामा नेपालको असंलग्न नीतिलाई कसरी प्रभावकारी बनाउने । वैदेशिक हस्तक्षेप कसरी रोक्ने । देशको मौलिक संस्कृतिमाथि भइरहेको अतिक्रमण कसरी रोक्ने । समग्रमा भन्दा देशको राजनीति कसरी सुधार्ने र विकासको सही बाटोमा देशलाई कसरी अगाडि बढाउने भन्ने मुद्दाहरू अहिले देशका जल्दाबल्दा समस्या हुन् ।
यी विषयमा पुराना दलसँग कुनै योजना र प्रतिबद्धता छैन । तिनले पटक–पटक बनाएका योजना र विनियोजन गरिएको बजेट हेरिएकै हो, भ्रष्टाचार र अनैतिक काम गर्नेलाई पुरस्कृत गरिएको देखिएकै हो । महाकाली सन्धि र एमसीसी जस्ता राष्ट्रघाती सम्झौतामा घुँडा टेकेको पनि देखिएकै हो, दलभित्रको विवाद मिलाउनतिर नलागेर संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले आफ्नै दुईतिहाइको संसद् विघटन गरेको पनि भोगिएकै हो । पुराना दलले यी विषयहरूमा गम्भीर समीक्षा गर्ने, विगतका गल्तीमा खुलस्त आत्मालोचना गर्ने अवस्था देखिन्न । त्यहाँभित्रका क्रान्तिकारीहरूले बौद्धिक दासताको साङ्लो नचुँडालेसम्म पुराना दल सुध्रिंदैनन् ।
उपर्युक्त विषयमा स्पष्टता नभएका नयाँ नामका दल ‘जता भत्क्यो, त्यतै दैलो’ वाला हुन् । पुराना दलको नेतृत्वले बाटो बिराए भनेर गाली गरेका भरमा बनेका नयाँ दल पुराना भन्दा पनि गैरजिम्मेवार देखिएका छन् । यस कुराको एउटै बलियो प्रमाण हो, जेनजी आन्दोलनको समर्थन गर्ने, त्यसमा घुसपैठ भयो पनि भन्ने तर देश जलाएर विध्वंस गर्नेहरूलाई कारबाही गर्न नदिने, जेल तोडेर निस्कने र त्यसलाई जायज ठहर्याउने कुतर्क गर्ने, कानून र व्यवस्थाको धज्जी उडाउने र सुशासनका कुरा गर्ने । यहाँसम्म कि देशका महत्वपूर्ण सम्पदा ध्वस्त पारिएका विषयमा दु:ख व्यक्त समेत नगर्ने ।
कहाँबाट शुरु गर्ने ?
देशका जल्दाबल्दा समस्या समाधानमा स्पष्ट विचार, सिद्धान्त, दृष्टिकोण र योजना भएको; विगतको निर्मम समीक्षा गर्ने, राजनीतिमा विकृति भित्रिन नदिने, आन्तरिक लोकतन्त्रको पूर्ण प्रत्याभूति गर्ने संगठनात्मक ढाँचा भएको राजनीतिक पार्टी निर्माण गर्नु पहिलो पाइलो हो । यस्तो राजनीतिक दलले दुईवटा अभियान एकैसाथ सञ्चालन गर्नुपर्दछ– आफ्ना स्पष्ट एजेण्डा लिएर जनतामा जाने र त्यस अभियान मार्फत पुराना र नयाँ भनिएका दललाई राष्ट्र निर्माणका एजेण्डामा केन्द्रित हुन दबाब दिने ।
समयमै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा समयमै आमनिर्वाचन गराउन दबाब दिने, चुनाव पछि बन्ने सरकारले लागू गर्नुपर्ने देश विकासका योजना घोषणापत्रमा स्पष्ट रूपमा अगाडि सार्ने र त्यस्ता योजना लागू गर्न देशका नयाँ–पुराना सबै दललाई जनदबाब मार्फत बाध्य पार्ने दल तत्कालका लागि आकारमा सानै भए पनि भविष्यको नेतृत्व त्यस्तै दलले गर्नेछ ।
अब आउने सरकारको नीति तथा कार्यक्रम र बजेटको एक नम्बर बुँदामा युवा पलायन रोक्ने स्पष्ट प्रतिबद्धता चाहिन्छ । ‘संसारैभरि बसाइँसराइ छ, यो रोकेर रोकिन्न’ भन्ने कुतर्क गर्ने दल र तिनका नेतालाई जनताले किनारा लगाइदिनुपर्दछ । युवा पलायन रोक्नका लागि बजेटको अधिकांश हिस्सा रोजगारी विस्तारमा केन्द्रित हुनुपर्दछ । यसका लागि पहिलो काम कृषि क्षेत्रको संरक्षण र उत्पादन बिक्रीको ग्यारेन्टी हुने व्यवस्था हुनुपर्दछ । कृषि यस्तो क्षेत्र हो जसले उत्पादन बिक्रीको ग्यारेण्टी हुने हो भने तत्काल रोजगारी दिन सक्छ ।
निरन्तर रोजगारी नदिने खर्चिला भौतिक संरचनाका योजनाबाट बजेट कटौती गरी अधिकतम बजेट कृषि, उद्योग, पर्यटन, सिंचाइ र विद्युत् तथा दक्ष जनशक्ति उत्पादनमा लगाउनुपर्दछ । बजेट विनियोजनका हिसाबले सबैभन्दा आकर्षक मानिनेमा प्राथमिकताक्रमको रूपमा कृषि, उद्योग, पर्यटन, ऊर्जा तथा जलस्रोत, शिक्षा र स्वास्थ्य मन्त्रालय हुनुपर्दछ । अब फेरि नयाँ तरिकाले विश्वमा संरक्षणवाद शुरु भयो । यसैले आफ्नो देशका उद्योग–व्यवसायलाई कडा वैदेशिक प्रतिस्पर्धाबाट जोगाएर संरक्षण गर्ने नीति लागू गर्न सकिन्छ ।
