२५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित गोल्डेनगेट अगाडिबाट एक यात्रु गोंगबु जान मयुर यातायात चढे । २२ पुस ११ बजेतिर बस चढेका ती यात्रुले कालो रङको ‘साइड ब्याग’ (छड्के छोला) बोकेका थिए ।
झोलामा २ लाख ७५ हजार बोकेर हिँडेका बाग्लुङ नगरपालिका-४ घर भई काठमाडौं मित्रनगर डेरा गरी बस्ने ३७ वर्षीय दीपेन्द्र शर्माले मित्रपार्क पुग्नै लाग्दा जब झोला खुलै देखे, हेर्दा पैसाको बिटो गायब भइसकेको थियो ।
सिनामंगलबाट मित्रपार्क नपुग्दै २ लाख ७५ हजार रुपैयाँ पाकेटमारले टाँका मारिसकेका थिए । कोचाकोच बसमा दाउ हेरेर छिरेका पेसेवर पाकेटमार पैसा निकालेर कतिखेर टाप कसे शर्माले थाहै पाएनन् ।
साथमा भएको पौने तीन लाख पाकेटमारी भएपछि शर्मा उजुरी दिन प्रहरी वृत्त गौशाला पुगेका थिए ।
भोलिपल्ट फेरि यस्तै प्रकृतिको अर्को घटना भयो । त्यो घटना भने नगद सुन चोरीको थियो । आफ्नो गलाको सिक्री नै यात्रुबाहक बसभित्र सिनामंगलबाट चोरी भएको जानकारी एक महिलाले वृत्त गौशालामा गराइन् ।
अघिल्लो दिनको घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोली भोलिपल्ट फेरि उस्तै घटना भएपछि थप सजग हुँदै अनुसन्धानमा जुटेको थियो । सोही क्रममा २३ पुस दिउँसो एउटै गाडीबाट झर्दै गरेको अवस्थामा तिलगंगाबाट चार जनालाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गर्यो ।
पक्राउ पर्नेहरूमा काठमाडौं दक्षिणकाली नगरपालिका-२ का ३७ वर्षीय सरोज खड्का, काभ्रे महाभारत गाउँपालिका-७ घर भई काठमाडौं काँडाघारी बस्ने ४२ वर्षीय विकास लामा, तनहुँ म्यादे गाउँपालिका-५ घर भई काठमाडौं टोखा बस्ने ३३ वर्षीय राजु गुरुङ र ललितपुर महानगरपालिका-७ घर भएका ३३ वर्षका सुवास मगर छन् ।
पाकेट मार्ने समूहमा पाँच जना भए पनि एक जना भाग्न सफल भएका थिए । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट चोरी कसुरमा पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
२२ पुसमा यो समूह पाकेट मार्ने उद्देश्यले कोटेश्वरबाट चाबहिलतर्फ जाने बस चढेको थियो । तर त्यो बसमा योजना सफल नभएपछि उनीहरू सिनामंगलमा झरेको देखिएको एक अनुसन्धान अधिकृतले बताए ।
पौने ३ लाख पाकटेमारी हुने शर्मा पनि सिनामंगलबाटै बस चढेका थिए । मित्रपार्क नपुग्दै पौने तीन लाख पाकेट मार्न सफल भएपछि उनीहरू बसबाट ओर्लिएका थिए ।
पाकेट मार्ने बेला अरूले नबुझुन् भनेर उनीहरूले कोड भाषा प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ । अपशब्दलाई यो समूहले आफ्नो कोड भाषाको रूपमा प्रयोग गर्ने गरेको देखिएको एसपी भट्टराई बताउँछन् । पाकेटमारको पैसाले लागुऔषध खाने, ब्रान्डेड कपडा लगाउने र मोजमस्ती गरेर उडाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
पाकेट मार्ने समूहमध्ये एक जनाले झोला बोक्ने र अरू भने खाली नै बस चढ्ने गरेको देखिएको छ । विशेषगरी सिनामंगलदेखि सामाखुसीको रुटमा चल्ने गाडीमा उनीहरूले पाकेटमारी गर्ने गरेको देखिन्छ ।
मौका मिल्नासाथ आँखा झिमिक्क गर्न नपाउँदै पाकेटमारी गर्ने र एउटाले अर्कोलाई पास गर्दै हत्त न पत्त गाडीबाट उत्रिहाल्ने शैली देखिएको प्रहरीले बताएको छ ।
