News Summary
Generated by OK AI. Editorially reviewed.- राखेपले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो विधान र कानुन अनुसार संशोधन गरी मात्र साधारण सभा र निर्वाचन अघि बढाउन पत्राचार गरेको छ।
- राखेपले एन्फाको विधानमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ अनुसार संरचना र निर्वाचनसम्बन्धी व्यवस्था मिलाउनुपर्ने जनाएको छ।
- एन्फाले यसअघि राखेपको स्वीकृति नआउँदै निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ।
२२ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो विधान र प्रचलित कानुन अनुसार आवश्यक संशोधन गरेर मात्र साधारण सभा र निर्वाचन प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ।
एन्फाले २०८२ पौष १६ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार साधारण सभा (अर्डिनरी कंग्रेस) का लागि स्वीकृति र प्रतिनिधि उपलब्ध गराइदिन राखेपसँग अनुरोध गरेको थियो। सोही अनुरोधका आधारमा युवा तथा खेलकुद मन्त्रालयको पत्र र राष्ट्रिय खेलकुद विकास ऐन तथा नियमावली अनुसार आवश्यक व्यवस्था गर्न राखेपले निर्देशन दिएको हो।
राखेपले एन्फाको विधानमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ अनुसार परिभाषा, प्रस्तावना, संरचना र निर्वाचनसम्बन्धी व्यवस्था मिलाउनुपर्ने जनाएको छ। प्रत्येक चार वर्षमा लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन हुनुपर्ने, आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र साधारण सभा गर्नुपर्ने र निर्वाचनका लागि परिषद्को स्वीकृति लिनुपर्ने व्यवस्था विधानमै समेट्नुपर्ने उल्लेख छ।
यस्तै, प्रदेश तथा जिल्ला संघको संरचना ऐनअनुसार पुनःव्यवस्थित गरी तहगत निर्वाचनमार्फत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, प्रदेशका नाम स्पष्ट उल्लेख गर्नुपर्ने तथा प्रचलित कानुनअनुसार आवश्यक सबै संशोधन गर्नुपर्ने राखेपको पत्रमा भनिएको छ।
राखेपले एन्फालाई स्वीकृत विधान र प्रचलित नियमअनुसार मात्रै निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
एन्फाले भने राखेपबाट स्वीकृति आउनुभन्दा अगाडि नै निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ ।


प्रतिक्रिया 4