२१ पुस, काठमाडौं । राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा रहेका कतिपयले उम्मेदवार बन्न अस्वीकार गरेका छन् । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकाहरूले उम्मेदवारी फिर्ताको घोषणा गरिरहेका छन् ।
हालसम्म रास्वपाबाट समानुपातिक सूचीमा रहेका ११० जनामध्ये ७ जनाले नाम फिर्ता लिएको घोषणा गरेका छन् । जसमा डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती र मिलन लिम्बूले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।
अहिले घोषणा गरेर मात्रै नाम फिर्ता नहुने निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए । उनका अनुसार समानुपातिक सूचीमा रहेका नाम परिवर्तनका लागि तीन वटा तरिका छन् ।
पहिलो : क्लस्टर नमिलेको हकमा निर्वाचन आयोगले औंल्याएअनुसार सम्बन्धित दलले नाम परिवर्तन गर्न सक्नेछ ।
दोस्रो : सम्बन्धित उम्मेदवारले आफू उम्मेदवार नहुने भनेर निर्वाचन आयोगमा स्वयं उपस्थित भई निवेदन दिनुपर्छ ।
तेस्रो : सम्बन्धित राजनीतिक दलले कुनै उम्मेदवारको ठाउँमा अर्को उम्मेदवार पठाउन चाहेको भनेर पनि आयोगलाई आग्रह गर्नसक्छ ।
क्लस्टर नमिलेको अवस्थामा मिलाउनु नै पर्ने भएकाले यसमा सहज हुनेछ । सम्बन्धित उम्मेदवारले स्वयं उपस्थित भएर उम्मेदवार हुन नचाहेको भनेर निवेदन दिएको अवस्थामा पनि आयोगले त्यस्तो नाम हटाउने छ र सम्बन्धित दललाई जानकारी दिनेछ ।
उम्मेदवारले नै उम्मेदवारी फिर्ता लिएको जानकारी पाएपछि सम्बन्धित दलले उक्त स्थानमा अर्को व्यक्तिको नाम पठाउन सक्छ ।
सम्बन्धित दलले बुझाएको सूचीमा रहेका नाममध्ये केहीको हेरफेर गर्न चाहेको भनेर निवेदन दिएको अवस्थामा समेत निर्वाचन आयोगले त्यसलाई अगाडि बढाउने छ ।
दलले हटाउन चाह्यो तर सम्बन्धित उम्मेदवारले मानेनन् भने के हुन्छ ?
यस्तो अवस्थाको उदाहरण नरहेको भन्दै सहायक प्रवक्ता न्यौपाने भन्छन्, ‘बन्दसूची सम्बन्धित दलले नै बुझाएको हो । उसले पार्टीबाट निर्णय गरेर ल्याएको छ र हेरफेर चाहेको छ भने निर्वाचन आयोगले अगाडि बढाउनुपर्ने हुन्छ ।’
यी कार्य यही पुसको २८ गतेपछि हुने पनि उनले जानकारी दिए । न्यौपानेका अनुसार पुस २७ गतेसम्म क्लस्टर नमिलेको लगायतका विषयमा रहेको त्रुटि सच्याउन दलहरूले समय पाएका छन् ।
उनी भन्छन्, ‘कुनै दलको बन्दसूचीमा क्लस्टर नमिलेको पाइएको छ । कुनै दलको बन्दसूचीमा रहेको व्यक्तिको उमेर खुल्न नसकेको अवस्था छ । यस्ता त्रुटि सच्चिएपछि उम्मेदवार फिर्ता वा परिवर्तनको विषय अगाडि बढ्ने कार्यतालिका छ ।’
कार्यतालिकाअनुसार यही पुस १३ र १४ गते निर्वाचन आयोगमा दलहरूले समानुपातिक उम्मेदवारको सूची बुझाएका थिए । त्यसउपर अध्ययन गरेर निर्वाचन आयोगले आइतबार दलहरूलाई देखिएका त्रुटि सच्याउन भनेको हो ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दलहरूले आजदेखि पुस २७ गतेसम्म आयोगले औंल्याएका त्रुटि सच्याउन सक्ने छन् ।
उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउने छन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिनेछ ।
उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।
त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कायोगको कार्यतालिका छ ।
आयोगको कार्यतालिकाअनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिन सकिने छ । यसका लागि माघ ५ देखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।
माघ ११ देखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।
आयोगको तालिकाअनुसार आगामी माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ ।
आगामी फागुन २१ गते मतदान हुनेछ ।
प्रतिक्रिया 4