विश्व व्यापार संगठनको हालीमुहाली चल्दा पनि राष्ट्रिय उद्योग संरक्षण गर्ने उपाय छन् । आगामी केही वर्षका लागि भएका सडक र पुलको मर्मतसम्भार गर्ने, अधुरा योजना पूरा गर्ने तर नयाँ योजना थप नगर्ने गरी बजेट व्यवस्थापन गर्न सकिन्छ । सरकारी लगानीका संस्थालाई बलियो बनाउने र निजीलाई निर्वाध रूपमा काम गर्न दिने उद्योग–व्यवसायमैत्री कानून, सहकारी क्षेत्रलाई उकास्ने योजना, लगानीकर्ताको स्वघोषणाका आधारमा उत्पादनमूलक क्षेत्रमा सहजतापूर्वक वैदेशिक लगानी आकर्षित गर्ने व्यवस्था, लचिलो र व्यवसायमैत्री कर तथा मौद्रिक नीति लागू गरिनुपर्दछ ।
सामाजिक सञ्जालका उपकरणलाई कानूनको दायरामा ल्याउने तर निर्वाध चल्ने व्यवस्थाका साथै नियमन गर्ने प्रणाली हुनुपर्दछ । सामाजिक सञ्जालमा विज्ञापन गर्न दिने छूट हुनुहुँदैन, यसबाट धेरै ठूलो मात्रामा कर चुहावट भइरहेको छ । कर तिर्न नसकेर बन्द हुन बाध्य बनाइएका उद्योग व्यवसायलाई किस्ताबन्दीमा कर तिर्ने सुविधा दिएर कारोबार सञ्चालन गर्न दिनुपर्दछ । विद्युत् निर्यात हैन, पहिले देशभित्रका उद्योगलाई हुनसक्नेसम्म सस्तोमा बिजुली दिएर उत्पादन बढाउन सहयोग गर्नुपर्दछ । यसो गरिएमा सस्तोमा बिजुली पाउने कारणले विदेशी औद्योगिक लगानी भित्र्याउने वातावरण बन्नेछ ।
शैक्षिक क्षेत्र सुधार्नका लागि क्रमश: ६० प्रतिशत सिट संख्या प्राविधिक र विज्ञानका विषयलाई र ४० प्रतिशत कला र व्यवस्थापन विषयका लागि हुने गरी विद्यालय/विश्वविद्यालयका पाठ्यक्रम र कार्यक्रममा पुनर्संरचना गरिनुपर्दछ । विद्यालयबाट निस्कने हरेक विद्यार्थी आफैं रोजगारी खोज्न सक्ने दक्ष जनशक्ति निर्माण शिक्षाको उद्देश्य हुनुपर्दछ ।
भ्रष्टाचार रोक्नका लागि सबैभन्दा पहिले उच्च तहमा पुगेका कर्मचारी, राजनीतिक नियुक्तिमा गएका मानिस, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश लगायतको सम्पत्ति छानबिन शुरु गरिनुपर्दछ ।
देशको स्वाभिमान यसरी किन खस्कियो र अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो प्रतिष्ठा किन माथि उठेन भन्ने प्रश्नको उत्तरका लागि विगतमा गरिएका तमाम सन्धि–सम्झौताको समीक्षा हुुनुपर्दछ । यी सबैमध्ये कोशी, गण्डकी, महाकाली नदीको जल उपयोग सम्बन्धी मित्रराष्ट्र भारतसँग गरिएका सम्झौता र एमसीसी सम्झौताको निर्मम समीक्षा हुनुपर्दछ । खासगरी सर्वाधिक विवादका बीचमा पारित गरिएका महाकाली नदी र एमसीसी सन्धि गर्ने मामिलामा एकजुट हुने राजनीतिक दल र तिनको नेतृत्वका बारेमा गम्भीर छलफल हुनै पर्दछ ।
यो सबै गर्नका लागि सबैभन्दा पहिले जिम्मेवार राजनीतिक दलको निर्माण र विकास हुनुपर्दछ भने पुराना दललाई सुध्रिन बाध्य पार्ने राजनीतिक दबाबको अभियान सञ्चालन गर्नुपर्दछ । पुराना सबै दलमा रहेका राजनीतिक कार्यकर्ताहरूले दिमागलाई खुला बनाएर आफ्नो दललाई सुधार्ने अभियानमा लाग्नुपर्दछ भने नयाँ आएका राजनीतिक दललाई गम्भीर हुन र आफ्ना एजेण्डा स्पष्ट पार्नका लागि चौतर्फी दबाब सिर्जना गर्नुपर्दछ ।
युवाहरू हो, देश बनाउन अनुभव, अनुशासन र जोशका साथै स्पष्ट योजना र विचार चाहिन्छ । आन्दोलन केका लागि गर्ने र त्यसलाई कहाँ पुर्याउने भन्ने स्पष्टता चाहिन्छ । त्यसका लागि सोही अनुसारको नेतृत्व चाहिन्छ । आन्दोलन गर्दा कसैले आफूलाई उपयोग त गरेको छैन भनेर सचेत हुनुपर्दछ ।
अन्त्यमा, २३ भदौमा दमन गर्ने र २४ मा देश खरानी बनाउने सबैलाई कानूनी सजायको दायरामा ल्याउनुपर्दछ ।
प्रतिक्रिया 4