+
+
Shares

बाजुराकै नमुना बन्दै जुगाडा स्वास्थ्य चौकी

दृढ इच्छाशक्ति, सहकार्य र प्रतिबद्धता हुने हो भने दुर्गम क्षेत्रमा पनि प्रभावकारी स्वास्थ्य सेवा सम्भव छ भन्ने उदाहरण जुगाडा स्वास्थ्य चौकीले दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १४:१४

२५ पुस, बाजुरा । बाजुराको जुगाडा स्वास्थ्य चौकीले प्रभावकारी सेवा प्रवाह गर्दै नमुना स्वास्थ्य संस्थाको पहिचान बनाएको छ । दुर्गम बस्ती, सीमित स्रोत-साधन, जनशक्ति र न्यून नागरिक चेतनाका बीच पनि स्वास्थ्य चौकी प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सफल भएको हो ।

बडीमालिका नगरपालिका-२ भौनेरामा रहेको यो स्वास्थ्य चौकी कर्मचारी, जनप्रतिनिधि र स्थानीय नागरिक समुदायको साथ-सहयोगका कारण नमुना बन्न सकेको स्थानीयले बताएका छन् ।

जुगाडा स्वास्थ्य चौकी २०३१ सालमा स्थापना भएको थियो । यो स्वास्थ्य संस्थाले दैनिक स्वास्थ्य चोकजाँच तथा उपचारका साथै विभिन्न सेवाहरू दिँदै आएको छ ।

संस्थाले गर्भवती तथा सुरक्षित सुत्केरी सेवा, किशोर-किशोरी मैत्री सेवा, खोप, सुरक्षित गर्भपतन, पोषण, प्रजनन स्वास्थ्य, लैङ्गिक हिंसा, ल्याब, स्मार्ट हेल्थ, परिवार नियोजन लगायतका सेवाहरू प्रदान गर्दै आएको स्वास्थ्य चौकी इन्चार्ज तिलक न्यौपानेले बताएका छन् ।

स्वास्थ्य चौकीमा हाल एक जना जनस्वास्थ्य निरीक्षक, अनमी ३, अहेव २, ल्याब एक, सुइपर एक र एक जना कार्यालयसहित दरबन्दी अनुसारकै कर्मचारीहरू कार्यरत छन् ।

सेवाको गुणस्तर र नियमितताका कारण पछिल्लो समय स्वास्थ्य चौकीमा सेवा लिन आउनेको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ भने सेवा पनि प्रभावकारी बन्दै गएको छ ।

पहिले सामान्य चोकजाँच बाहेक राम्रो उपचार हुँदैनथ्यो । अहिले भने अन्य वडाबाट समेत बिरामी आउने गरेको र केही वर्षयता स्वास्थ्य चौकीले प्रभावकारी सेवा प्रदान गरिरहेको स्थानीय शारदा खत्रीले बताइन् । स्वास्थ्य चौकीमा अहिले दैनिक १५ जनाभन्दा बढी बिरामी चेकजाँच तथा उपचारका लागि आउने गरेका छन् ।

जुगाडा स्वास्थ्य चौकीका इन्चार्ज तिलकराज न्यौपानेले स्वास्थ्य सुधार गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफूहरूसहित स्थानीय सरकार, जनप्रतिनिधि तथा स्थानीय नागरिकहरू लागि परेको बताए ।

उनले भने, ‘यस वडाका अध्यक्ष नै व्यवस्थापन समिति अध्यक्ष हुँदा दैनिक बिरामी चेकजाँचसँगै अन्य कार्यक्रम सञ्चालन गर्न सहज भएको छ । जनताको चाहनाअनुसार नै दीर्घकालीन रूपमा फाइदा हुने हिसाबले काम गरिरहेका छौं ।’

वडाको सहयोगमा स्वास्थ्य चौकीमा नियमित वृद्धि अनुगमन, कर्मचारी बैठक, स्वास्थ्य स्वयंसेविका र आमा समूहको मासिक बैठकमा खाजाको व्यवस्था र समुदायको सक्रिय सहभागिता र सहयोग भइरहेको न्यौपानेले बताए ।

‘सुत्केरी आमालाई २४ घण्टा स्वास्थ्य चौकीमै राख्नुपर्ने हुन्छ । अन्य अस्पतालले आमालाई खानाको व्यवस्था गरेका हुँदैनन् । तर हामीले आमा र कुरुवालाई नै खानाको व्यवस्था गरेकाका छौं,’ उनले भने ।

वडाध्यक्ष डम्बर महतले वडाबासीको स्वास्थ्यमा सुधार ल्याउन वडाबाटै गर्न सकिने ससानो सहयोग, बजेट सदुपयोग र व्यवस्थापन गर्दै आएको बताए । उनले भने, ‘स्वास्थ्य सेवा विभागले स्वास्थ्य संस्था न्यूनतम गुणस्तर मापनको सूचकलाई कार्यान्वयन गर्दै स्वमूल्यांकन गर्न थाल्यो । त्यसपछि कर्मचारी र हाम्रो तर्फबाट गर्नुपर्ने कामहरूको सुरुवात गरेर स्वास्थ्य चौकीलाई यो अवस्थासम्म ल्याउन सफल भयौं ।’

कर्मचारीलाई प्रोत्साहनका लागि स्वमूल्यांकनमार्फत उत्कृष्ट सम्मान गर्ने अभ्यास समेत थालिएको वडाध्यक्ष महतले बताए ।

स्वास्थ्य चौकीले नियमित खोप अभियान, गर्भवती महिलाको अनुगमन, पोषण सुधार कार्यक्रम तथा हरेक महिनाको अन्तिम शुक्रबार विद्यालय स्वास्थ्य शिक्षा प्रदान जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य चौकीको सेवा प्रभावकारी हुनुका साथै मातृ तथा शिशु मृत्युदर घटाउन पनि सकारात्मक योगदान पुगेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्वास्थ्य चौकीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म एक हजार ४९४ जना बिरामीले सेवा लिएका छन् । सोही अवधिमा ३ जनाले सुत्केरी सेवा, १६ जना बालबालिकाले नियमित वृद्धि अनुगमन, १२ जनाले खोप सेवा पाइरहेका छन् भने ५ जना बालबालिकाले पूर्ण खोप पाएको स्वास्थ्य चौकीले जनाएको छ ।

दृढ इच्छाशक्ति, सहकार्य र प्रतिबद्धता हुने हो भने दुर्गम क्षेत्रमा पनि प्रभावकारी स्वास्थ्य सेवा सम्भव छ भन्ने उदाहरण जुगाडा स्वास्थ्य चौकीले दिएको छ । यसले बाजुराका अन्य दुर्गम बस्ती र स्वास्थ्य संस्थाका लागि पनि प्रेरणा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?