+
+
Shares

निर्वाचनअघि दलहरूले ऐना हेरून्

देशमा नीति र थिति बसाल्ने राजनीतिक दलहरूले नै हो। त्यसैले यो निर्वाचनअघि हरेक राजनीतिक दलहरूले आफूलाई ऐनामा हेरुन्, दागहरू पत्ता लगाऊन् र ती दागहरू पुछून्।

प्रदीप उप्रेती प्रदीप उप्रेती
२०८२ पुष २६ गते ७:०५

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपश्चात् देशमा फरक राजनीतिक परिस्थितिको जन्म भएको छ। कतिपयले यसलाई भू-राजनीतिको सनसनीपूर्ण खेल भन्ने आरोप लगाइरहेका छन् भने कतिपयले यसलाई नेपाली राजनीतिमा हुन नसकेको पुस्तान्तरण, भ्रष्टाचार र कुशासनप्रतिको आक्रोशित जनप्रतिक्रियाका रूपमा अर्थ्याएका छन्। सत्ताबाट लखेटिनु परेका शक्तिहरू यसलाई जनआन्दोलन मान्न रुचाइरहेका छैनन् भने नागरिक समाज, ठूलो युवा पङ्क्ति र तत्कालीन सत्ताबाट प्रताडितहरू यसलाई आशा र अवसरका रूपमा चित्रित गरिरहेका छन्।

जे भए पनि, यही आशा र आरोपका बीचमा ‘जेनजी’ आन्दोलनद्वारा प्रतिस्थापित नागरिक सरकारले यही फागुन २१ गतेका लागि सङ्घीय संसद्को आम निर्वाचन घोषणा गरिसकेको छ र देशभित्र चुनावी माहोल तात्दै गइरहेको छ। चुनाव यसभन्दा अगाडि पनि भएका थिए र फेरि पनि हुनेवाला छन्। चुनाव हुनु मात्रै ठूलो सफलता होइन; चुनावले बेथिति र विसङ्गतिलाई परास्त गर्न सक्नु चाहिं सफलता हो।

हाम्रो लोकतन्त्र विश्वकै कान्छो लोकतन्त्रमध्येको एक हो। छोटो लोकतान्त्रिक अनुभव बटुलेको हाम्रो समाजले धेरै कुरा सिक्दैछ र धेरै कुरा सिक्न बाँकी नै छ। यसै सन्दर्भमा आसन्न निर्वाचनमा नेपालका राजनीतिक दलहरूले खेल्नुपर्ने भूमिकाका विषयमा विचार–विमर्श गर्न गइरहेको छु।

सर्वप्रथम त हाम्रो लोकतन्त्रको ढुकढुकी भनेको बहुदलीय प्रतिस्पर्धामा आधारित शासन प्रणाली हो। नेपालको संविधानले बहुलतालाई आत्मसात् गर्दै सीमान्तकृत वर्ग वा समुदायको समतामूलक प्रतिनिधित्व र समावेशिताका लागि विभिन्न व्यवस्था अँगालेको छ। त्यसैले संविधानको उक्त मर्म र कार्यदिशालाई मूर्तरूप दिने एकमात्र प्रक्रिया भनेको निर्वाचन नै हो।

अर्कोतर्फ अहिलेको तरल र विशेष राजनीतिक परिस्थितिको शान्तिपूर्ण निकास भनेको पनि निर्वाचन नै हो। त्यसैले नेपालका राजनीतिक दलहरू जो जस्तोसुकै परिस्थितिमा भए पनि यदि देश र समाजप्रति जिम्मेवार छन् भने आउँदो निर्वाचनलाई गम्भीरतापूर्वक लिनुपर्दछ। यो हरेक दल र विचार समूहका लागि अवसरको ढोका पनि हो।

कहिलेकाहीं देशभित्र अकल्पनीय परिवेश र परिस्थितिहरू आइपर्छन्, त्यसलाई नगिजोलिकन शान्ति र धैर्यपूर्वक सो परिवेशलाई पार लगाउन सक्नु नै परिपक्व नेतृत्व, सुदृढ प्रणाली र लोकतान्त्रिक अभ्यासको सङ्केत हो। ‘म भइनँ भने भाडमै जाओस् देश’ भन्ने मानसिकता विकृत एवं आत्मकेन्द्रित राजनीतिक अभ्यासको उपज हो।

सानातिना मनमुटाव, वैमनस्य र स्वार्थहरू नत्यागी देश बन्दैन भन्ने कुरामा हामी सबै सहमत नै छौं। तर बुझाइ जतिसुकै आदर्शवान् भए पनि हाम्रो क्रियाकलाप र कार्यान्वयनमा व्यापक समस्या रहँदै आएको छ। त्यसैले दलहरूको अबको पहिलो कार्यभार समस्याको पहिचान, प्राथमिकीकरण र निराकरणका लागि इमानदार प्रयास नै हो।

