२१ पुस, काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकोन) गण्डकी प्रदेशको ७ औँ वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
पोखरामा सम्पन्न कार्यक्रम प्रदेशको शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा रहेका थिए ।
उनले फेकोनको भूमिका प्रदेशमा सुरक्षित, विश्वसनीय र गुणस्तरीय शैक्षिक परामर्श सेवाको प्रवर्द्धनमा महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा फेकोनका केन्द्रीय अध्यक्ष उमेश कुश्वार, पूर्व केन्द्रीय अध्यक्ष युवराज कटुवाल र राजु निरौला, पूर्व अध्यक्ष जागृत भट्टराई, निवर्तमान अध्यक्ष संजय सुवेदी तथा केन्द्रीय उपाध्यक्ष गगन बिष्ट, केन्द्रीय सचिव राजकुमार ढकाललगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सल्लाहकार प्राडा भानुभक्त शर्मा कंडेल, जसबहादुर गुरुङ, भोलानाथ अधिकारी, सुनील पराजुली, संघ–संस्थाका प्रतिनिधि, एनएमबी बैंक, आईडीपी, ब्रिटिस काउन्सिल (अर्बिट एमबीबीएस), अन वेइ कुरियर लगायत विभिन्न संघ संस्थाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम सफल बनाउन विशेष योगदान पुर्याएको भन्दै कार्यसमिति सदस्य सन्तोष ढकाल र कल्याण रेग्मीलाई अध्यक्ष सुजनबहादुर बस्नेतले विशेष धन्यवाद व्यक्त गरे । उनले सबैको विश्वास, साथ र सहयोगले फेकोन गण्डकी प्रदेशलाई अझ सशक्त, मर्यादित र प्रभावकारी संगठनका रूपमा अघि बढ्ने ऊर्जा मिलेको बताए ।
फेकोन गण्डकी प्रदेशले आगामी दिनमा शैक्षिक परामर्श क्षेत्रको व्यावसायिकता, पारदर्शिता र गुणस्तरमा थप योगदान पुर्याउने प्रतिज्ञा गरेको छ ।
प्रतिक्रिया 4