२५ पुस, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुलाएसँगै शुक्रबारदेखि आवेदन प्रक्रिया सुरु भएको छ । आवेदन खुलाएकै पहिलो दिन काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा आवेदकहरूको लामो लाइन लागेको छ ।
बिहानैदेखि विभिन्न उमेर समूहका युवायुवतीहरू फारम भर्न पुगेका छन् । आवेदकहरूसँगको कुराकानीमा अधिकांशले ४० दिनको यो अवधिमा केही आम्दानी हुने र नयाँ अनुभव बटुल्ने आशाले आवेदन दिएको बताए । कतिपयले नेपालको बेरोजगारी समस्यालाई जोड्दै यो छोटो अवधिको रोजगारीले पनि राहत मिल्ने धारणा राखे ।
स्वयम्भुबाट आएका दिपक पुन मगरले आफ्नो क्याफे व्यवसाय हुँदाहुँदै पनि चुनावी अनुभव लिन र अतिरिक्त आम्दानीका लागि आएको बताए । उनले भने, ‘४० दिनको लागि हो, चुनाव हेरौं र अनुभव होस् भन्ने लाग्यो । साथीहरू ग्रुपमा आएका छौं ।’

खोटाङ घर भई सिनामंगल बस्ने विकास बोगटी पहिलो पटक निर्वाचन प्रहरीमा आवेदन दिन आएका थिए । विदेश पढ्न जाने तयारीमा रहेका उनले बेरोजगारीका कारण यो अवसर रोजेको बताए । ‘एक्साइटेड छु, चुनाव पनि बल्ल लाग्या जस्तो भयो,’ उनले भने ।
इलाम घर भई गोकर्णेश्वर बस्ने नरबहादुर योङहाङ लिम्बु यो छैटौं पटक म्यादी प्रहरीका लागि आवेदन दिँदै छन् । २०६४ सालदेखि निरन्तर म्यादी प्रहरीमा सेवा दिन आएका उनले यो पटकको वातावरण पहिलेको भन्दा जटिल भएको तर राष्ट्रसेवाको गौरव महसुस हुने बताए ।
‘पेन्टर ठेकेदार’ लिम्बु संस्कृतिसँग जोडिएका उनले यो कामले शारीरिक व्यायाम र राष्ट्रिय उत्सवमा सहभागी हुने अवसर दिने बताए ।
उनले बेरोजगारी समस्यालाई जोड्दै १८ देखि ६० वर्षसम्मका विभिन्न उमेरका आवेदकहरू देखेको उल्लेख गरे ।

बालाजुका दिपक देवकोटा पनि म्यादी प्रहरीमा सेवा गर्न उत्साही छन् । ‘घरमा तरकारी लगाएर बस्या थिएँ । एकाएक फारम खुलेको सुनेँ । ४० दिन काम गरेर इन्गेज हुने अवसर हो भन्ने लागेर यता आएँ,’ भद्रकाली आएका उनले भने ।
कपनकी अम्बिका खतिवडा कलाकारिता क्षेत्रमा सक्रिय छन् । तर, त्यसलाई मात्र आफ्नो आयको बाटो बनाउने सोच उनमा छैन । त्यसैले सरकारले निर्वाचन प्रहरीको लागि आवेदन खुलाउना साथ भद्रकाली आइहालिन् ।
उनले देशसेवा र प्रहरी अनुभवका लागि आवेदन दिएको बताइन् । कलाकारितामा प्रहरीको नक्कल गरेकी उनलाई अब साँच्चै प्रहरी बनेर सेवा अनुभव लिने रहछ छ । ‘रहर पनि छ, देशका लागि केही गरौं भन्ने लाग्छ । ४० दिनमा केही आमदानी पनि हुन्छ,’ उनले भनिन्, ‘यो मौका खेर जान किन दिन्थेँ र ?’
आवेदकहरूले यो छोटो अवधिको रोजगारीले बेरोजगारीको समस्या केही हदसम्म सम्बोधन गरे पनि दिगो रोजगारीको आवश्यकता रहेको बताएका छन् । कतिपय अनुभवी आवेदकले यो कामलाई राष्ट्रिय उत्सव र गौरवको अवसरका रूपमा हेरेका छन् ।
तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर








प्रतिक्रिया 4