News Summary
Generated by OK AI. Editorially reviewed.- बल्छी धुर्वे निर्देशित फिल्म 'गोबर गणेश' को ट्रेलर युट्युबमा ३० लाखभन्दा बढी पटक हेरिएको छ।
- बल्छी धुर्वेले नीर शाह, मदनकृष्ण श्रेष्ठ, राजेश हमाल लगायत वरिष्ठ कलाकारलाई भेटेर फिल्मबारे जानकारी गराउनुभएको छ।
- फिल्म 'गोबर गणेश' १ माघदेखि हलहरूमा प्रदर्शन हुने तयारीमा छ र सामाजिक कथावस्तुमा आधारित छ।
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा शीर्ष अभिनय रहेको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ । यसको ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई झनै तीव्रता दिएको छ ।
बल्छी धुर्वे यतिबेला नेपाली फिल्म क्षेत्रका दिग्गजलाई भेटेर फिल्मबारे जानकारी गराउन र आशीर्वाद लिन ब्यस्त छन् । यस क्रममा उनले, कलाकार नीर शाह, मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, दीपकराज गिरी, दीपाश्री निरौलासहितलाई भेटे ।
भेटका क्रममा कलाकारले बल्छी धुर्वेको मिहेनत र इमानदारिताको मुक्तकण्ठले प्रशंसा गरेका छन् । टेलिभिजनमा सिरियल कलाकारको रुपमा सुरु भएको उनको यात्रा आज ठूलो पर्दाको अभिनेता र निर्देशकको तहसम्म पुग्नु सबैका लागि प्रेरणादायी रहेको उनीहरूको भनाइ छ ।

ती वरिष्ठ कलाकारहरूले मरिचमानको यो लगनशिलताले नयाँ पुस्ताका कलाकारलाई पनि मार्गनिर्देश गर्ने भन्दै ‘गोबर गणेश’ को सफलताका लागि शुभकामना दिएका छन् । दिग्गज कलाकारबाट पाएको यो साथ र हौसलाले फिल्मको टिम उत्साहित बनेको छ ।
साताअघि सार्वजनिक ट्रेलरलाई ३० लाखभन्दा धेरैपटक हेरिएको छ । ट्रेलर यतिबेला युट्युबको शीर्ष ट्रेन्डिङमा छ । सामाजिक कथावस्तुमा आधारित हाँस्य र भावनाको सम्मिश्रण रहेको यो फिल्मलाई लिएर दर्शकमा पनि कौतुहलता देखिएको छ ।
बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म १ माघदेखि हलहरूमा प्रदर्शन तयारीमा छ ।
फिल्ममा वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेको अभिनय छ ।
प्रतिक्रिया 4