+
+
Shares

बन्द भयो रवि लामिछानेले भरतपुरमा सञ्चालन गरेको ‘ब्लू बस’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १९ गते ११:३९

१९ पुस, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति तथा चितवन क्षेत्र नं. २ का निलम्बित पूर्व सांसद रवि लामिछानले निकै तामझामका साथ चितवन २ मा सञ्चालन गरेको ‘ब्लू बस’ बन्द भएको छ ।

लामिछानेले २०८० साउनबाट महिलालाई लक्षित गरी कालिका नगरपालिका हुँदै भरतपुर तथा नारायणगढ क्षेत्रमा चलाएको ‘ब्लू बस’ बन्द डेढ महिना अगाडिदेखि बन्द भएको हो ।

पहिले ना५ख ३१३८ नम्बरको ३२ सिटे बस मासिक एक लाख ३५ हजार भाडा तिर्ने गरी सञ्चालन गरिएकोमा पछि आफैंले बस किनेर सञ्चालनमा ल्याएका थिए । पहिले सञ्चालन गरिएको ब्लू बसलाई गैरकानुनी रुपमा निलो रङ लगाएको भन्दैं आलोचना भएको थियो ।

स्रोतका अनुसार गाडी भाडामा लिएर चलाउँदा खर्च बढी आएको भन्दै उनको सचिवालयले बस किनेको थियो । ७ लाख रुपैयाँमा किनेको बस पनि सधैं बिग्रेपछि हैरान भएर डेढ महिना अगाडि बन्द गरेर थन्काइएको छ ।

अब कबाडीमा दिने वा के गर्ने भन्ने बारेमा सल्लाह हुँदै गरेको स्रोतको भनाइ छ । बसको तेलको खर्च तथा अन्य मर्मतको खर्चको रकम ठूलो भएकोले बस बन्द गर्नु परेको रास्वपा स्रोतले जनाएको छ । तिर्नुपर्ने दायित्व रकम चितवनका विभिन्न व्यक्तिसँग उठाएर बुझाइएको छ । अब फेरि बस सञ्चालन गर्ने वा सधैंका लागि बन्द गर्ने भन्ने अन्योल छ । लामिछानेले भरतपुर ११ वाइपास सडकको गुम्बाचोक नजिकै खोलेको सचिवालय पनि खासै चलेको छैन ।

जनताका समस्या सुन्न, समस्या राख्न, सम्पर्क गर्न तथा केन्द्रसँग विकास निर्माणका कामहरुको समन्वय गर्न भनेर लामिछानेले सिइयोको विज्ञापन गरेका थिए । लामिछानेको विषेश अनुरोधमा विदेशबाट लाखौं जागिर त्यागेर ल्याइएका भनिएका प्रमुख कार्यकारी अधिकृत हेमन्त बराललेसमेत सचिवालय छाडेर हिँडेको झण्डै एक वर्ष भएको छ ।

पहिल्यै बन्द भयो मोबाइल क्लिनिक

लामिछानेले पुरानो मेडिकल कलेजको सहयोगमा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मोवाइल क्लिनिक चलाउने प्रयास पनि लामो समय टिक्न सकेन । निर्वाचन क्षेत्रका विभिन्न स्थानमा केही महिना मोवाइल क्लिनिक सेवा सञ्चालन गरे पनि त्यो बन्द भएको डेढ वर्षभन्दा बढि भैसकेको छ ।

पुरानो मेडिकल कलेज भरतपुरले दिएको एम्बुलेन्सको रंग परिवर्तन गरेर क्लिनिक चलाएको भन्दैं लामिछानेको काम सुरु मै विवादमा परेको थियो । गैरकानूनी रुपमा रंग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको अक्षर नै मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो ।

६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य सेवा दिने भन्दै ना२च ५६१९ नम्बरको एम्बुलेन्स कलेजले दिएको थियो । भारतीय दूतावासले २०७१ सालमा सौजन्य गरेको एम्बुलेन्स विवाद भएपछि कलेजले पछि फिर्ता लिएको थियो ।

कलेजले एम्बुलेन्स र जनशक्ति सहयोग गर्नुका पछाडि शिविरमा जाँचिएका बिरामी कलेजसम्म तान्ने उद्देश्य थियो । सोही कलेजका चिकित्सक डा.मनोहर प्रधान अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट आदिवासी जनजाति कोटाको चौथो नम्बरमा समानुपातिक सूचीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?