+
+
Shares

कांग्रेसका २५ केन्द्रीय सदस्यहरुको अपिल– विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद गर

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते ११:१०
फाइल फोटो

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका छन् ।

ललितपुरको कुपण्डोलमा शुक्रबार बिहान भएको छलफलपछि विज्ञप्ति जारी गरेर सो समूहले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेको हो ।

‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ । अत: माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टी बनाउन जरूरी रहेको जोड दिँदै उनीहरूले परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने अवस्था रहेको स्मरण गराएका छन् ।

यो समूहले यसअघि निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको समूहले २२ पुसमा नेता डा. शेखर कोइरालासँग छलफल गरेको थियो । सो समूहले त्यसअघि १८ पुसमा सभापति शेरबहादुर देउवालाई भेटेको थियो । सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो ।

२५ जनाको यो समूह १५ औं महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला निर्वाचनअगावै हुनुपर्ने पक्षमा उभिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?