+
+
Shares

प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्न ‘सकारात्मक’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १३:४३
फाइल तस्वीर

२१ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट चुनाव लड्न जिल्ला नेताहरूले अनुरोध गरेका छन् । आफ्नो अनुरोधमा प्रचण्ड सकारात्मक रहेको नेताहरूले बताएका छन् ।

चुनावबारे छलफल गर्न साविक माओवादी केन्द्रका नेताहरूको टोली काठमाडौं आएको छ । सो टोलीले दुई दिनसम्म ललितपुरको एक क्याफेमा प्रचण्डसँग छलफल गरेको थियो ।

छलफल सकारात्मक रहेको रुकुम पूर्वका जिल्ला संयोजक कुमारी बराल (गौतम) ले बताइन् । ‘हाम्रो अनुरोध रुकुमबाट चुनाव लड्नुस् भन्ने हो, त्यो कुरामा उहाँ पनि सकारात्मक हुनुहुन्छ,’ बरालले अनलाइनखबरसँग भनिन् ।

रुकुम पूर्वबाट काठमाडौं आएका जिल्ला इञ्चार्ज तेजबहादुर ओली (प्रतीक), संयोजक बराल, पूर्ण घर्ती, दलजित शेर्पाली, होमप्रकाश श्रेष्ठ (हिमाल) लगायत नेताहरूसँग प्रचण्डले छलफल गरेका थिए । छलफलमा रुकुम पूर्वकै नेताहरू पार्टी केन्द्रीय कार्यालयका सचिव गणेशमान पुन, पार्टी केन्द्रीय सदस्य सुवोधराज शेर्पाली, सरल सहयात्री, केशव रावल लगायतका नेताहरू पनि सहभागी थिए ।

एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वले प्रत्यक्षतर्फ नौ जना आकांक्षीको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ तेजबहादुर ओली, गणेशमान पुन, दलजित शेर्पाली, जितमान पुन, सुवोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सिर्जना कार्कीको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको थियो ।

समानुपातिकतर्फ सुनिता बुढा (महिला), दिपेन्द्र छन्त्याल (अल्पसंख्यक), टिकाराम उपाध्याय (अन्य), हर्कबहादुर कामी (दलित) र उपेन्द्रलाल कामी (दलित)बाट सिफारिस भएका छन् ।

तत्कालीन माओवादीले २०५२ सालमा ‘जनयुद्ध’ सुरु गरेको रुकुम पूर्वलाई आधार इलाका भनेर पनि ठान्ने गर्दछ । अहिलेसम्म पनि माओवादीको पकड बलियो मानिने भएकाले रुकुम पूर्व प्रचण्डलाई सुरक्षित हुने ठानिएको छ ।

‘जनयुद्धका सुप्रिमो प्रचण्डलाई रुकुम पूर्व जस्तो सुरक्षित अर्को देखेका छैनौं,’ छलफलमा सहभागी एक नेताले भने ।

छलफलमा सहभागी अर्का एक नेताले पनि रुकुम पूर्वबाट चुनाव लड्न प्रचण्ड ‘नब्बे प्रतिशत सकारात्मक’ भएको बताए ।

‘करिब नब्बे प्रतिशत कुरा मिलिसकेको छ । जिल्लाका अहिलेका नेताहरुले आफ्नो व्यवस्थापनको ग्यारेन्टी पनि खोजेका छन्, त्यो कुरा मिलेपछि प्रचण्ड रुकुमबाट चुनाव लड्ने निश्चित हुन्छ ।’

प्रचण्डले अझै समय बाँकी रहेकाले छलफललाई निरन्तरता दिने बताएका छन् ।

यस विषयमा प्रचण्ड दिल्लीबाट फर्किएपछि छलफल गर्ने तयारी छ । पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्न भन्दै आइतबार दिल्ली गएका प्रचण्ड सोमबार साँझ फर्किने पूर्वनिर्धारित कार्यक्रम छ ।

नेता गणेशमान पुन भने प्रचण्ड प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रबारे छलफल जारी रहेको बताउँछन् । रुकुम पूर्वको विषयमा पनि छलफल भएको तर टुंगो नलागेको उनी बताउँछन् ।

‘सोलुदेखि कालिकोटसम्मका साथीहरूले हाम्रो क्षेत्रबाट चुनाव लडिदिनुपर्‍यो भनेर उहाँलाई अनुरोध आएको छ । विभिन्न निर्वाचन क्षेत्रमा एकल सिफारिस पनि भएको छ,’ पुनले भने, ‘त्यसबारे छलफल भइरहेको छ, टुंगो लागेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?