२५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीले संस्थागत रुपमा गरेको निर्णयको स्वामित्व हरेक तहले लिनुपर्नेमा पार्टी सदस्यहरूको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस्तो स्मरण गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
‘बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संस्थागत र सर्वसम्मत निर्णय गरेको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा अनर्गल प्रचार भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ,’ राप्रपाले भनेको छ ।
पार्टीप्रति भ्रम फैलाउने, जथाभावी अभिव्यक्ति दिने, अनेकन टिकाटिप्पणी गर्ने, कार्यकर्ता विभाजित तुल्याउने कार्यहरु पार्टीको वृहत्तर हित विपरीत र अवाञ्छित हुने हुँदा यस्ता कार्यमा संलग्न नहुन पार्टीले पार्टी पंक्तिलाई आग्रह गरेको छ ।
‘पार्टीले संस्थागत रुपमा गरेको निर्णयको स्वामित्व हरेक तहले लिनु पार्टी सदस्यको कर्तव्य, धर्म र जिम्मेवारी रहेको सबैमा स्मरण गराउँदछ,’ राप्रपाले भनेको छ ।
प्रतिक्रिया 4