+
+
Shares

शौचालयमा धूम्रपान रोक्ने अनौठो उपाय : भित्र धुवाँ उडाउनेबित्तिकै ढोकाबाट छ्याङ्गै देखिने

उनीहरू धूम्रपान गरिरहेका बेला फोटो वा भिडियो खिचिन सक्छ र त्यो सामाजिक सञ्जालमा फैलिएर बेइज्ज हुनसक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको शेन्जेनस्थित शुइबेई इन्टरनेशनल सेन्टरले पुरुष शौचालयमा धूम्रपान रोक्न पारदर्शी ढोका प्रयोग गर्न थालेको छ।
  • धुवाँ र ताप पत्ता लगाउने सेन्सरले सक्रिय हुँदा ढोका पारदर्शी हुन्छ र भित्रको मानिस बाहिरबाट देखिन्छ।
  • शौचालयमा ठूलो आवाजमा चेतावनी दिइन्छ र सामाजिक सञ्जालमा यस उपायको प्रभावकारिता र गोपनीयतामाथि बहस भइरहेको छ।

धूम्रपान गर्ने धेरै मान्छेको बानी हुन्छ, शौचालय छिर्नेबित्तिकै चुरोट सल्काउने । अन्य सार्वजनिक स्थलमा धूम्रपान गर्न निषेध हुने कारणले पनि कतिपयले चुरोट पिउनका लागि शौचालय रोज्ने गर्छन् । चुरोट नतानी दिसा नै आउँदैन भन्नेहरू पनि धेरै भेटिन्छन् । सार्वजनिक ठाउँका शौचालय जाँदा हामीले त्यहाँ चुरोट तानिरहेका धेरै दृश्य हामीले देखिरहेका छौँ ।

यसरी शौचालयमा चुरोट तान्ने समस्याबाट हैरान भएपछि चीनको एक सपिङ कम्प्लेक्सले अनौठो उपाय अपनाएको छ । शेन्जेन शहरस्थित लुओहु जिल्लाको शुइबेई इन्टरनेशनल सेन्टरमा रहेको पुरुष शौचालयमा पस्नेबित्तिकै एउटा अनौठो चेतावनी देखिन्छ : धूम्रपानले शौचालयको ढोकाको सिसा पारदर्शी बनाउँछ।

उक्त शौचालयभित्र छिरेर धुम्रपान गर्ने मानिसहरूलाई रोक्न अनेक प्रयास गरिएको थियो तर ती प्रयासहरू असफल भएपछि सो शपिङ कम्प्लेक्सले यस्तो उपाय अपनाएको हो । अब शौचालयभित्र छिरेर कसैले चुरोट सल्काएमा ढोका छ्याङ्गै पारदर्शी हुनेछ र शौचालयिभत्र रहेको मानिसलाई बाहिर रहनेले पूरै देख्न सक्छ ।

शपिङ सेन्टरका प्रवक्ताका अनुसार, यसअघि शौचालयभित्र धूम्रपान गर्ने कार्य रोक्नका लागि त्यस्ता मानिसहरूलाई जरिवाना लगाउने तथा निश्चित समयका लागि प्रतिबन्ध लगाउने समेत काम गरियो । तर समस्या उस्तै रहिरह्यो । अनि व्यवस्थापनले मानिसहरूलाई लाजको डर देखाएर धूम्रपान रोक्ने उपाय अपनायो।

उक्त शौचालयभित्र अर्को ठाउँमा लेखिएको छ : इन्टरनेटमा भाइरल हुन चाहनुहुन्न भने धूम्रपान नगर्नुहोस् !

यसको उद्देश्य मानिसहरूलाई तर्साउनु हो । ताकि उनीहरू धूम्रपान गरिरहेका बेला फोटो वा भिडियो खिचिन सक्छ र त्यो सामाजिक सञ्जालमा फैलिएर बेइज्ज हुनसक्छ ।

ढोकाले कसरी काम गर्छ ?

उक्त शौचालयको ढोकामा आयताकार सिसाको झ्याल छ, जसमा सिल्भर ह्यालाइड नामक विशेष रसायन प्रयोग गरिएको छ । सामान्य अवस्थामा यो सिसा धुम्म परेको अर्थात फ्रोस्टेड हुन्छ र वारपार देखिँदैन।

तर जब ढोकासँग जडित सेन्सरले चुरोटको धुवाँ र ताप पत्ता लगाउँछ, सिसाभित्रका अणुहरू प्रतिक्रिया गर्छन् र क्षणभरमै सिसा पारदर्शी बन्छ । अनि भित्रको मानिस बाहिरबाट छ्याङ्गै देखिन्छ।

यति मात्रै होइन, शौचालयभित्र चेतावनी दिन ठूलो आवाज समेत आउँछ । जसमा भनिएको हुन्छ : धूम्रपान रोकथाम नियमअनुसार यो सार्वजनिक स्थान हो, जहाँ धूम्रपान निषेध छ। तपाईंको र अरूको स्वास्थ्यका लागि यहाँ धूम्रपान नगर्नुहोस्।

सामाजिक सञ्जालमा बहस

शौचालयको यस्तो काइदाको विषय चिनियाँ सामाजिक सञ्जालमा चर्चित बनेको छ । केहीले यसलाई शौचालयभित्रको धूम्रपान रोक्ने प्रभावकारी उपाय भनेका छन्, भने केहीले गोपनीयतामाथि खतरा भन्दै चिन्ता व्यक्त गरेका छन्।

एक प्रयोगकर्ताले लेखेका छन्- लाग्छ अब धूम्रपान रोक्ने साँच्चै प्रभावकारी उपाय भेटियो।

अर्कोले भनेका छन्- चीनमा पुरुष शौचालयभित्र धूम्रपान अत्यन्त सामान्य छ । भित्र छिर्नासाथ सास फेर्न गाह्रो हुन्छ । मलाई त यो उपाय राम्रो लाग्यो।

तर आलोचकहरू पनि कम छैनन् । कतिपयले प्रविधि बिग्रिए के हुन्छ भनेर प्रश्न उठाएका छन्।

एक जनाले प्रश्न गरेका छन्- यदि बाहिरबाट ढोकाको तलपट्टिबाट धुवाँ भित्र पसाइयो भने पनि ढोका पारदर्शी हुन्छ ?

समाचार अनुसार अहिले ती शौचालयका ढोकाहरु परीक्षणको चरणमा छन् । यदि आम मानिसहरुबाट ठूलो विरोध आएन भने शुइबेई इन्टरनेशनल सेन्टरमा यी ढोकाहरू स्थायी रूपमा राखिनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?