+
क्यान क्यालेन्डर :

महिला क्रिकेटमा थपिए अन्तर्राष्ट्रिय शृंखला, घरेलुमा लङ्गर फर्म्याट प्रस्तावित

२०८२ पुष  १९ गते १७:३१ २०८२ पुष १९ गते १७:३१
महिला क्रिकेटमा थपिए अन्तर्राष्ट्रिय शृंखला, घरेलुमा लङ्गर फर्म्याट प्रस्तावित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले सन् २०२६ का लागि महिला क्रिकेटका लागि विभिन्न शृंखलाहरू समावेश गरेको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
  • आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट यही महिनामा नेपालमा हुने छ र १० टोलीबाट ४ टोली विश्वकपमा स्थान बनाउनेछन्।
  • महिला यू-१९ टोलीलाई प्राथमिकतामा राख्दै ८-९ महिनाको योजना बनाएर विश्वकप छनोट तयारी गरिने सचिव पारस खड्काले बताए।

१९ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा महिला क्रिकेटका लागि गतवर्षभन्दा बढी संख्यामा विभिन्न शृंखलाहरू समावेश गरिएका छन् ।

उमेर समूहदेखि नै एक्सपोजर पाउने हिसाबले खेल तथा शृंखलाहरू तय गरिएका छन् । केही कार्यक्रमहरू भने प्रस्तावित मात्र छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उमेर समूहको टोलीलाई पनि विश्वकप छनोटको तयारीका हिसाबले ८-९ महिनाकै योजना बनाएर कार्यक्रम राखिएको बताए ।

‘हामी महिलाको युवा टिमलाई लगभग ८-९ महिनाकै प्लानबाट आगामी विश्वकपमा छनोट गराउने हिसाबले तयारी गरेका हौं । हालसालै आउनुभएका महिला टोलीका प्रशिक्षक हर्षल पाठकले उमेर समूहको टोलीलाई पनि गाइड गर्नुहुनेछ’ सचिव खड्काले भने । महिला यू-१९ टोलीलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।

महिला क्रिकेटका लागि सबैभन्दा मुख्य अनि महत्वपूर्ण भने यही महिना घरेलु मैदानमै हुने आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट नै रहेको छ । नेपालसहित १० टोली सहभागी हुने प्रतियोगिताबाट ४ टोलीले विश्वकपमा स्थान बनाउनेछ ।

यसबाहेक सिनियर तथा यू-१९ महिला टोलीले विभिन्न शृंखलाहरू पनि खेल्ने तय छ । फेब्रुअरी महिनामा महिला प्रिमियर कप क्रिकेट प्रस्तावित छ ।

मार्चमा महिला सिनियर टिमले द्विपक्षीय शृंखला खेल्ने कुरा क्यालेन्डरमा समावेश गरिएको छ । त्यस्तै यसै महिना यू-१९ महिला टोलीले पनि भुटानको भ्रमण गर्ने उल्लेख गरिएको छ ।

अप्रिल महिनामा सिनियर महिला टोलीले कुवेतसँग द्विपक्षीय शृंखला खेल्ने प्रस्तावित कार्यक्रम छ । यही महिना यू-१९ टिमले पनि द्विपक्षीय शृंखला खेल्नेछ ।

मे महिनामा पनि महिला अन्तर्राष्ट्रिय शृंखला भनेर समावेश गरिएको छ । जुन महिनामा आईसीसी महिला टी-२० विश्वकप हुँदैछ । नेपाली टोली छनोट भएमा विश्वकप खेल्नेछ । त्यही महिना यू-१९ महिला क्रिकेट टोलीले मलेसियाको भ्रमण गर्ने पनि तय छ ।

जुलाईमा एसीसीको आयोजनामा महिला एसिया कप क्रिकेट हुने तय छ । त्यसपछि सेप्टेम्बरमा महिला सिनियर टोलीले यूएईसँग शृंखला खेल्ने उल्लेख छ । अक्टोबरमा सिनियर महिला टोलीले त्रिदेशीय शृंखला खेल्ने उल्लेख गरिएको छ ।

नोभेम्बरमा महिला क्रिकेटसँग सम्बन्धित कुनै पनि प्रतियोगिता समावेश छैन । डिसेम्बरमा महिला अन्तर्राष्ट्रिय शृंखला हुने तय गरिएको छ । नेपालमै अन्य देशलाई बोलाइनेछ ।

सचिव खड्काले कुनै महिला अन्तर्राष्ट्रिय शृंखला काठमाडौं बाहिर पनि आयोजना गराइन सक्ने बताए ।

महिलाको लङ्गर फर्म्याट प्रस्तावित

घरेलुतर्फ भने महिला क्रिकेटका कार्यक्रमहरू उल्लेख्य मात्रामा समावेश छैनन् । जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको पीएम कपबाहेक यसपटक लङ्गर फर्म्याटको प्रतियोगिता प्रस्तावित छ ।

महिला क्रिकेटको एकदिवसीय मान्यता हासिल गर्नका लागि घरेलु क्रिकेटमा लामो फर्म्याटको डे क्रिकेट आयोजना हुनुपर्ने आवाजका बीच यो प्रस्ताव गरिएको हो ।

जिल्लातर्फको पीएम कप मार्चमा हुनेछ भने प्रदेशतर्फको अप्रिलमा हुनेछ । पीएम कप राष्ट्रिय प्रतियोगिता मे महिनामा हुनेछ ।

यस्तै गर्ल्स यू-१६ र यू-१९ प्रतियोगिताहरू पनि समावेश छन् ।

क्यान क्यालेन्डर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय