+
+
Shares

धरान स्थापनाको १२५ वर्ष पूरा (तस्वीरहरू)

पहाड र तराईको संगमस्थल धरान, जसलाई ब्रिटिस र भारतीय गोर्खा लाहुरेहरूले पठाएको  रेमिट्यान्स र तिनैको पेन्सनले गुल्जार बनायो ।

प्रदीप मेन्याङ्बो प्रदीप मेन्याङ्बो
२०८२ पुष २० गते २१:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरान बजार विस्तार भएको १२५ वर्ष पुगेको छ र २०१७ सालमा बाँझोगरा र घोपा गाउँपञ्चायत मिलाएर धरान नगरपञ्चायत बनेको थियो।
  • ब्रिटिश गोर्खा पल्टनको भर्ती केन्द्र घोपा क्याम्प स्थापना भएपछि धरानमा २०१० सालदेखि बस्ती विस्तार भएको हो।
  • धरानको विकासमा राणाकालका सुब्बा रत्नप्रसाद श्रेष्ठको जंगल फडानी र लाहुरेको रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेलेको छ।

२० पुस, सुनसरी । आधुनिक धरान बजार विस्तार भएको १२५ वर्ष पुगेको छ ।

१२५ वर्षअघि विजयपुर क्षेत्रबाहेक हालको धरान क्षेत्र सबै घना जंगल थियो । जंगल फाडिएपछि विभिन्न ठाउँका मानिस आएर घर–टहरा बनाउँदै बस्न थालेपछि  राणाकालमा जुद्धनगर र चन्द्रनगर बजार विस्तार भएको इतिहास छ ।

धरान विस्तारको इतिहास छोटो भए पनि २०१० सालमा पूर्वका लिम्बू र राई समुदायका लागि ब्रिटिश गोर्खा पल्टनको भर्ती केन्द्र घोपा क्याम्प स्थापना भएपछि थप गुल्जार बनेको हो ।

२०१७ सालमा बाँझोगरा गाउँपञ्चायत र घोपा गाउँपञ्चायत मिलाएर धरान नगर पञ्चायत भएपछि आधुनिक धरानको प्रारम्भ भएको हो ।

ब्रिटिश घोपा क्याम्पबाट भर्ती भएर जाने युवाहरू डेढ दुई दशकपछि अवकास भएर आउँदा आफ्नो पुख्यौली थलोमा नगई धरानमै घर जग्गा किनेर बस्न थालेपछि २०३० सालदेखि धरानमा घना बस्ती विस्तार भएको हो ।

१२५ वर्ष पुगेको अवसरमा आइतबार धरान धस्थापना दिवस मनाइएको छ । डेढ दशकयता प्रत्येक वर्ष २० पुसलाई धरान स्थापना दिवसको रूपमा मनाउने गरिएको छ

धरान स्थापना दिवसको अवसरमा विभिन्न आदिवासी जनजाति समुदायको सांस्कृतिक झाँकी, विद्यार्थीहरूको मार्चपासको र्‍यालीले नगर परिक्रमा गर्दै पब्लिक स्कुलको मैदानमा समापन समारोह आयोजना गरे ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई सम्पाङको नेतृत्वमा आयोजित धरान दिवसमा धरानमा योगदान पर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

लाहुरेको रेमिट्यान्सले बनेको शहर

धरान नाम कसरी रहन गयो भन्ने बारेमा यकिन गर्न सकिएको छैन । तर, कतिपयले जंगल फडानी गरेर ठूलो आराले दुईजनाले काठ चिर्ने ‘धरन’ जताततै बनाइएकाले त्यसैबाट धरान नाम रहन गएको बताउने गरेका छन् ।

कतिपयले भने आधुनिक यातायातका सवारीसाधन नचलेका बेला गोरुगाडा चलाउँदा रोकिएको स्थान ‘धर’ बाट अपभ्रंश भएर धरान भएको पनि बताउने गरेका छन् भने कतिपयले राणाकालमा सामान्य बाटो बनेपछि गाडी चल्दा आउने आवाज धर्धर् बाट धरान बनेको पनि बताउने गर्छन् ।

आधुनिक शहरीकरण भएको धरानको स्थापना र बस्ती विस्तारको इतिहास भने राणाकालका सुब्बा रत्नप्रसाद श्रेष्ठसँग जोडिएको छ ।

सुब्बा रत्नप्रसाद श्रेष्ठ ।

विक्रम सम्वत १९५८ अगाडिदेखि यहाँको वन फडानी हुन थालेको थियो । पछि चन्द्रशमशेर श्री ३ प्रधानमन्त्री भएपछि जंगल फडानी झन् तीव्र भयो । त्यसैबेला व्यापारिक उद्देश्यले धनकुटा र कलकत्ता ओहोरदोहोर गर्दै आएका सुब्बा रत्नप्रसादले विजयपुर फेदीको चारकोशे घनाजंगल फडानी गर्ने ठेक्का वा जिम्मा पाएका थिए ।

उक्त समयमा तत्कालीन इष्ट इण्डिया कम्पनीले शासन गरिरहेको भारतका विभिन्न प्रान्तमा रेलको लिक ओच्छ्याउन सखुवा काठको पटरीको माग अत्यधिक रहेको थियो । भारतमा विस्तार भइरहेको रेलको पटरीका लागि ती सखुवाका काठहरू नेपालबाट लगिएका थिए ।

पहाडको फेदीमा जंगल फडानीपछि खाली रहेको जमिनमा ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, धनकुटाबाट पनि फाटफुट मानिस आउन थाले । तर, औलो लाग्ने डरले कतिपय विजयपुरको डाँडातिरै बस्थे ।

जंगल फडानी गर्ने हजारौ मजदुरमध्ये कतिपय यतै छाप्रो बनाएर बसेपछि कतिपयलाई सुब्बा रत्नप्रसादले धनकुटाबाट बोलाएर राखे । वि.सं. १९५८ तिर आजको पुरानो बजार (हालको चिनियाँ चोक आसपास) मा बस्ती विस्तार भएपछि राणा प्रधानमन्त्री चन्द्र शम्शेरको नाममा बजारको नाम चन्द्रपुर भनेर राखियो ।

अर्का राणा प्रधानमन्त्री जुद्धशम्शेरको नाममा वि.सं. १९९२ तिर हालको भानुचोक–छाताचोक  बजारलाई जुद्धनगर भनेर नाम दिइयो । तर, जुद्धनगरको नाम २०१६ सालमा फेरिएर लक्ष्मीसडक बन्यो । उक्त नाम महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधनपछि राखिएको हो ।

जंगल फडानी गरेपछि बस्न योग्य भएको जमिनमा कतिपय विजयपुरदेखि झरे । कतिपय विभिन्न ठाउँबाट आएर टहरा बनाएर बस्न थाले । सुब्बा रत्नप्रसादले पनि धनकुटाका आफ्ना छर छिमेकी, चिनेजानेकाहरूलाई बोलाएर बस्न दिएको उनका ८९ वर्षीया कान्छी बुहारी सरला कायस्थले बताइन् ।

सरला कायस्थ ।

उनकाअनुसार बस्ती विस्तार भएको विक्रम संवत् १९५८ देखि विक्रम संवत् १९९२ साल अर्थात करिव ३४ वर्ष समयको बीचमा चन्द्रनगर, जुद्धनगरसँगै रत्न रोड, फुस्रो, भानुचोक, छाताचोक, देशीलाइन, पुतलीलाइन, चिनियाँचोक विस्तारको रुपरेखा बनिसकेको थियो ।

जानकारहरूका अनुसार वि.सं. १९९७ सालमा नापी टोली आएपछि हालको भानुचोकदेखि छाताचोक हुँदै लक्ष्मीसडक र जिरो प्वाइन्टसम्मको ठाडो बाटोलाई मूलसडक बनाउने निर्णय गरिएको थियो ।

२०१८ सालमा पञ्चायती व्यवस्थाअनुसार नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम धरान घोषित गरिएको थियो । सोही अनुसार कोशी र पूर्वाञ्चल हेर्ने गरी स्वास्थ्य, शिक्षा, वित्तीय बैकिङ, यातायात, प्रहरी, सेनाका प्रशासनिक निकायहरू स्थापना गरिका थिए ।

तर, ती अञ्चल र पूर्वाञ्चलस्तरीय प्रशासनिक निकायहरू २०५० सालसम्ममा रातारात विराटनगर, काठमाडौं र धनकुटा सारिए । क्षेत्रीय, अञ्जल र जिल्लास्तरका सरकारी कार्यालयहरू सारिएपछि सिङ भाचिएको सांढे जस्तोमात्र भएको थियो ।

घोपा र बाझगरा गाउँपञ्चायत मिलाएर धरान नगरपञ्चायत बनाइएको बेला ३० कात्तिक २०१७ सालमा तत्कालीन बडा हाकिम हरिप्रसाद गिरीले नगरपञ्चायतको उद्घाटन गरेका थिए ।

त्यसबेला धरानका प्रथम नगरप्रमुख केदारनाथ खनाल थिए । उनैको पालामा मुलुकमै पहिलोपटक नगरप्रमुखलाई ‘मेयर’ शब्दले सम्बोधन भएको थियो । अर्थात् नेपालमा नगर प्रमुखलाई भनिने मेयर शब्द धरानबाट सुरु गरिएको हो ।

स्थानीय बुद्धिजीवी सहप्राध्यापक डा. राजेन्द्र शर्माकाअनुसार नगरपञ्चायत बनिनुभन्दा सात वर्षअघि अर्थात् २०१० सालमा बेलायतले पूर्वको लिम्बू र राई समुदायका युवाहरूलाई आफ्नो उपनिवेश मुलुक मलाया (हालको मलेशिया) र हङ्कङमा लैजानका भर्ती केन्द्र धरानलाई बनाइएको थियो । यसैलाई घोपा क्याम्प भनियो ।

हालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चर्चेको करिब २ सय एकड जमिनमा घोपा क्याम्प थियो, जुन २०५० सालमा पोखरा स्थानान्तर भयो ।

शर्माले भने, ‘घोपा क्याम्पकै कारण ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, पान्थरदेखि खोटाङ भोजपुर, ओखलढुङ्गाका लाहुरेहरूको रोजाइमा परेको धरानले आधुनिक रूप लिएको हो ।

धनकुटा गौंडाका आधार शिविरका रूपमा मोरङ अड्डाको बजार अड्डा धरान शाखा (भानुचोक) मा वि.सं. १९९५ मा स्थापना भएपछि आधिकारिक रूपमा धरान पनि सरकारको कर असुल गर्ने नाकाको गन्तीमा आउन थालेपछि शहरीकरण भएको हो ।’

उनका अनुसार पहाड र तराईको संगमस्थलमा रहेको धरानलाई ब्रिटिस र भारतीय गोर्खा लाहुरेहरूको  रेमिट्यान्स र अवकासपछि पेन्सनको रकमले गुल्जार बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?