News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं र बर्दियाका दुई उद्योगका न्यून गुणस्तरका जुस र जारको पानी बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ।
- काठमाडौंको रेबोट स्प्रिङ्स मिनरल वाटर प्रालिको 'रेबोट रिफ्रेस' र बर्दियाको आनन्द ड्रिंकिङ वाटर उद्योगको 'आनन्द वाटर' न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ।
- खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ अनुसार ती ब्याचका उत्पादन बिक्री वितरण नगर्न र नगराउन विभागले सचेत गराएको छ।
२६ पुस, काठमाडौं । बजारमा बिक्री भइरहेका फरक दुई कम्पनीको जुस र जारको पानी पिउनका लागि अयोग्य भेटिएको छ ।
प्रयोगशालामा परीक्षण गर्दा यी उत्पादन ‘न्यून गुणस्तर’ को पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तिनलाई बजारबाट तुरुन्त फिर्ता लैजान र बिक्री रोक्न निर्देशन दिएको छ ।
विभागका अनुसार काठमाडौं र बर्दियाका दुई फरक उद्योगका उत्पादनमा समस्या देखिएको छ । बजार अनुगमन क्रममा शंकास्पद देखिएपछि विभागले ती उत्पादनको नमुना संकलन गरेर परीक्षण गरेको थियो ।
काठमाडौं दक्षिणकालीमा रहेको ‘रेबोट स्प्रिङ्स मिनरल वाटर प्रालि’ ले उत्पादन गरेको ‘रेबोट रिफ्रेस’ नामक जुस न्यून गुणस्तरको पाइएको हो । २ सय ५० मिलिलिटरको बट्टामा आउने आँपको स्वाद भएको जुस ब्याच नम्बर जेएम१२ र ब्याच नम्बर जेजी६ भएको अम्बाको जुस गुणस्तरहीन भेटिएको हो ।

त्यस्तै बर्दिया गुलरियामा रहेको ‘आनन्द ड्रिंकिङ वाटर उद्योग’ ले उत्पादन गर्ने ‘आनन्द वाटर’ पनि कारबाहीमा परेको छ । २० लिटरको जारमा बिक्री हुने यो पानीको ब्याच नम्बर ६१ को उत्पादन न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ (२) को व्यवस्था टेकेर विभागले सम्बन्धित उद्योगलाई ती ब्याचका सम्पूर्ण उत्पादन बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ ।
साथै, सोही ऐनको दफा ३८ (४) बमोजिम गुणस्तरहीन प्रमाणित भएका ती ब्याचका उत्पादन अब उप्रान्त बिक्री वितरण नगर्न र नगराउन पनि विभागले सचेत गराएको छ।
प्रतिक्रिया 4