१९ पुस, घोडाघोडी (कैलाली) । नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडी सिमसारमा जलपन्क्षी गणना सुरु भएको छ । जैविक विविधताले महत्त्वपूर्ण घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोली आजदेखि गणनामा खटिएको छ । टोलीका अनुसार यही पुस २१ गते सम्म घोडाघोडीमा जलपंक्षी गणना हुनेछ ।
चरा संरक्षण नेटवर्क कैलालीले विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आइरहेको छ । घोडाघोडीमा जलपंक्षी हिउँद र वर्षा गरी प्रत्येक वर्ष दुई पटक गणना गरिँदै आइएको चरा संरक्षण नेटवर्क कैलालीका उपाध्यक्ष नवराज न्यूरेले जानकारी दिए । उनका अनुसार गणनापछि उनीहरूको अवस्था र चुनौती पत्ता लगाइनेछ ।
चरा संरक्षण नेटवर्क कैलालीका सचिव राम कुमारले यहाँ जलपंक्षीको सङ्ख्या घट्दै गएको जानकारी दिए । घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले घोडाघोडीमा जलपंक्षीको संख्या घट्दै जानुको कारण चोरी सिकारी रहेको बताए ।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्यायले सिमसार क्षेत्र घोडाघोडी प्राकृतिक सम्पत्ति भएकाले यसलाई सबै मिलेर जोगाउनुपर्ने बताए । ‘घोडाघोडी क्षेत्र जैविक विविधताले भरिएको क्षेत्र हो, चराहरूको वासस्थानलाई पनि बचाउँदै जैविक विविधतालाई संरक्षण गर्दै यहाँ संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ,’ उनले भने ।
चराहरूको संरक्षणका लागि उनीहरूको बास स्थान जोगाउनुपर्ने घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले बताए । वर्ड स्याङ्क्चुरी घोषणामा मात्रै सीमित नराखी त्यसलाई सबै मिलेर संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।
नेपालमै सबैभन्दा धेरै ताल तलैया भएको जिल्लाका रूपमा कैलाली चिनिन्छ । त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबैभन्दा ठूलो प्राकृतिक ताल हो । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल छन् । जसमध्ये घोडाघोडी र नकरोड ताल चराको वासस्थानका लागि सबैभन्दा उपयुक्त मानिने चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरी बताउँछन् ।
चौधरीका अनुसार घोडाघोडीमा पहिले दुई हजार २२ सयको हाराहारी जलपंक्षी रहेकामा त्यो सङ्ख्या गत वर्ष ११ सयमा समेटिएको बताए । ‘घोडाघोडीको सूचक प्रजातिको रूपमा रहेको हरिहाँसको सङ्ख्यासमेत घट्दै गएको छ । बच्चा कोरल्ने र हुर्काउनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा हरिहाँसको वासस्थान असुरक्षित बन्दै, आहारा घट्दै गएपछि यसको सङ्ख्या घट्दै गएको छ,’ अध्यक्ष चौधरीले बताए ।
घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्त्वपूर्ण वासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । यहाँ तीन सय ८१ प्रजातिका चरा पाइन्छन् । रासस
प्रतिक्रिया 4