+
+
Shares

वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारका मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन्।
  • अर्यालले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने र सुशासन कायम गर्ने सरकारको म्यान्डेट रहेको बताए।
  • बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनियाले निर्वाचनको वातावरण बिगार्नसक्ने गतिविधिबाट सचेत गराउँदै सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन भने।

२५ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराएका हुन् ।

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनिया, प्रदेशका आन्तरिक मामिला मन्त्री लगायतको उपस्थिति रहेको छ ।

कार्यक्रमको उद्‍घाटन समारोहमा मन्तव्य राख्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र सुशासन कायम गर्नु रहेको बताए ।

सरकार निर्वाचनमा होमिसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबैपक्षलाई आग्रह गरे ।

जेनजी जनआन्दोलन सुशासन कायमको लागि भएको बताउँदै सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए ।

तोकिएको मितिमा निर्वाचन नभएमा देशले संकट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन पनि सम्बन्धित सबैपक्षलाई आग्रह गरे ।

बागमती प्रदेशका मुख्‍यमन्त्री बाँनियाले सरकारमा रहेका मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्नसक्ने तर्फ सचेत गराउँदै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउनपर्ने बताए ।

उनले अहिलेको निर्वाचनमा विगतमा जस्तो भय र त्रासको वातावरण नभएको तर अविश्वास भने कायम रहेको बताउँदै कृत्रिम बौद्धिकता, इन्टरनेट लगायतको प्रयोगबाट हुन सक्ने भ्रामक समाचार सम्प्रेषण र आसन्न निर्वाचनमा तिनको असरबारे सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायहरुलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?