२५ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी पाएका वनमन्त्री माधवप्रसाद चौलागाईंले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै मन्त्री चौलागाईंले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंकलाई अनुरोध गर्ने निर्णय गरेका छन् ।
यसैगरी जुम्ला र कालिकोटको सिमाना नाग्म स्थित हिमा नदीमा पक्की पुल बनिसकेको अवस्थामा उक्त स्थानमा रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका-५ स्थित तिला नदीमा तातोपानी गाउँपालिका-४ हाँकु जोड्न स्थानान्तरण गर्ने निर्णय पनि उनले गरेका छन् ।
साथै निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची १३ मा रहेको ‘घ’ वर्गको निर्माण व्यवसायीको योग्यता सम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझावका लागि मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय मन्त्री चौलागाईंले गरेका छन् ।
प्रतिक्रिया 4