देशमा नीति र थिति बसाल्ने राजनीतिक दलहरूले नै हो। त्यसैले यो निर्वाचनअघि हरेक राजनीतिक दलहरूले आफूलाई ऐनामा हेरुन्, दागहरू पत्ता लगाऊन् र ती दागहरू पुछून्। हुनत अरूको दाग देखाएर नथाक्ने हाम्रो सामाजिक-राजनीतिक चेतना छ, अब चाहिं आफ्नो दाग सफा गर्न सबै राजनीतिक दलहरूको ध्यान जाओस्।

नयाँ दलहरू निर्माणकै चरणमा छन्, यद्यपि मानिसहरूले दल निर्माणको हरेक प्रक्रियालाई सूक्ष्म एवं मिहिन ढङ्गले नियालिरहेका छन्। मानिसहरूको विश्वासलाई बरकरार राख्दै विधि र पद्धति मार्फत आफ्ना योग्य उम्मेदवारहरूलाई निर्वाचनमा सरिक गराउनु नयाँ दलहरूको अग्निपरीक्षा हो। यो अग्निपरीक्षामा उनीहरू कत्तिको सफल हुन्छन् यो त समयले बताउने नै छ

खासगरी पुराना राजनीतिक दलहरूले आफ्नो गौरवपूर्ण र सङ्घर्षपूर्ण विरासत हुँदाहुँदै पनि कसरी यो अन्योलपूर्ण अवस्थामा आइपुग्यौं भनेर आफ्नो संगठनको निर्मम समीक्षा गर्नुपर्छ। अहिलेलाई पुराना दलहरूको कार्यदिशा त्यतातर्फ उन्मुख भएको देखिंदैन जुन अत्यन्तै दु:खद् र खेदपूर्ण छ। तर नेपाल र नेपालीहरूको बृहत्तर हित सोही प्रक्रियामा निहित हुने देखिन्छ।

अबको युगको राजनीति प्रतिशोधमा आधारित होइन, प्रतिस्पर्धामा आधारित हुनेछ भन्नेमा कुनै संशय नराख्दा हुन्छ। राजनीतिमा जब स्वार्थहरू हावी हुन थाल्छन् तब योग्यताले मृत्युशय्यामा छट्पटाउनु बाहेक अरू विकल्प नहुने रहेछ। समय बदलिंदो छ, नयाँ पुस्ताका अपेक्षाहरू बदलिएका छन्।

यस्तो परिवेशमा उही गुट-उपगुट र समूहमा आश्रित राजनीतिले पद र शक्तिको भर्‍याङ त चढाउला तर नागरिकलाई वितरण गर्नुपर्ने सेवा–सुविधाबाट राजनीतिक दलहरूको ध्यान हट्नेछ अनि नागरिकको चरम असन्तोषले विस्फोटको रूप लिंदा नेतृत्वको भागाभागको स्थिति फेरि पनि आउन सक्छ। यसमा नयाँ-पुराना दलहरू सबैले गम्भीर चिन्तन गर्नुपर्ने देखिन्छ। विधि, पद्धति र पारदर्शिता आजका मानिसहरूले अवश्य खोज्नेछन्।

राजनीति दुई दिनको ढाँटछलको खेती नभई आपसी विश्वास र सामाजिक जागरणको महाअभियान बनाउन सक्नुपर्दछ। यही नै अहिलेलाई हाम्रा राजनीतिक दलहरूको चुनौती र अवसर दुवै हो। राजनीतिक दलहरू आम समाजबाट टाढा भएर निश्चित समूहको घेराबन्दीमा पर्नुहुँदैन, यदि परेको भए पनि सो घेरालाई तोड्न सक्नुपर्छ। राजनीतिक दलमाथि आम नागरिकको भरोसा हराएको दिन राष्ट्र र राष्ट्रियता अत्यन्तै कमजोर भएको हुन्छ।

यस्तो सघन भू-राजनीतिक परिवेशमा राष्ट्र र राष्ट्रियता कमजोर हुनु भनेको सबैका लागि घातक साबित हुन सक्छ। त्यसैले हरेक राजनीतिक दल आ-आफ्नो विचार, सिद्धान्त र योजना बोकेर देश र जनताको पक्षमा सतिसाल झैं उभिनुपर्दछ। यही नै आम नेपालीको वर्षौंदेखिको चाहना र कामना हो।

सामूहिकताको अभ्यास आफैंमा पेचिलो हुन्छ, त्यसमाथि झन् प्रणालीहरूमा विकृति र विसङ्गति थोपरिदिएपछि त्यो ढिलासुस्ती र अकर्मण्यताको मैदान हुने नै भयो। कसैले केही गर्नै नसक्ने स्थितिको सिर्जना हुनुपूर्व राजनीतिक दलहरूले सुधारको प्रयास गर्दै समाजमा आशा र भरोसाको दियो प्रज्वलित गर्नुपर्दछ।

एउटा माघले जाडो जाँदैन भने झैं हरेक राजनीतिक दलहरूलाई अवसरहरू घुमीघुमी आउने नै छन्। सोही अवसरहरूमा आफूलाई अब्बल साबित गर्दै देश सेवामा समर्पित हुने प्रण गर्नुपर्दछ। युवाहरूलाई कार्यकर्ताको नजरले हेर्ने मात्रै होइन बरु उचित अवसर र अभिमुखीकरण प्रदान गरेर नेतृत्वका लागि उत्प्रेरित गर्नुपर्दछ।

युवाहरूले नेतृत्वमा स्थान पाउँदा समग्र प्रणालीमै ऊर्जा थपिन्छ, केही गर्ने हुटहुटी थपिन्छ। त्यसैले अब राजनीतिक दलहरूले युवाहरूलाई सडकमा प्रयोग गर्ने मात्रै होइन, सदनमा पनि प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्दछ। आज काम गर्दै सिक्दै गरेका युवाहरूले भोलि राजनीतिमा ‘पावर भ्याकुम’ हुन दिने छैनन्। यसरी नेपालका पुराना दलहरूले आफ्नो सङ्गठनको पुनर्मूल्याङ्कन गर्दै आन्तरिक लोकतन्त्रको सबलीकरण गर्दै समग्र देशकै लोकतन्त्रीकरणमा विशेष भूमिका खेल्न सक्नेछन्।

अब कुरा गरौं नयाँ दल तथा राजनीतिक समूहहरूको। आसन्न निर्वाचनमा नयाँ राजनीतिक दलहरूको सुझबुझपूर्ण भूमिकाको महत्त्व बढ्दै गएको देखिन्छ। नयाँहरू बीचको एकीकरण एवं ध्रुवीकरणले निर्वाचनमा उत्साह मात्रै थपेको छैन बरु केही परिवर्तन हुन्छ कि भन्ने आशा आम जनमानसमा पलाएको देखिन्छ। सो आशालाई निराशामा बदल्न नदिनु नै नयाँ दलहरूको मुख्य कार्यभार हो।

नयाँ दलहरू निर्माणकै चरणमा छन्, यद्यपि मानिसहरूले दल निर्माणको हरेक प्रक्रियालाई सूक्ष्म एवं मिहिन ढङ्गले नियालिरहेका छन्। मानिसहरूको विश्वासलाई बरकरार राख्दै विधि र पद्धति मार्फत आफ्ना योग्य उम्मेदवारहरूलाई निर्वाचनमा सरिक गराउनु नयाँ दलहरूको अग्निपरीक्षा हो। यो अग्निपरीक्षामा उनीहरू कत्तिको सफल हुन्छन् यो त समयले बताउने नै छ।

अहिलेलाई उनीहरूको प्रमुख कर्तव्य भनेको पुराना दलहरूको राजनीतिक यात्रामा भएका त्रुटि एवं कमि–कमजोरीहरूको सूक्ष्म अध्ययन गर्दै त्यसबाट पाठ सिकेर आफूलाई सच्याउँदै लिएर जानु नै हो। अब पुरानालाई गाली गरेर र धारे हात लगाएर मात्रै पुग्नेवाला छैन। त्यसैले नयाँहरूसँग देश बनाउने स्पष्ट खाका र मार्गनिर्देशन हुनु अत्यावश्यक छ। सोही कुरालाई हृदयङ्गम गर्दै नयाँ दलहरू सामाजिक पुनर्जागरणको अभिभारा सहित नागरिकको बीचमा गएर मत माग्न सक्नुपर्छ।

अन्यथा हामी फेरि राजनीतिक दुष्चक्रमा फस्नेछौं र त्यो झनै भयावह हुनेछ। आसन्न निर्वाचन परिवर्तनका लागि दोबाटो सरह छ, कसले कुन बाटो रोज्नेछ त्यसले नै देशको आगामी भविष्य तय गर्नेछ।

अन्त्यमा, निर्वाचन हरेक लोकतान्त्रिक समाजका लागि एउटा महोत्सव हो किनभने यसले राजनीतिक नेतृत्वलाई पाठ पढाउने ल्याकत राख्दछ। यसभन्दा अघिका निर्वाचनहरू स्वार्थ प्रेरित थिए भने अबका निर्वाचनहरू योग्यता प्रेरित होऊन्। अबको निर्वाचन नेपालका लागि शान्ति, समृद्धि र रूपान्तरणको सोपान बन्न सकोस्, सबैलाई एकमुष्ट शुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?