यो पेसेवर समूहले बस्ने ठाउँमा पाकेटमारी गर्दैनन् । एक ठाउँमा बस्ने र अर्को रुटमा गएर पाकेट मार्ने शैली देखिएको प्रहरीको भनाइ छ ।

क्यास बोक्न छाडेपछि टार्गेटमा सिक्री
पक्राउ परेका चारै जना पेसेवर पाकेटमार रहेको एसपी भट्टराई बताउँछन् । उनीहरू लामो समयदेखि पाकेट मार्दै आएका व्यक्तिहरू हुन् । तर पछिल्लो समय मोबाइल बैंकिङ तथा वालेटमार्फत रकमको कारोबार हुन थालेपछि क्यास (नगद) बोक्ने क्रम एकदमै न्यून हुँदै गयो ।
त्यसपछि आफ्नो पाकेटमारी पेसा संकटमा पर्ने लागेर यो समूहले जिन्सी (सुन)तर्फ आँखा लगाएको प्रहरी अधिकारीहरू बताउँछन् ।
भिडभाड भएको गाडी चढ्ने, ठेलमठेल गर्ने अनि त्यही मौकामा गलाको सिक्री थुत्ने गरेको प्रहरीको भनाइ छ । सिटमा बसेको व्यक्तिले सिक्री लगाएको रहेछ भने बान्ता आउन लागेको बहाना बनाएर सिटबाट एउटाले उठाउने र उठिसकेपछि त्यही मौकामा अरूले भिडमा ठेलठाल गर्दै, धक्का लगाउँदै सिक्री थुत्ने गरेको प्रहरीको भनाइ छ ।
यस्तै शैलीमा उनीहरूले २३ पुसमा बसबाट एक महिला यात्रुको गलाको सिक्री थुतेका थिए । २२ पुसमा भने नगदै पाकेट मार्न यो समूह सफल भएको थियो ।
११ पटक मुद्दा चलेका खड्का
अपराधको दुनियाँमा ११ वर्षअघिबाट प्रवेश गरेका सरोज खड्काको अपराधको संख्या पनि त्यति (११) नै छ । विभिन्न प्रहरी कार्यालयबाट विभिन्न कसुरमा गरी उनीविरुद्ध ११ पटक मुद्दा चलिसकेको छ ।
पहिलो पटक खड्का २ पुस २०७१ मा पक्राउ परेका थिए । त्यतिबेला उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले लागुऔषधसहित पक्राउ गरेर मुद्दा चलाएको थियो ।
त्यसपछि ५ जेठ २०७४ मा उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा देखिन्छ ।
६ माघ २०७३ मा प्रहरी वृत्त नयाँ बानेश्वर र २३ फागुन २०७६ मा प्रहरी वृत्त कालिमाटीबाट खड्काविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो ।
२८ भदौ २०७७ मा खड्काविरुद्ध चोरी तथा डाँका कसुरमा प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा चलेको थियो । ६ वैशाख २०८१ मा प्रहरी गौशालाबाट अभद्रको कसुरमा मुद्दा चलेको भेटिएको छ ।
त्यसैगरी ५ माघ २०८० मा प्रहरी वृत्त महारागञ्जबाट अभद्र र महाराजगञ्जबाटै २१ साउन २०८१ मा चोरी तथा डाँकाको कसुरमा मुद्दा चलेको सीआरएमा देखिन्छ ।
महाराजगञ्जबाटै २२ जेठ २०८२ मा अभद्र व्यहार र नयाँ बानेश्वरबाट २७ साउन २०८२ मा अभद्र व्यवहारको कसुर गरी ११ पटक मुद्दा चलेको भेटिएको छ ।

अरू पनि पटके
खड्का मात्रै होइन, उनीसँगै पक्राउ परेका तीन जना पनि पटके अभियुक्त रहेको पाइएको छ । अहिले वृत्त गौशालाको हिरासतमा रहेका विकास लामाविरुद्ध यसअघि दुई पटक अभद्रको कसुरमा मुद्दा चलेको भेटिएको छ ।
२० मंसिर २०८० मा प्रहरी वृत्त गौशालाबाट र २७ भदौ २०८० मा प्रहरी वृत्त महाराजगञ्जबाट उनीविरुद्ध अभद्रको कसुरमा मुद्दा चलेको देखिन्छ ।
अर्का अभियुक्त राजु गुरुङ पनि पटके अभियुक्त हुन् । उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जबाट चार पटक अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको भेटिएको छ ।
सुवास मगरविरुद्ध पनि १७ फागुन २०७१ मा काभ्रेमा अभद्र व्यवहारको मुद्दा र प्रहरी वृत्त नयाँ बानेश्वरबाट २७ साउन २०८२ मा अभद्र व्यवहारको मुद्दा चलेको सीआरएसमा देखिन्छ ।
प्रतिक्रिया 4